विश्वका ३८ प्रतिशत मिलिनेयर अमेरिकामा रहेका छन् । यसैगरी, २८ प्रतिशत मिलिनेयर पश्चिमी युरोपमा र १० प्रतिशत चीनमा छन् ।
विश्वव्यापी वित्तीय संस्था ‘युबिएस’को ‘ग्लोबल वेल्थ रिपोर्ट सन् २०२४’ अनुसार विश्वमा ‘मिलिनेयर’को संख्या पाँच करोड ८० लाख पुगेको छ । यो विश्वको वयस्क–जनसंख्याको १.५ प्रतिशत हुन आउँछ । रिपोर्ट तयार गर्न युबिएसले विश्वको कुल सम्पत्तिको ९२ प्रतिशत हिस्सा ओगट्ने ५६ वटा बजारबाट नमुना लिएको जनाएको छ ।
सबैभन्दा धेरै ‘मिलिनेयर संयुक्तराज्य अमेरिकामा छन् । यहाँका दुई करोड १९ लाख ५० हजार प्रत्येक व्यक्तिसँग १० लाख अमेरिकी डलर वा सोभन्दा बढीको धनसम्पत्ति छ । यसमा दोस्रो नम्बरमा चीन रहेको छ । चीनमा मिलिनेयरको संख्या ६० लाख १० हजार छ । बेलायतमा १० लाख अमेरिकी डलर वा सोभन्दा धेरै सम्पत्ति हुने व्यक्तिको संख्या ३० लाख ६० हजार पुगेको छ भने फ्रान्समा २८ लाख ७० हजार र जापानमा २८ लाख ३० हजार पुगेको छ ।
युबिएसले सम्पत्तिको गणना गर्दा व्यक्तिको वित्तीय तथा वास्तविक सम्पत्तिको मूल्यमा ऋण घटाएर हुन आउने सम्पत्तिलाई गणना गरेको जनाएको छ । रिपोर्टअनुसार सन् २०२२ मा तीन प्रतिशतले घटेको विश्वको सम्पत्ति सन् २०२३ मा ४.२ प्रतिशतले वृद्धि भएको छ ।
ग्लोबल वेल्थ रिपोर्टका अनुसार विश्वको लगभग आधा अर्थात् ४७.५ प्रतिशत सम्पत्ति विश्वको वयस्क जनसंख्याको केवल १.५ प्रतिशतको कब्जामा पुगेको छ । अर्थात् विश्वका १.५ प्रतिशत वयस्कसँग दुई सय १३ ट्रिलियन अमेरिकी डलरबराबरको सम्पत्ति छ ।
यसविपरीत, विश्वका ३९.५ प्रतिशत परिवारसँग १० हजार डलरभन्दा कम सम्पत्ति रहेको छ । उनीहरूसँग विश्वको कुल सम्पत्तिको ०.५ प्रतिशत अर्थात् मात्र २० खर्ब ४० अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति छ । १० हजारदेखि एक लाख अमेरिकी डलरको सम्पत्ति भएका परिवारले ४२.७ प्रतिशत वयस्क–परिरवारको प्रतिनिधित्व गर्छन् । उनीहरूसँग विश्वव्यापी सम्पत्तिको १२.६ प्रतिशत अर्थात् ५६.२ ट्रिलियन अमेरिकी डलरबराबरको सम्पत्ति छ ।
प्रतिवयस्क सम्पत्तिको सन्दर्भमा विश्व जनसंख्याले यो सहस्राब्दीको सुरुदेखि नै उल्लेखनीय प्रगति गरेको छ । यो सहस्राब्दी सुरु भएयता १० लाख डलरभन्दा बढी सम्पत्ति भएका वयस्कको प्रतिशत ०.५ प्रतिशतबाट बढेर १.५ प्रतिशत पुगेको छ ।
मिलिनेयरको संख्यामा सबैभन्दा ठूलो वृद्धि कतारमा भएको छ । सन् २००० मा ४६ जना रहेको कतारका मिलिनियरको संख्या बढेर २६ हजार एक सय ६३ पुगेको छ । यसबीच, चीनमा मिलिनेयरको संख्या ३९ हजारबाट बढेर ६० लाख १३ हजार दुई सय ८२ पुगेको छ । त्यसपछिको सबैभन्दा धेरै वृद्धि हुनेमा कजाकस्तान रहेको छ । कजाकस्तानले मिलिनेयरको संख्या नौ सय १८ बाट बढाएर ४४ हजार तीन सय सात पुर्याएको छ ।
‘चीनजस्ता उदीयमान बजार अर्थ व्यवस्थामा अधिक धनको वृद्धि देख्न सकिन्छ । रुसमा पनि यही प्रवृत्ति देखिन्छ । मध्यपूर्वका केही देशले पनि धनको तीव्र वृद्धि साक्षात्कार गरेका छन् । यसले उनीहरूको मिलिनेयरको संख्यामा समेत वृद्धि गरेको छ,’ युबिएसका अर्थशास्त्री स्यामुएल एडम्स टिप्पणी गर्छन् । युबिएसले ग्लोबल वेल्थ रिपोर्ट प्रतिवेदन प्रकाशित गर्न थालेको १५ वर्षमा एसिया प्रशान्त क्षेत्रमा सम्पत्तिमा सबैभन्दा बढी एक सय ७७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने अमेरिकाले करिब एक सय ४६ प्रतिशत र युरोप, मध्यपूर्व र अफ्रिका (इएमइए)ले ४४ प्रतिशतको वृद्धि साक्षात्कार गरेका छन् ।
विश्वका ३८ प्रतिशत मिलिनेयर अमेरिकामा रहेका छन् । यसैगरी, २८ प्रतिशत मिलिनेयर पश्चिमी युरोपमा र १० प्रतिशत चीनमा रहेका छन् । देशअनुसार प्रतिशतका आधारमा स्विट्जरल्यान्डमा सबैभन्दा धेरै मिलिनेयर छन् । यो देशका प्रत्येक सयजनामा १२ जनासँग १० लाख डलरभन्दा बढीको सम्पत्ति छ । त्यसपछि हङकङमा प्रतिएक सयमा आठजना व्यक्ति मिलिनेयर छन् । अस्ट्रेलियाका प्रतिसयमा सातजना, नेदरल्यान्डका प्रतिसयमा सातजना र अमेरिकामा प्रतिसयमा ६ जनासँग १० लाख डलर वा सो भन्दा बढीको सम्पत्ति रहेको छ ।
–अलजजिराबाट