January 15, 2025, Wednesday
२०८१ माघ ३

सत्ताको मात चढेपछि दक्षिण कोरियाका राष्ट्रपतिमाथी महाभियोग

२०८१ पुष १
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

220

सत्तााको मात चढेपछि दक्षिण कोरियाको संसद्ले राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ। महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन्।

३ डिसेम्बरमा सैनिक शासन लागू गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा एक साताभन्दा बढी तीव्र राजनीतिक तनाव निम्त्याएको थियो। राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौँको संख्यामा र्‍याली निकालिएको थियो। मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताएका छन्।

कुल तीन सय सांसद सदस्य रहेको कोरियाली संसदमा दुई सय चार सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने ८५ जनाले विपक्षमा मतदान गरेका छन्। मतदानमा तीन सांसद अनुपस्थित रहेका र आठ मत बदर भएको छ।

महाभियोगसँगै युनलाई पदबाट निलम्बित गरिएको छ भने दक्षिण कोरियाको संवैधानिक अदालतले मतदानपछिको अवस्थाबारे छलफल सुरु गरेको छ।

अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ। यदि उनलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नेछन्।