युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्सकी अन्तत: अमेरिकालाई खनिजको स्वामित्व दिन तयार भएका छन् । दुई देशबीच बुधबार खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति जुटेको हो । सहमति भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्ने भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की सहमतिमा हस्ताक्षर गर्न तयार रहेको बताएका छन् । त्यसका लागि जेलेन्स्की यसै साता ह्वाइट हाउस आइपुग्ने ट्रम्पको भनाइ छ । ‘युक्रेनी राष्ट्रपति शुक्रबार आउने भन्ने सुनेको छु,’ ट्रम्पले ओभल अफिसमा पत्रकारसँग भने, ‘पक्कै पनि यो मेरो साथ ठीक छ यदि उसले चाहन्छ भने । म बुझ्छु, यो ठूलो कुरा हो, धेरै ठूलो कुरा ।’
केहि दिनयता युक्रेनी खनिजको स्वामित्वका विषयमा दुई देशबीच कुराकानी भइरहेको थियो । ‘हामीले वास्तवमै केही राम्रा परिमार्जनसहित त्यसमा सहमति जनाएका छौं । यसलाई सकारात्मक परिणामको रूपमा हेरेका छौँ,’ एक वरिष्ठ युक्रेनी अधिकारीले बीबीसीसँग भनेका छन् ।
अमेरिकाले यसअघि ५ खर्ब अमेरिकी डलर बराबरको युक्रेनी ‘रेयर अर्थ मेटल’का साथै तेल तथा ग्यासलगायत प्राकृतिक स्रोतसाधनमा अधिकार दाबी गरेको थियो । तर अमेरिका त्यसमा भने केही पछि हटेको फाइनान्सियल टाइम्सले जनाएको छ । तर सहमतिमा यसअघि जेलेन्स्कीले राखेको युक्रेनको सुरक्षाबारे भने सहमतिले कुनै ग्यारेन्टी सुनिश्चितता नगरेको बीबीसीले जनाएको छ ।
युक्रेनकी उपप्रधानमन्त्री ओल्गा स्टाफनीशिनले अमेरिकासँग हुन लागेको सम्झौता ‘पूरा तस्बिरको एउटा अंश मात्रै’ भएको बताएकी फाइनान्सियल टाइम्सले जनाएको छ । ‘हामीले अमेरिकी प्रशासनबाट कैयौंपटक सुनिसकेका छौं कि यो ठूलो तस्बिरको अंश मात्रै हो,’ अमेरिकासँग वार्ताको नेतृत्व गरेकी स्टाफनीसिनले भनिन् ।
युक्रेनी समाचार वेबसाइट ‘युक्रेन्स्का प्राभ्दा’ले दुई देशबीच खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तय भएको छ । त्यसमा दुई देशबीच पुनर्निर्माण लगानी कोष बनाउने सहमति पनि भएको वेबसाइटले जनाएको छ ।
युक्रेनी अर्थमन्त्री युलिया स्विरिडेन्कोका अनुसार रुसले कब्जा गरेका क्षेत्रमा ३ खर्ब ५९ अर्ब डलर बराबरका स्रोत छन् । क्यानडाको भूगर्भ जोखिम सम्बन्धी परामर्शदाता निकायल सेकडेभका अनुसार रुसले युक्रेनको कम्तीमा आधा म्यांगनीज, सिजिअम, ट्यान्टलम र रेयर अर्थ भण्डारण आफ्नो कब्जामा लिएको छ । त्यस्तै रुसले युक्रेनको ६३ प्रतिशत कोइलाखानी कब्जा लिएको सेकडेभले जनाएको छ ।
युक्रेनसँग खर्बौं डलर मूल्य बराबरको लिथियम, टाइटानियम र युरेनियमका साथै कोइला, ग्यास र तेलको भण्डार छ । युक्रेनमा विश्वमा पाइने ५ प्रतिशत महत्त्वपूर्ण कच्चा खनिज रहेको आकलन छ । युक्रेनी भूगर्भ सर्वेक्षण निकायका अनुसार युक्रेनमा एक करोड ९० लाख टन ग्राफाइट छ । ग्राफाइट विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री बनाउन प्रयोग हुन्छ ।
त्यस्तै, युक्रेन लिथियमका लागि युरोपकै तेस्रो धनी देश हो । लिथियम पनि हाल ब्याट्रीहरूमा प्रयोग हुने गरेको छ । रुसले आक्रमण गर्नुअघि विश्वमा पाइने टाइटानियम उत्पादनको ७ प्रतिशत हिस्सा युक्रेनमा थियो । हलुका धातु टाइटानियम विमान, ऊर्जा केन्द्र लगायतको निर्माणका लागि प्रयोग हुन्छ ।
यसबाहेक युक्रेनसँग ‘रेअर अर्थ’ भनिने दुर्लभ खनिजहरू पनि छन् । डिस्प्रोसियम, नियोडिमियम र सेरियम नामक दुर्लभ खनिजहरु अर्थात ‘रेयर अर्थ’ १७ प्रकारका भारी धातुहरुका समूह हुन् । यी दुर्लभ खनिजहरू इलेक्ट्रोनिक्स, सैन्य उपकरण, विद्युतीय उपकरण बनाउन आवश्यक पर्छ ।
यी खनिजको उत्खनन महँगो, जटिल र वातावरणीय दृष्टिकोणले संवेदनशील भएकाले दुर्लभ मानिन्छ । ‘लाइटबल्ब’देखि ‘गाइडेड मिसाइल’सम्म यी खनिजको प्रयोग हुन्छ । जस्तै युरोपियम टेलिभिजन स्क्रिन बनाउन प्रयोग हुन्छ । सेरियम सिसा पोलिस गर्न र तेल शुद्धीकरण गर्न प्रयोग गरिन्छ । ल्यानथानमले कारको ‘क्याटिलिटिक कनभर्टर’लाई प्रभावकारी बनाउन मद्दत गर्छ । नियोडिमियम र डिस्प्रोसियमले स्थायी र शक्तिशाली चुम्बक बनाउन आवश्यक हुन्छ । यसले समुन्द्रभित्र टर्बाइन स्थापना गर्न सम्भव हुन्छ ।
यसअघि ट्रम्पले अमेरिकाले युद्धमा गरेको सहयोगका लागि युक्रेनले खनिजको आधा स्वामित्व दिनुपर्ने माग गरेका थिए । तर उक्त माग जेलेन्स्कीले अस्वीकार गरेका थिए । जसका कारण दुई नेताले एकअर्काको कडा आलोचना गरेका थिए ।
ट्रम्पले जेलेन्स्कीकै कारण युद्ध सुरू भएको बताएका थिए । जेलेन्स्कीले ट्रम्पलाई रुसी दुष्प्रचारबाट प्रभावित भएको आरोप लगाएका थिए । तर ट्रम्पले जेलेन्स्की ‘तानाशाह’ भएको र उनी निर्वाचनबिना नै पदमा रहिरहेको बताएका थिए । ट्रम्प आक्रोशित भएपछि भने जेलेन्स्की सम्झौताका लागि लचिलो देखिएका थिए ।
अमेरिकी प्रशासनसँग जुधेर अघि बढ्न सम्भव नभएको बुझेपछि जेलेन्स्की लचिलो बनेका हुन् । ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिकिएपछि उनीमाथि थप दबाब बढ्यो । त्यसमाथि अमेरिकाले संयुक्त राष्ट्रसंघमा भएको मतदानमा रुसको पक्षमा मत दियो । जसका कारण रुसी राष्ट्रपति पुटिनले कब्जामा लिएका युक्रेनी भू-भागसहित रुसका दुर्लभ खनिजहरूको उत्खनन गर्न अमेरिकासँग सहकार्यका लागि प्रस्ताव राखेपछि भने जेलेन्स्कीसँग सम्झौता गर्नुको विकल्प रहेन ।
खनिज सम्झौता हुने तय भए पनि ट्रम्पले युक्रेनले लडाइँ जारी राख्ने हक राख्ने बताएका बीबीसीले जनाएको छ । ‘उनीहरू निकै साहसी छन्,’ ट्रम्पले संवाददाताहरूसँग भन, ‘तर अमेरिका, उसको पैसा र सैन्य उपकरणबिना यो युद्ध निकै छोटो समयमै सकिनेवाला थियो ।’
युक्रेनमा अमेरिकले सैन्य हतियार तथा उपकरण आपूर्ति जारी गर्ने/नगर्ने विषयमा सोधिएको प्रश्नमा ट्रम्पले भनेका छन्, ‘हामीले रुससँग सम्झौता नगरेसम्म हुन पनि सक्छ । हामीबीच सम्झौता हुनुपर्छ । नभएसम्म त्यो जारी रहन्छ ।’ ट्रम्पले सबैलाई मान्य हुने शान्ति सम्झौतापछि युक्रेनमा शान्ति स्थापना हुनुपर्ने बताएका छन् ।
मंगलबार ट्रम्पले युक्रेनका लागि अमेरिकाले ३ खर्बदेखि ३ खर्ब ५० अर्ब डलर दिएको बताएका थिए । ‘हामी उक्त पैसा फिर्ता चाहन्छौँ,’ उनले भने, ‘हामीले धेरै ठूलो समस्या हुँदा पनि उक्त देशलाई सहयोग गरिरहेका छौं । तर अमेरिकी करदाताहरूले अब त्यो पैसा जोडेर फिर्ता पाउने छन् ।’
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत सेप्टेम्बरमा आफ्ना पश्चिमा साझेदारहरूलाई रुसविरूद्धको युद्धबारे विजय योजना प्रस्तुत गरेका थिए । त्यसमा उनले देशका केही खनिज युद्धको अन्त्यमा पश्चिमा देशका कम्पनीलाई पहुँच दिने प्रस्ताव राखेका थिए । तर पछिल्लो समय अमेरिका र रुसबीच बढ्दो सम्बन्धका कारण युक्रेन र उसका युरोपेली सहयोगीहरू केही सजग देखिएका छन् ।