सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ ।
आज बिहान पौने ६ बजेसम्म प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । ‘जवानहरु बस्ने भवनको भित्ता सामान्य चर्किएको छ,’ प्रजिअ थापाले भने ।
यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।
अरु विवरण आउन बाँकी छ । प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न भनेको छ ।
शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।
शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो ।