February 8, 2025, Saturday
२०८१ माघ २६

रुसले चार लाख २७ हजार रुसी सेना युक्रेन युद्धमा मारिए ?

२०८१ पुष २९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

305

रुसले कति सैनिक गुमायो, युक्रेनको के भनाइ छ ?
युक्रेनका कमान्डर–इन–चिफ कर्णेल जनरल ओलेक्सान्डर सिस्र्कीका अनुसार सन् २०२४ को डिसेम्बर ३० सम्म चार लाख २७ हजार रुसी सेना युक्रेन युद्धमा मारिए वा घाइते भए । जनवरी २ मा प्रकाशित एक विज्ञप्तिमा युक्रेनको रक्षा मन्त्रालयले रुसतर्फ गत वर्ष ४ लाख ३० हजार ७९० सैनिकलाई क्षति भएको उल्लेख छ ।

हालैको संख्यामा गणना गर्दा सन् २०२४ मा रुसी क्षति प्रतिदिन औसतमा ११ सय ८० हो र प्रति वर्गकिलोमिटर क्षेत्र कब्जा गर्दा झन्डै १०३ जनामा क्षति हुन आउँछ । युक्रेनका अनुसार रुसको घाटा वर्षको अन्त्यतिर बढेको छ । रक्षा मन्त्रालयले नोभेम्बरमा ४५ हजार ७२० र डिसेम्बरमा ४८ हजार ६७० नोक्सानी भएको जनाएको छ । यो प्रस्ट छैन कि यीमध्ये कति रुसी सेना मारिए र कति घाइते भए वा युद्ध मैदानबाट हटे ।

मृत्युको संख्या पुष्टि गर्न किन गाह्रो ?
मृत्युको संख्या पुष्टि गर्न कठिनाइ छ, किनभने ती संख्याले दुवै पक्षका लागि अपार प्रचार मूल्य राख्छन् । ‘दुवै पक्षबाट युद्धबारे विविध विवरण आएका छन् । दुवै पक्षले आफ्नो सफलतालाई मैदानमा देखाउन र अर्को पक्षलाई कमजोर पार्न संख्या प्रयोग गर्छन् । यी विवरण युद्धका हिस्सा हुन्,’ इग्नाटोभले अल जजिरालाई भने ।

२०२२ को फेब्रुअरीमा युद्ध सुरु भएदेखि ४३ हजार युक्रेनी सैनिकको युद्धभूमिमा मृत्यु भएको डिसेम्बर ८ मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक टेलिग्राम पोस्टमा घोषणा गरे । अन्तिमपटक फेब्रुअरीमा उनले युद्धमा मारिने युक्रेनीको मृत्युको संख्या घोषणा गरेका थिए । उनले ३१ हजार युक्रेनी सेना मारिएको बताए । यसको मतलब सन् २०२४ मा लगभग १० महिनाको अवधिमा १२ हजार युक्रेनी सेनाको युद्धभूमिमा मृत्यु भएको थियो ।

रुस र युक्रेन दुवैले युद्धमा हराएका सेनाको संख्याबारे नियमित रूपमा तथ्यांक प्रकाशित गरेका छन् । ‘तर, उनीहरू अर्को पक्षलाई आफ्नो सैन्य कारबाही कत्तिको प्रभावकारी छन् भन्ने जानाकारी दिन हिच्किचाउँछन्,’ किंग्स कलेज लन्डनको युद्ध अध्ययन विभागकी अनुसन्धानकर्ता मारिना मिरोनल भन्छिन् । उनका अनुसार यदि सरकारले आधिकारिक रूपमा सेनालाई मृतकको रूपमा स्वीकार नगरेको अवस्थामा मृतकका परिवारलाई क्षतिपूर्ति तिर्न पर्दैन ।

१० वर्षसम्म चलेको सोभियत–अफगान युद्धमा सोभियत सेनातर्फ लगभग १५ हजार हताहत भएका थिए । २० वर्षसम्म चलेको भियतनाम युद्धका क्रममा अमेरिकी सेनाले ५८ हजार २२० सैनिक गुमाएको थियो ।

रुसले कति सैनिक गुमायो, अरूले के भने ?
स्वतन्त्र रुसी वेबसाइट मिडियाजोनाका अनुसार जनवरी १, २०२४ र डिसेम्बर १७, २०२४ को बिचमा कम्तीमा ३१ हजार ४८१ रुसी सैनिकको मृत्यु भएको पुष्टि भएको छ । मिडियाजोनाले मृत्यु भएका रुसी सैनिकको नाम संकलन गर्न मृत्युको विवरण प्रमाणित गर्दै खुला स्रोत अनुसन्धानको प्रयोग, आफन्तले प्रेषित गरेका विवरण, स्थानीय अधिकारीको बयान र अन्य सार्वजनिक रिपोर्ट पनि समावेश गर्छ ।

मिडियाजोना वेबसाइटका अनुसार सन् २०२४ युद्धको सबैभन्दा घातक वर्ष थियो । यद्यपि यसलाई आधिकारिक रूपमा प्रमाणित गर्न सकिँदैन, किनकि हताहतको तथ्यांक ढिलो आउँछ । ‘यस्तो देखिन्छ कि मृत्यु हुने रुसीको संख्या एक लाखभन्दा बढी छ,’ लन्डनस्थित थिंक ट्यांक चथम हाउसका टिमोथी ऐसले भने । यद्यपि, डिसेम्बर १७ मा प्रकाशित फ्रान्सेली समाचार आउटलेटले मोन्डेसँगको एक अन्तर्वार्तामा युक्रेनी कमान्डर सिर्सकीले युक्रेनमा मृत्यु हुने रुसी सेनाको संख्या निरन्तर बढिरहेको बताए । सिस्र्कीजस्ता व्यक्तिको टिप्पणीले प्रश्न खडा गरेको क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक ओलेग इग्नाटोभ बताउँछन् । यदि मस्कोले यस्तो विनाशकारी नोक्सान भोगिरहेको छ भने युक्रेनमा रुसी सेनाको संख्या कसरी बढ्दै छ ? उनले अगाडि भने, ‘हामीलाई थाहा छैन कि रुसी भर्ती मोडेल राम्रो छ, अथवा त्यहाँ धेरै रुसीे हताहत दाबी गरिएझैँ छैनन् ।’