अमेरिकी माथिल्लो सदन सिनेटले फक्स न्युजका पूर्व प्रस्तोता पीट हेगसेथलाई रक्षामन्त्रीमा अनुमोदन गरेको छ । सिनेटबाट अनुमोदन भएसँगै हेगसेथले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नेतृत्व सम्हाल्नेछन् ।
एक सय सदस्यीय सिनेटमा भएको मतदानमा उनको पक्ष र विपक्षमा बराबर मत दिएपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिएका हुन् । दक्षिणपन्थी टिप्पणीकार हेगसेथ यौन दुर्व्यवहार र मद्यपानको मुद्दामा विवादित व्यक्ति हुन् । पूर्वसैनिक अधिकारीसमेत हेगसेथले युद्धमा महिलाहरूलाई भूमिका दिन नहुने बताउँछन् ।
रिपब्लिकन पार्टीका तीनजना सिनेटरहरूले उनको नियुक्तिको विरोध गरेका छन् । केन्टकीका मिच म्याकोनेल, मेनका सुसान कोलिन्स र अलास्काका लिसा मुर्कोस्कीले हेगसेथको मनोनयनको विरोध गरेका हुन् । कोलिन्स र मुर्कोव्स्कीले यसअघि नै उनको विगत र अनुभवहीनताका आधारमा उनी रक्षामन्त्रीका लागि अयोग्य भएको बताएका थिए ।