January 15, 2025, Wednesday
२०८१ माघ ३

राष्ट्रपति डोनाल्ड ट्रम्पको होटलमा टेस्ला साइबरट्रक आक्रमण

२०८१ पुष १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

180

नेभाडामा रहेको लस भेगासस्थित ट्रम्प होटल बाहिर टेस्ला साइबरट्रक विस्फोटको घटना अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार एउटा साइबरट्रक होटलको सिसाको प्रवेशद्वार नजिक पार्क गरिएको थियो। त्यसपछि ट्रकबाट धुवा आउन थाल्यो र विस्फोट भयो । यस घटनामा चालकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । प्रहरीले घाइतेहरूको नाम नखुलाए पनि सबैको चोट सामान्य रहेको बताएको छ ।

टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले एक्स (पूर्वमा ट्विटर) मा लेखेका छन्, “यो विस्फोट साइबरट्रकको बेडमा राखिएको ठूलो पटका वा बमका कारण भएको हो र यो साइबरट्रकसँग सम्बन्धित नभएको बताएका छन । विस्फोट स्थानीय समय अनुसार बिहान भएको थियो । यो घटनाभन्दा केही घण्टा अघि न्यु अर्लियन्स, लुइजियानामा नयाँ वर्षको दिन एउटा ट्रकले भीडमा हानेर १५ जनाको मृत्यु भएको थियो । प्रहरीले विस्फोट पटका वा बमका कारण भएको पुष्टि गर्न सकेको छैन । तर, घटनाको अनुसन्धानमा संलग्न दुई स्रोतले सीबीएस न्युजलाई बताएका छन् कि अनुसन्धानकर्ताहरू पटका नै जिम्मेवार हुन सक्ने सम्भावना अध्ययन गरिरहेका छन् । लस भेगास प्रहरी विभागका शेरिफ केभिन म्याकमहिलले लुइजियानाको घटनासँग सम्बन्धित रहेको सम्भावनालाई ध्यानमा राखेर सावधानी अपनाइरहेको बताए ।

उक्त होटल आंशिक रूपमा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको कम्पनीको स्वामित्वमा छ । ट्रम्पका छोरा एरिक ट्रम्पले एक्समा लेखेका छन्, “ट्रम्प लस भेगासको पोर्ट कोचेरमा एउटा विद्युतीय सवारी साधनमा आगलागी भएको रिपोर्ट आएको छ ।“ “हाम्रा अतिथि र कर्मचारीहरूको सुरक्षा हाम्रो प्राथमिकता हो । लस भेगास दमकल विभाग र स्थानीय प्रहरीको द्रुत प्रतिक्रियाका लागि हामी हृदयदेखि आभारी छौं,“ उनले भनेका छन । ह्वाइट हाउसले राष्ट्रपति जो बाइडनलाई यस घटनाबारे जानकारी दिइसकेको र संघीय सहयोग आवश्यक परेमा उपलब्ध गराउने बताएको छ । सामाजिक सञ्जालमा प्रसारित घटनाका भिडियोहरूमा ट्रम्प होटलको प्रवेशद्वारमा रहेको साइबरट्रकमा आगलागी भएको देखिन्छ । ट्रम्प होटलमा करिब १ हजार ३०० सुइटहरू सहित ६४ तलाका भवनहरू रहेको छ । ट्रम्पले हालै एलन मस्कलाई आफ्नो राष्ट्रपति सल्लाहकार आयोग, सरकार दक्षता विभागको सह–नेतृत्वका लागि चयन गरेका थिए । चुनाव प्रचारको क्रममा दुवैबीच निकटता बढेपछि यो निर्णय गरिएको हो ।