March 26, 2025, Wednesday
२०८१ चैत्र १३

लेबनानबाट शान्ति सेना हटाउने तयारी

२०८१ कार्तिक ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

545

इजरायल र लेबनानको लडाकु समूह हेजबुल्लाहबीच द्वन्द्व बढेपछि लेबनानमा कार्यरत शान्ति सैनिकलाई उद्धार गर्न संयुक्त राष्ट्रसंघ (यूएन) ले रणनीति तयार गरेको छ । लेबनानमा नेपालसहित विभिन्न देशका शान्ति सैनिक यूएन मिसनमा कार्यरत छन् । उनीहरूको सुरक्षामा चुनौती बढेपछि यूएनले आवश्यक पर्दा उद्धार गर्ने रणनीति तयार गरिसकेको नेपाली सेनाले जनाएको हो ।

यूएनको लेबनानस्थित शान्ति मिसन युनिफिलमा ४८ देशका १० हजारभन्दा बढी शान्ति सैनिकमध्ये ८ सय ७७ नेपाली रहेका छन ।
लेबनानको सुरक्षा चुनौती बुझेर यूएनले त्यहाँबाट शान्ति सेना हटाउने तयारी शुरु गरेको नेपाली शान्ति सुरक्षा फौजले त्यसअनुसार गृहकार्य गरेको नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलले बताएका छन ।

यूएनले सन् १९४८ देखि शान्ति सैनिक खटाउन थालेको हो । नेपाल सन् १९५५ मा यूएनको सदस्य बनेको थियो । नेपालबाट पहिलो पटक सन् १९५८ मा युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मा नेपाली सैनिक पर्यवेक्षकका रूपमा खटिएका थिए ।

नेपालले कन्टिन्जेन्टका रूपमा सन् १९७४ देखि नेपाली शान्ति सैनिकको फौजलाई युनिफिलमै खटाएको हो । अहिले नेपालबाट विभिन्न मिसनहरूमा ४० विज्ञहरू, सशस्त्र प्रहरी बलबाट १८०, व्यक्तिगत रूपमा ३३, कर्मचारीका रूपमा ११३ र शान्ति सैनिकका रूपमा ५ हजार ७५३ सहित ६ हजार ११९ जना छन् । दोस्रो स्थानमा रहेको रुवान्डाबाट ५ हजार ८७६ जना, तेस्रो स्थानमा रहेको बंगलादेशबाट ५ हजार ८६६ जना सहभागी छन् ।

नेपालले ६६ वर्षको अवधिमा ४४ वटा मिसनमा काम गरिसकेको छ । नेपाली सुरक्षाकर्मीसँग दुई दर्जनभन्दा बढी मुलुकमा काम गरेको अनुभव छ । नेपाली सेनाको तथ्यांकअनुसार ६६ वर्षमा नेपाली सेनाबाट १ लाख ५३ हजार १०८ सैनिकले विश्व शान्तिका लागि भूमिका निर्वाह गरिसकेका छन् । जसमध्ये ७३ जनाको ज्यान गएको छ भने ८३ जना घाइते भएका छन् ।