वर्तमान युग विज्ञाको युगको हो । अर्थात् हामी विज्ञान–प्रविधिको युगमा छौं । यो सिंगो समाज विज्ञान–प्रविधिबाट संचालित छ । त्यसकारण समग्रमा विज्ञानको आधारमा यो समाजको मूल्यांकन, यो समाजको व्याख्या विश्लेषण, यो समाजको गति, यो समाजको परिवर्तन र यो समाजको व्यवस्थापन निर्धारण गर्नु परेको छ । क्वाण्टम सिद्धान्त समग्र विज्ञानको एउटा सानो अंश हो । यो सानो अंशको अध्ययनबाट हामीले विश्वको ज्ञान जगत बुझ्न सक्दैनौं । विज्ञान भन्ने विषय अहिले यति व्यापक बनेको छ कि यसको विस्तृत अध्ययन विना यो बुझ्न संभव छैन । त्यसकारण क्वाण्टम सिद्धान्तबाट मात्रै हामीले विज्ञानको धारणा बनायौं भने त्यो अपुरो हुन्छ । यस सन्दर्भमा लेनिनको एउटा भनाइ सान्दर्भिक छ– ‘यदि कसैले माक्र्सवादका उद्धरणहरुलाई मात्रै कन्ठस्थ गरेर कम्युनिस्ट बन्न चाहन्छ भने त्यो दयनीय कम्युनिस्ट हुन्छ ।’ त्यसो भए वास्तविक कम्युनिस्ट बन्न के गर्ने ?
त्यसको लागि लेनिनले भनेका छन्– ‘मानव जातिले आर्जन गरेको सम्पूर्ण ज्ञानराशीबाट आफ्नो दिमागलाई सुसम्पन्न बनाउनुपर्छ ।’ यही हो, लेनिनका अनुसार कम्युनिस्ट बन्ने विधि । त्यसैगरी यदि हामीले क्वाण्टम सिद्धान्त मात्र बुझेर विज्ञानको सम्पूर्ण धारणा बनायौं भने, यो संसारको सम्पूर्ण निष्कर्ष निकाल्यौं भने हामी पनि दयनीय कम्युनिस्ट हुनसक्छौं । त्यसकारण यो विज्ञानको बारेमा बुझ्नका लागि सम्पूर्ण विज्ञानको इतिहास र यसका सम्पूर्ण आयामहरु बुझ्न आवश्यक छ । अहिलेको विश्वपरिवेशमा यो अनिवार्य छ । यति नभएसम्म हामीले अबको दुनियालाई, अबको परिवर्तनलाई र अबको क्रान्तिलाई हाक्न सकिंदैन ।
आजसम्म हाम्रो कम्युनिस्ट आन्दोलनमा विज्ञानबारे नकारात्मक धारणा बन्दै आएको छ । यो विज्ञान भन्ने विषय पुँजीवादीहरुले आफ्नो स्वास्र्थ सिद्ध गर्नका लागि बनाएको हो । धेरै हदसम्म कम्युनिस्ट विरोधी तथा पुँजीवादी मुलुकमै यसको विकास र प्रयोग भएको छ र हाम्रो कम्युनिस्ट वृत्तमा नकारात्मक धारणा बनेको छ । त्यसकारण विज्ञानको बारेमा छलफल कमै हुने गर्दछ र हामी प्राय समाजशास्त्रको विषयमा छलफल गर्दछौं । त्यसको अझ विशुद्ध राजनीतिको विषयमा मात्र हामी छलफल गछौं, जुन माक्र्सवादकै अनुसार पनि यो उपरिसंरचना मात्रै हो । राजनीति आधार संरचना होइन । अझ राजनीतिलाई मुखपत्र मानिन्छ । त्यसले समाजमा भएका प्रमुख घटनाहरुलाई व्यक्त गर्दछ । राजनीति समाजको अन्तिम अभिव्यक्ति हो, तर यो आधार होइन । त्यसकारण हामी त्यही उपरिसंरचनामा, राजनीतिक विषयमा केन्द्रित हुन्छौं र विज्ञानलाई छलफलको विषय बनाउँदैनौं । परिणामस्वरुप हामी विज्ञानको विषयमा धेरै जानकार हुन सकेका छैनौं, जबकि विज्ञान भन्ने विषय यो समाजको मूल आधार बनिसकेको छ । पुँजीवाद किन टिकिरहेको छ ? पुँजीवादले कसरी पुनर्जीवन प्राप्त गरेको छ ? लेनिनले मरणासन्न घोषित गरेको पूँजीवाद फेरि हराभरा भएर किन आयो ? त्यसको कारणा एउटै छ, त्यो हो विज्ञान । विज्ञान–प्रविधिकै आधारमा २० औं शताब्दीमा आएको संकटबाट पुँजीवाद मुक्त भएको छ । आज पुँजीवादले जति प्रगति गरेको छ र आफ्नो अन्तर्विरोधहरुलाई समाधान गरेको छ, त्यसको एउटै आधार विज्ञान–प्रविधि हो । विज्ञान–प्रविधिको एकाधिकारी प्रयोगबाट उसले पुर्नजीवन पाएको छ । त्यसकारण विज्ञान–प्रविधिको गहन अध्ययन नगरी हामी अब अगाडि बढ्न सक्दैनौं । अतः हामी यस विषयको व्यापक छलफल गर्दै र यसको विकासमा लाग्न आवश्यक छ ।
विज्ञानको दृष्टिकोणबाट यो वस्तुगत जगतका तीन स्तरहरु छन् । ती हुन्– बृहतस्तर, मध्यस्तर र सूक्ष्मस्तर । हामीले वस्तुगत जगतको बारेमा जुन धारणा बनाउँछौं, त्यो मध्यस्तरको धारणा हो । उदाहरणका लागि प्रकाश तीन प्रकारका छन्– इन्फ्रारेड, भिजिवल र अल्ट्राभ्वाइलेट । इन्फ्रारेड लामो तरंग लम्बानइको प्रकाश हो, भिजिवल भनेको मध्यस्तरको तरंग लम्बाइको प्रकाश हो र अल्ट्राभ्वाइलेट छोटो (सूक्ष्म) तरंग लम्बाइको प्रकाश हो । हामीले मध्यमस्तरको तरंग लम्बाइ भएको प्रकाश मात्र देख्न सक्छौं, जसका सातवटा रंगहरु छन् । इन्द्रेणीमा देखिने सात प्रकारका रंगहरु यीनै भिजिवल प्रकाशका भेराइटीहरु हुन् । तर, हामीले अल्ट्रभ्वाइलेट पनि देख्न सक्दैनौं र इन्फ्रारेड पनि देख्न सक्दैनौं । इन्फ्रारेडको एउटा उदारहण ‘रेडियो रे’ हो, जसको उपयोग गरेर यो सूचना–प्रविधिमा असाधारण क्रान्ति आएको छ । हामीले प्रायोग गर्ने रेडियो, टेलिभिजन, मोबाइल, इन्टरनेट इत्यादि यही ‘रेडियो रे’ बाट संचालन हुन्छ । यो सबैभन्दा लामो तरंग लम्बाइको प्रकाश हो । त्यो पनि हामीले देख्दैनौं । त्यसैगरी अल्ट्राभ्वाइलेटको उदाहरण हो– एक्स–रे । यो सबैभन्दा छोटो तरंग लम्बाइ भएको प्रकाश हो, जसको माध्यमबाट हाम्रो शरीरभित्रका नदेखिने भागहरुको पनि तस्विर खिच्न सकिन्छ । त्यसको माध्यमबाट मेडिकल साइन्समा ठूलो क्रान्ति आएको छ ।
त्यसैगरेर हामीले गोलाकार पृथ्वी देख्न सक्दैनौं । किनभने त्यो विशाल छ । हामीले देख्ने पृथ्वी चेप्टो छ, जसको कारण पहिलेका मानिसहरुले पृथ्वी चेप्टो छ भन्थे । हामी हावाको प्रभाव थाहा पाउन सक्छौं तर स्वंय हावा देख्न सक्दैनौं । किनभने त्यो सूक्ष्म छ । भन्नुको तात्पर्य हामीले अगाडि देख्न सक्ने वस्तुभनेको मध्यमस्तरको हो ।
हामी विशाल आकारको वस्तु पनि देख्न सक्दैनौं र सूक्ष्म आकारको पनि देख्न सक्दैनौं । त्यसकारण हाम्रो धारणा पनि यही मध्यमस्तरको वस्तु तथा घटनाको आधारमा बनेको छ । यो मध्यमस्तरको वस्तु तथा घटनाको व्याख्या गर्ने विज्ञान यन्त्रिक विज्ञान हो । यन्त्रिक विज्ञानका सिद्धान्तहरु र धारणाहरु उन्नाइसौं शताब्दीसम्म अकाट्य र सार्वभौमिक मानिएका थिए । तिनीहरुको कुनै विकल्प थिएन । तर बीसौं शताब्दीको सुरुवातसँगै यन्त्रिक विज्ञानको सीमा देखिन थाल्यो । विशाल स्तर र सूक्ष्म स्तरमा यी नियमहरु लागु हुँदैनन् भन्ने कुरा सिद्ध भयो । जब कुनै पनि वस्तुलाई प्रकाशको गतिमा हिडाइन्छ भने, त्यहाँ यन्त्रिक सिद्धान्तले काम गर्दैन । प्रकाशको उच्चतम गति ३,००,००० किलोमिटर प्रति सेकेण्ड हुन्छ । यन्त्रिक विज्ञानमा चारवटा कुरा समय, स्थान, पदार्थ र शक्ति अलग–अलग र निरपेक्ष मानिन्छन् । तर कुनै वस्तु प्रकाशको गतिमा चल्छ भने, कुनै पनि घटना प्रकाशको गतिमा घट्दछ भने त्यहाँ समय सापेक्ष हुन्छ । र, स्थान र समय जोडिन्छ । सूर्यको वरिपरि स्पेस पनि बांगिन्छ । स्पेसको ज्यामिति नै परिवर्तन हुन्छ । स्पेस पनि बांगो हुन्छ भन्ने हामीलाई महसुस हुँदैन । हामीले कल्पनै गर्न सक्दैनौं । आकाश पनि बांगिएको छ भनियो भने त्यो हाम्रा लागि विसंगतिपूर्ण हुन्छ । हामीले प्रकाश बांगिएको देख्दैनौं । प्रकाशको गति सीधा हुन्छ भन्ने नियमै छ । तर त्यो सूर्यको वरिपरि गयो भने बांगिन्छ । सूर्यको वरिपरि पृथ्वीलगायतका ग्रहहरु घुम्नुको कारण स्पेस बांगो हुनु हो । तर तिनीहरुले सूर्यलाई परिक्रमा गरेको होइन, आफ्नो बाटो हिडेको हो । सूर्यको वरिपरिको बाटो नै बांगो छ । त्यो परिक्षण र तथ्यद्वारा पुष्टि भएको कुरा हो । त्यसकारण हामीले मध्यमस्तरम जुन कुरा महसुस गर्छौं, त्यो विशाल स्तरमा खण्डित हुन्छ ।
यी कुरा सूक्ष्मस्तरको वस्तु तथा घटनामा पनि लागु हुन्छ । यन्त्रिक विज्ञान अथवा मध्यमस्तरको विज्ञानका नियमहरु सूक्ष्मस्तरको वस्तु तथा घटनामा लागु हुँदैन । उदाहरणका लागि सौर्य प्रणालीमा ग्रहहरु घुम्ने कुरा न्युटनको गुरुत्वाकर्षणको नियमअनुसार हुन्छ । परमाणुको संरचना पनि सौर्य प्रणालीजस्तै हुन्छ । ग्रह घुमेजसरी इलेक्ट्रोनहरु प्रोटोनको वरिपरि घुम्दछन् । तर त्यहाँ न्युटनको गुरुत्वाकर्षको नियमले काम गर्दैन । त्यहाँ क्वाण्टम सिद्धान्तको नियमले काम गर्छ । सूक्ष्म जगतमा घट्ने घटनाहरुको अध्ययन गर्ने विज्ञान क्वाण्टम सिद्धान्त हो । त्यसैगरी बृहत स्तरको घटनाको व्याख्या सापेक्षताको सिद्धान्तले गर्छ, जसको खोज अल्बर्ट आइन्स्टाइनले गरेको थियो । उनी बीसौं शताब्दीका महान वैज्ञानिक थिए ।
क्वाण्टम सिद्धान्तको खोज सन् १९०० मा जर्मनीका वैज्ञानिक म्याक्स प्लांकले गरेका थिए । पछि अरु वैज्ञानिकहरुले थप खोज गरेसँगै यस सिद्धान्तले पूर्णता प्राप्त गर्दछ । क्याण्टम सिद्धान्तले सूक्ष्म स्तरको घटनाहरुको व्याख्या विश्लेषण गर्दछ । यो मध्यमस्तरको घटनाहरुको व्याख्या गर्ने विज्ञानभन्दा भिन्न छ । वस्तुगत जगतका घटनाहरुको यन्त्रिक सिद्धान्तले गर्ने व्याख्या लगभग मात्र हुन् तर पूर्ण होइनन् । त्यसकारण हामीले देख्ने वस्तुहरु पनि इक्ज्याक्ट होइनन्, एप्रोसिमेट मात्र हुन् । त्यसकारण यो निरपेक्ष छैन । शास्त्रीय विज्ञानले बृहत स्तरका घटनाहरुको र सूक्ष्म स्तरको घटनाहरुको व्याख्या गर्न सक्दैन । यो काम चलाउ मात्रै हो । हामी जुन विज्ञानको आधारमा वस्तुगत जगतको व्याख्या गरिरहेका हुन्छौं, त्यो वास्तविक होइन लगभग मात्रै हो । हाम्रो सामान्य व्यवहार अमूर्त रुपमा हामीले लगभग जुन धारणा बनाएका छौं, त्यसैमा चल्छ ।
कालो वस्तुको विकिरण भन्ने घटनाको व्याख्या गर्ने क्रममा शास्त्रीय विज्ञान सफल हुन सकेको थिएन । त्यसपछि म्याक्स प्लांकले एउटा सूत्र बनाए । उनको त्यो सूत्र थियो– शक्तिको विच्छिन्नता । त्यो सूत्रबाट black body radiation को व्याख्या संभव भएको थियो । तर त्यो कामचलाउ मात्रै थियो । त्यसैलाई क्याण्टम सिद्धान्तको सुरुवात मानियो । म्याक्स प्लांकलाई पनि थाहा थिएन कि शक्ति भन्ने चीज क्वाण्टामा हुन्छ । अर्थात् त्यो पानीजस्तो निरन्तर प्रवाहमा होइन, अलग–अलग कणको रुपमा हुन्छ । जसरी पदार्थको अन्तिम रुप परमाणुको रुपमा हुन्छ ।
हामीले देख्ने समष्टि वस्तुलाई टुक्र्याउँदै जाने हो भने त्यो कणको रुपमा देखा पर्दछ, जुन अभिवाज्य हुन्छ । शक्तिको पनि त्यस्तै अभिवाज्य सूक्ष्म स्वरुप छ, जसलाई प्लांग अचर अथवा क्वाण्टा भनिन्छ । त्यो शक्तिको अन्तिम कण हो । त्योभन्दा उता शक्तिलाई विभाजन गर्न सकिंदैन । शक्तिको उत्सर्जन र प्रवाह क्वाण्टामा हुन्छ । अर्थात् त्यो कणमय हुन्छ । यो कुरा क्वाण्टम सिद्धान्तको प्रारम्भ थियो ।
आधारभूत तहमा हरेक वस्तु विछिन्न अवस्थामा हुन्छ । अगल–अलग अवस्थामा हुन्छ । जस्तो कि घरका भित्ताहरु हेर्दा प्लेन अवस्थामा हुन्छन् । तर, त्यसलाई सूक्ष्म तहमा हेरियो भने त्यो भित्ता अनगिन्ति बालुवा र सिमेन्टका कणहरुबाट बनेको देखिन्छ । कणहरुको संयोजनबाट त्यो प्लेन बनेको छ । त्यस्तै यो वस्तुगत जगत पनि सूक्ष्म तहमा विछिन्न अवस्थामा छ । अलग–अलग कणको रुपमा रहेको छ । त्यो वास्तविकतालाई क्वाण्टम सिद्धान्तले उजागर गरेको थियो ।
प्रकाशको सबैभन्दा सानो कणलाई फोटोन भनिन्छ । फोटोनको खोज भएपछि विज्ञान जगतमा ठूलो क्रान्ति भएको थियो । फोटोनको खोज हुनुअघि प्रकाश तरंगको रुपमा छ भन्ने मानिन्थ्यो । त्यहाँ कण छ भन्दा विज्ञानको मान्यता विपरित हुन्थ्यो । म्याक्स प्लांकलाई त्यसले समस्यामा पारेको थियो । तर आइन्स्टाइनले प्रकाश कणका रुपमा छ भन्ने कुरा स्थापित गरेका थिए ।
जब सन् १९०० मा आएको क्वाण्टम सिद्धान्तको १९२० को दशकमा थप विकास गरियो, तब त्यसले आश्चर्यजनक परिणामहरु ल्यायो । त्यसपछि आइन्स्टाइन र म्याक्स प्लांकले नै त्यसलाई अस्वीकार गरे । क्याण्टम सिद्धान्तलाई अस्वीकार गर्दै आइन्स्टाइनले भने कि ईश्वरले जुवा खेल्दैनन् । भन्नुको तात्पर्य क्वाण्टम सिद्धान्तको प्रयोगबाट जुन निष्कर्षहरु निस्किए, त्यो जुवा जस्तै थियो । अनिश्चितता थियो । कस्को भागमा के पर्छ भन्ने कुरा अनिश्चित भएकै कारण जुवा खेलिन्छ । यदि त्यो निश्चित हुने हो भने जुवा खेलिँदैन । जुवामा हार्ने र जित्ने दुवै संभावना बराबर हुन्छन् । क्वाण्टम सिद्धान्तले ल्याएका घटनाहरु त्यस्तै अनिश्चिततामा आधारित थिए । अनिश्चितता हात लाग्छ भने विज्ञानको के काम ? त्यसै कारण आइन्स्टाइनले अस्वीकार गरेका थिए । उनले जीवनभर यसलाई स्वीकार गरेनन् तर आइन्स्टाइनको अस्विकृतिको बाबजुद्ध क्वाण्टम सिद्धान्तले ठूलो सफलता हासिल गर्यो। आज क्याण्टम सिद्धान्त विज्ञानको आधार स्तम्भ बनेको छ । विज्ञानका दुई आधार स्तम्भ छन् । अर्को आधार स्तम्भ सापेक्षताको सिद्धान्त हो । यी दुबै सिद्धान्त बीसौं शताब्दीका महान उपलब्धि थिए ।
क्वाण्टम सिद्धान्तका नियम
क्वाण्टम सिद्धान्तका तीन नियम छन् । ती हुन्– विछिन्नताको नियम, कण–तरंग द्वैतताको नियम र अनिश्चितताको नियम ।
१) विछिन्नताको नियम
क्वान्टम् सिद्धान्त आउनुभन्दा पहिले शास्त्रीय भौतिक विज्ञानले शक्तिलाई निरन्तर अर्थात अविच्छिन्नतामा हुन्छ र त्यसकारण त्यसको उत्सर्जन तथा प्रवाह पनि अविच्छिन्न रुपमै हुन्छ भन्ने मान्दथ्यो । तर त्यसबाट पछि समस्या उत्पन्न भयो । त्यही बेला क्वान्टम् सिद्धान्तको आगमन भयो, जसले सूक्ष्म स्तरमा अथवा आधारभूत रुपमा शक्ति अनिरन्तर अर्थात विच्छिन्न (मष्कअचभतभ) हुन्छ भन्ने धारणा अगाडि ल्यायो । यो नियमको प्रतिपादन सन् १९०० मा जर्मन वैज्ञानिक म्याक्स प्लाङ्कले गरेका थिए । यसका लागि उनलाई सन् १९१८ मा नोबेल पुरस्कार दिइएको थियो ।
२) कण–तरंग द्वैतताको नियम
आधारभूत रुपमा तरंग र कण अलग–अलग देखिन्छन् । शक्तिको वास्तविक रुप तरंग हुन्छ र पदार्थको वास्तविक रुप कण हुन्छ । तर क्वाण्टम सिद्धान्तले सूक्ष्म जगतमा तरंग र कण अभिन्न भएको तथ्य उद्घाटित गर्यो। यो नियम अनुसार पदार्थको सूक्ष्म स्वरुपमा जाँदा तरंग र कणको भेद मेटिन्छ । पदार्थको सूक्ष्मतामा उही इलेक्ट्रोन तरंग पनि हो, कण पनि हो । यसैलाई तरंग–कण द्वैतताको नियम भनिन्छ । मानौं कि तपाईले इलेक्ट्रोनको फुटबल खेल्नुभयो । त्यो इलेक्ट्रोन तपाईले विरोधिको गोल पोष्टमा प्रहार गर्नुभयो भने आफ्नो गोलपोष्टमा पनि छिर्छ । दुवैतर्फ गोल हुन्छ । यो परिक्षणबाट सिद्ध भएको कुरा हो । दुईवटा छिद्र भएको पर्दामा एउटा इलेक्ट्रोन प्रहार गरियो भने दुवै छिद्रबाट छिर्छ । त्यो घटनाले इलेक्ट्रोन कण र तरंग दुवै रुपमा हुन्छ भन्ने तथ्य अगाडि आयो । अब सूक्ष्म जगतमा हामीले फुटबल खेल्यौं भने विरोधिलाई हराउन सकिंदैन । किनभने त्यहाँ हरेक पटक विरोधि पक्षको गोलपोष्टमा गोल गर्दा आफ्नो गोलपोष्टमा पनि गोल हुन्छ । त्यसैले त्यहाँ कसैले जित्दैन ।
यो नियमको प्रतिपादन प्रसिद्ध फ्रान्सेली बैज्ञानिक लुइ डि ब्रोग्ली (१८९२–१९८७) ले गरेका थिए । यही नियम पत्ता लगाएबापत उनलाई सन् १९२९ मा नोबेल पुरस्कार पनि प्रदान गरिएको थियो ।
३) अनिश्चितताको नियम
शास्त्रीय भौतिकी अर्थात न्यूटनीय यान्त्रिकीको सैद्धान्तिक आधार प्रकृतिका सबै घटनाहरु तथा वस्तुहरु सुनिश्चित छन् भन्ने धारणा हो । तर यसको विपरीत क्वाण्टम् सिद्धान्तले सूक्ष्म जगतमा, खासगरी कण–तरंगको जगतमा, यो सुनिश्चिताको धारणा लागु हुँदैन भन्ने कुरा अगाडि ल्याएको छ । जति ठीकसित तपाईँले कुनै कणको स्थिति सुनिश्चित गर्नुहुन्छ त्यति त्यसको गति अनिश्चित हुनजान्छ वा यसको ठीक उल्टो हुन्छ । परिणामस्वरुप सूक्ष्म जगतमा सुनिश्चितताको सट्टामा अनिश्चितता अर्थात सम्भाव्यता एउटा आधारभूत नियमका रुपमा स्थापित भएको छ । यो नियमको खोज जर्मन बैज्ञानिक वेर्नर हाइजनवर्गले सन् १९२७ मा गरेका थिए । यसका लागि उनलाई पनि सन् १९३२ मा नोबेल पुरस्कार दिइएको थियो ।
यसरी यी तीनवटा नियम आएपछि क्वाण्टम सिद्धान्तले पूर्णता प्राप्त गर्दछ । यी तीन नियमा बुझ्न सकियो भने क्वाण्टम सिद्धान्तको आधारभूत कुरा बुझ्न सकिन्छ ।
क्वाण्टम सिद्धान्तको परिणाम
क्वाण्टम सिद्धान्तका अनेकौं परिमाणहरुमध्ये हामीले मुख्य रुपमा दुईवटा परिणामलाई लिन सक्दछौं ।
पहिलो, यो सिद्धान्तको आगमनपछि सूक्ष्म जगतको बोध र नियन्त्रण गर्न संभव भयो । सूक्ष्म जगत हामीले देख्ने स्थुल जगतभन्दा धेरै नै विशाल छ । हामीलेभन्दा सूक्ष्म भने पनि यो मध्यमस्तरभन्दा धेरै नै विशाल छ । यो आधारभूत पनि छ । स्थुल जगतका घटनाहरु सूक्ष्म जगतमा घट्ने घटनाहरुमा आधारित छन् । उदाहरणका लागि परमाणु नै यो संसारको संघटक हो भन्ने मानिन्छ ।
त्यसैगरी जीवहरुको जीवनको निर्धाण डीएनएले गर्दछ । डीएनएको कोडलाई पहिचान गरेर जीवनको स्वरुप के हो भन्ने जान्न सकिन्छ । त्यो हाम्रो आँखाले देख्न सक्दैन । जेनेटिक कोड अझ सूक्ष्म हुन्छ । तसर्थ इलेक्ट्रोन, न्युट्रोन र प्राटोन सूक्ष्म तहका कणहरु हुन् । र, तिनीहरुकै आधारमा यो दृश्य जगत बनेको छ । आज यही सूक्ष्म तहका घटनाहरुको आधारमा विज्ञानले गरेको आश्चर्यजन प्रगति संभव भएको हो । जस्तो इलेक्ट्रोनिक्स भन्ने चिजले कति प्रगति गरेको छ ? यो विद्युतीय उपकरणहरु सबै इलेक्ट्रोनिक्समा आधारित छ । अहिले हामीले प्रयोग गर्ने कम्प्युटर र मोबाइलमा न्यानो टेक्नोलोजीमा आधारित छ । यही टेक्नोलोजिका कारण घरजत्रो कम्युटरलाई घटाउँदै डेक्स्कटम, ल्यापटम र मोबाइलमामा परिणत गर्न संभव भएको छ र योभन्दा पनि सूक्ष्म स्वरुप माइक्रोचिप्समा जाँदैछ । अब क्वाण्टम घटनामा आधारित क्वाण्टम कम्प्युटर बन्दैछ, जुन सुपर कम्प्युटरभन्दा दशौं गुणा शक्तिशाली हुन्छ । साथै त्यसलाई ह्याक गर्न सकिंदैन । यसको कारण क्वाण्टम कम्प्युटरले अत्यन्तै सूक्ष्म स्तरमा काम गर्दछ । यो कम्प्युटर अहिले ल्याबमा टेस्ट भइरहेको छ । यसरी न्यानो टेक्नोलोजि अहिलेको विज्ञान–प्रविधिको आधार बन्न पुगेको छ । यो सूक्ष्म जगतको बोध र नियन्त्रणको परिणाम हो ।
डिजिटल प्रविधिले सम्पूर्ण यान्त्रिक प्रविधिलाई विस्थापित गर्दैछ । यो डिजिटल प्रविधिबाट कम्प्युटरको निर्णाण गरिएको छ । त्यो प्रविधिको खोज पनि यही सूक्ष्म स्तरको घटनाहरुकै आधारमा गरिएको छ । अब आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बौद्धिक आउँदैछ । यसले पनि सूक्ष्म स्तरको घटनाहरुको आधारमा काम गर्दछ । मानिसले गर्ने बौद्धिक काम अब यही कृत्रिम बौद्धिकले गर्दछ । आर्टिफिसियल इन्टेलिजेन्स वस्तुगत जगतमा घट्ने घटनाको आधारमा बनाउन सकिंदैन । जस्तो कि कम्प्युटरको सुरुवात बेलायती वैज्ञानिक चाल्स जाबेजले गरेका थिए । उनले सुर गरेको कम्प्युटर यान्त्रिक प्रविधिको थियो । उनको प्रविधिबाट अहिलेको सुपरकम्प्युटर संभव नै थिएन । इलेक्ट्रोनिक्स भन्ने प्रविधिको आधारमा कम्प्युटरको निर्माण गरिएको छ । यो प्रविधि चाल्स जाबेजको समयमा आएको थिएन । यदि यो प्रविधि नआएको भए अहिलेको कम्प्युटर संभब थिएन । आर्टिफिसियल इन्टेलिजेन्स भन्ने प्रविधि पनि यान्त्रिक प्रविधिबाट संभव छैन । त्यसको लागि सूक्ष्म स्तरमा घट्ने घटनामा आधारित हुनुपर्दछ । यसरी क्वाण्टम सिद्धान्तबाट आश्चर्यजनक परिणामहरु आएका छन् ।हामी हिजोको पुस्ताको तुलनामा जुन उच्चस्तरको जीवन बाँचिरहेका छौं, यो सूक्ष्म जगतमाथिको नियन्त्रबाट संभव भएको हो । यो क्वाण्टम सिद्धान्तको योगदान हो ।
क्वाण्टम सिद्धान्तको अर्को परिणाम भनेको हाम्रो पुरानो धारणामा ल्याएको आमूल परिवर्तन हो । क्वाण्टम सिद्धान्तले जुन नयाँ धारणा लिएर आयो, त्यसले पुरानो धारणालाई खारेज भएका छन् । उदाहरणका लागि कार्यकारण सम्बन्धलाई हेर्न सकिन्छ । यस धारणाअनुसार आज घाम पूर्वैबाट उदाउँछ, किनभने हिजो पनि पूर्वैबाट उदाएको थियो । कारण निश्चित भएकाले त्यसको कार्य पनि निश्चित हुन्छ । तर, के यो सही हो त ? क्वाण्टम सिद्धान्तमा यो सही होइन, सम्पूर्ण घटनाहरु सम्भाव्यता मात्रै हुन् । हामीले वस्तुगत जगतमा देखेका घटनाहरु अनेकौं सम्भाव्यतामध्येको एउटा हो, जसरी जुवामा चारवटा दाउ छन्, त्यसबाट एउटा दाउ छानिन्छ । तसर्थ कार्य–कारणबीचको अविच्छिन्न सम्बन्ध सूक्ष्म जगतमा लागु हुँदैन र यो धारणा खण्डित भएको छ ।
त्यसैगरी हामीले हरेक घटनालाई सरल रेखामा हेर्दछौं । इतिहासमा बाँदरबाट मान्छे बनेको घटना निश्चित छ भनेर बुझ्छौं । चाल्र्स डार्विनले बाँदरबाट मान्छे बन्ने प्रक्रिया निश्चि हो भनेर घोषणा गरे । बादरबाट मान्छे बन्दा एकपछि अर्को लिनियर घटना घटेको देखियो र हामीले त्यसैलाई अन्तिम मान्यौं । तर, त्यस्तो होइन । डार्विनकै सिद्धान्तअनुसार पनि अमिबाबाट बदलिएर यति धेरै जीवहरु बन्यो भनिएको छ तर एउटा अमिबा अहिले पनि त्यही छ । अमिबाभन्दा पहिले आएको भाइरस पनि त्यही छ । भाइरसका पनि अनेक भेराइटी छन् । तिनीहरु त्यही छन् । एउटा बाँदर बदलिएर मान्छे बन्यो तर अर्को बाँदर अहिले पनि त्यही छ । बाँदरका अनेक भेराइटीहरु छन् । तिनीहरु किन मान्छे बनेन् त ? बाँदरका थुप्रै संभावनाहरुमध्येबाट एउटा छानिएर मान्छे बन्यो । कोही गुरिल्ला र विगबन बने । तसर्थ हाम्रो एकरेखिय चिन्नत क्वाण्टम सिद्धान्तले खण्डन गरिदिएको छ । त्यसकारण हामी मान्छे बनेको पनि संभावना मात्रै हो । यो संभावनाकै परिणामस्वरुप स्थुल जगतमा देखिने घटनाहरु घटेका छन् ।त्यसैगरी तेस्रो, अहिलेसम्म हाम्रो अद्वैत धारणा छ । हामी द्वैतलाई स्वीकार गर्दैनौं । एउटा पार्टीको समानान्तारमा अर्को पार्टी बन्यो भने हाम्रो टाउको दुखिहाल्छ । यो हाम्रो अद्वैत धारणाको परिणाम हो । आफैमात्र हुनुपर्छ भन्ने धारणा अद्वैतवादी धारणा हो । आजसम्मका सम्पूर्ण दार्शनिक धारणाहरु अद्वैतवादी छन् । जस्तो माक्र्सवादले पदार्थ प्रथम हो, चेतना द्वितिय हो भन्छ । यो भौतिकवादी सिद्धान्त हो । फेरि अध्यात्मवादी धारणाले चेतना प्रथम हो, पदार्थ द्वितिय हो । पदार्थ चेतनाको परिणाम हो भन्छ । यो पनि अद्वैतवादी धारणा हो । तर क्वाण्टम सिद्धान्तले चेतना र पदार्थ सँगसँगै छन् । अथवा एउटा सत्ताका दुई रुपहरु मात्र हुन् । जस्तो मान्छे एउटा सत्ता हो र यसका शरिर र चेतना दुई रुपहरु छन् । एकले अर्कोलाई निर्माण गरेका भनेर बुझ्न हुँदैन । आधारभूत तहमा यिनीहरु द्वैतताकै अवस्थामा छन् । कण र तरंग सँगसँगै छन्, शक्ति र द्रव्य सँगसँगै छन् र पदार्थ र चेतना सँगसँगै छन् । यिनीहरु द्वैत रुपमा देखापर्दछन् र एकले अर्कोलाई निषेध गर्दैनन् । म चाहीँ तेरो कारण हुँ भन्दैन । यसरी क्वाण्टम सिद्धान्तले अद्वैतताको धारणालाई खारेज गर्दै द्वैतताको धारणा ल्याएको छ । यसको अर्थ द्वैतता मात्रै होइन, बहुलता हो । यहाँ विविधता छ । विविधताको आफ्नै अस्तित्व छ । त्यसलाई निषेध गर्न मिल्दैन । यो तेस्रो धारणा हो ।
अब क्वाण्टम सिद्धान्तको परिणाम हेरिसकेपछि हामी कम्युनिस्ट कहाँ उभिने त ? अर्थात् यसका अगाडि हाम्रो स्थान कहाँ हो ? चेकोस्लाभाकियाका एकजना कम्युनिस्ट समाजशास्त्री राडोवाल रिक्टाले आफ्नो ग्रन्थ ‘सिभिलाइजेसन अफ दी क्रसरोड’ मा नयाँ युगमा यो सभ्यता चौबाटोमा उभिएको छ र यसलाई कता जने भन्ने थाहा छैन भनेर लेखेका थिए । विज्ञान–प्रविधिको विकासले पुँजीवादी र समाजवादीहरुको अन्तिम लक्ष्य चक्नाचुर भएको थियो भन्ने उनको बुझाइ थियो । त्यो पूर्णग्रन्थ हामीले पाउँदैनौं तर अंशमा हामी गुगलमा हेर्न सक्छौं । त्यस्तै हामी क्वाण्टम सिद्धान्तको अगाडि क्रसरोडमा छौं । यसको तात्पर्य, बाटो एउटै मात्र छ भने बाटो थाहा नभए पनि हामी कतै त पुगिएला नि भनेर हिडिरहन्छौं । तर, चौबाटो परेपछि बाटो थाहा छैन भने हामी एक पाइलो पनि सार्न सक्दैनौं । हामी कम्युनिस्टहरु पनि चौबाटोमा छौं । अब के गर्ने भन्नेबारे हामी सबैले सोच्नुपर्ने समय आएको छ । यसमा कसैले एउटा धारणा राख्नसक्छ तर त्यो पूर्ण हुँदैन । किनभने हामी सबै चौबाटोमा छौं । चौबाटो हुनेहरुले एक–अर्कालाई सोधेर मार्गप्रस्त हुँदैन । त्यसकारण हरेकले आफ्नो धारणा बनाउन आवश्यक छ । यो नयाँ धारणा बनाउने सबैको साझा जिम्मेवारी हो । तसर्थ यहाँ मेरो आफ्नो धारणाबारे केही कुरा प्रस्तुत गर्दछु ।
अब यो क्वाण्टम सिद्धान्तको आधारमा हामीले के गर्ने ? भन्ने सन्दर्भमा दुईवटा काम गर्न सक्दछौं ।
पहिलो, सूक्ष्म जगतको बोध र नियान्त्रणबाट जुन परिणाम आएको छ, त्यसलाई उपयोग गर्ने । मानव समाजमा देखा परेका समस्याहरुको समाधान गर्न अर्थात् समाजवादी व्यवस्था निर्माण गर्न यी विशाल उपलब्धिहरुको उपयोग गर्ने । त्यसैको उपयोग गरेर पुँजीवाद अगाडि बढेको छ । त्यसकारण जतिसक्दो धेरै यी उपलब्धिहरुको उपयोग गर्ने । यो एउटा विकल्प हो ।
अर्को, हाम्रो पुरानो धारणा जे छ, यो बदल्नुपर्छ । हाम्रो कार्य–कारणसम्बन्धी धारणा छ, इतिहास निश्चित बाटो भएर अगाडि बढ्छ भन्ने सूत्र छ र यो सूत्रमा हामी यति विश्वस्त छौं कि त्यसको विकल्पै खोज्दैनौं । कतै असफलता भइयो भने हामी त्यसको समस्या धारणामा होइन, प्राविधिक पक्षमा खोज्छौं । एउटा नेताले गद्दारी गर्यो, सिद्धान्तलाई कडाइका साथ लागु गरिएन, इत्यादिमा खोज्छौं । तर वास्तविकता त्यो होइन । क्वाण्टम सिद्धान्तले देखाएको के हो भने इतिहास सरल रेखीय बाटोमा होइन, सम्भाव्यतामा चल्दछ । हाम्रो सूत्र छ– आदिम साम्यवादबाट दास व्यवस्था आयो, दास व्यवस्थाबाट सामन्तवाद आयो र सामन्तवादबाट पुँजीवाद हुँदै अब वैज्ञानिक समाजवाद आउँछ । यो निश्चित छ । यो हाम्रो धारणा हो । तर क्वाण्टम सिद्धान्तअनुसार यो सम्भाव्यतामा आएको हो । क्वाण्टम सिद्धान्तमा बहुइतिहासको धारणा छ । आदिम साम्यवाद हुँदै वैज्ञानिक साम्यवादसम्म अनिवार्य आउनुपर्छ बन्ने कुनै बाध्यता छैन । इतिहासका थुप्रै बाटाहरुमध्ये यो एउटा बाटो हो । त्यसो हुन्थ्यो भने मानिसका केही समूह अहिले पनि कबिला समाजमै हुने थिएनन् । केही वर्षअघि ब्राजिलको एउटा जंगलमा आदिम समाजमै रहेका मानिसको समुदाय फेला परेको थियो । यदि सरल रेखीय बाटोबाट इतिहास अनिवार्य अगाडि बढ्थ्यो भने तिनीहरु आदिम समाजमै रहने थिएन । त्यसकारण हामीले सरल रेखीय धारणामा टाँसिएर बस्नु आवश्यक छैन । विकल्प हुन सक्छ ।
पुँजीवादपछि समाजवाद र साम्यवाद नै आउँछ भन्ने ग्यारेन्टी छैन । यो एउटा विकल्प हो । यो एउटा सम्भाव्यता हो । त्यसो भए हामीले अथवा माक्र्सवादले वैज्ञानिक समाजवाद किन भनेको त ? एउटा त त्यस्तो परिवेश निर्माण हुनु हो । अर्को पुँजीवादले सिर्जना गरेको समस्याको समाधान समाजवाद गएपछि हल हुन्छ भनेर हो । यदि समाजवाद÷साम्यावाद विना पनि अर्को ढंगबाट मानज जातिको समस्या समाधान हुन्छ भने, हाम्रो लक्ष्य पुरा हुन्छ भने त्यता किन नजाने ? माक्र्सवादकै अनुसार पनि समाजवाद र साम्यवाद अन्तिम व्यवस्था होइन, त्यसपछि अरु व्यवस्था पनि आउँछ । डार्विनको सिद्धान्त अनुसार मानव जाति उच्चतम हो, अन्तिम होइन । यो पछि के आउँछ भन्ने हामीलाई थाहा छैन, तर आउँछ । त्यसकारण हाम्रो एकरेखीय धारणा बदल्नुपर्दछ । संभावनाहरु अनेक हुन्छन् । जुन संभावना बढी हुन्छ, त्यसलाई अवलम्बन गर्नुपर्छ । त्यसकारण एकल रेखीयको स्थानमा बहुरेखीय धारणा बनाउन आवश्यक छ । इतिहासमा अहिलेसम्म घटेका घटनाहरु अनेकौं सम्भावनाहरुबाट छनोट हुँदै आएका हुन् । तर हामीलाई इतिहासको गति नै यही हो भन्ने लागेको छ । त्यसकारण पहिला हामी यो जड धारणाबाट मुक्त हुनुपर्छ । त्यसपछि मात्र हामीले विकल्प खोज्न सक्दछौं ।
अद्वैतवादी धारणा अनुसार आदर्शवादी धाराले चेतनालाई प्रमुख र पदार्थ गौण मानेको छ, भौतिकवादी धाराले जडलाई प्रमुख र चेतनालाई गौण माने छ । तर त्यो दुबै धारणा लगत हो । जड र चेतना वास्तवमा पदार्थकै दुई रुप हुन् । पदार्थ यही हो भनेर निर्धारण गर्न सकिंदैन । माक्र्सको समयमा परमाणुलाई अन्तिम भनिएको थियो । त्यो टुक्रिएर इलेक्ट्रोन, न्युट्रोन र प्रोटोनमा विभाजित भयो । इलेक्ट्रोन अन्तिम हो त ? होइन । त्यो पनि क्वार्कहरुमा विभाजित भयो । क्वार्क अन्तिम हो त ? होइन । त्इो पनि शक्तिमा रुपान्तरण हुन्छ । शक्ति अन्तिम हो त भन्दा शक्ति क्वार्कका रुपान्तराण् हुन्छ । त्यसो हुँदा पदार्थका अनेक रुपमहरुमध्ये कुनलाई आधारभूत मान्ने ? समष्टिलाई पदार्थ मान्ने हो भने पनि त्यो अमूर्त हुन्छ । कुनै एकलाई आधारभूत मान्न सकिंदैन । सबै आफ्नो ठाउँमा आधारभूत छ । सबैको भूमिका बराबर छ । परमाणु अहिले पनि छ, त्यो खारेज भएको छैन । अणुले निर्वाह गर्ने भूमिका परमाणुुले गर्न सक्दैन । परमाणुले निर्वाह गर्ने भूमिका इलेक्ट्रोन, न्युट्रोन र प्रोटोनले निर्वाह गर्न सक्दैन ।
क्वाण्ट सिद्धान्तको कण–तरंग द्वैतताको नियमले पदार्थका सम्पूर्ण रुपहरुलाई आधारभूत मान्दछ । क्वाण्टम सिद्धान्तको खोजपछि अब कुनै पनि कुरा अन्तिम छैन । द्वन्द्ववादले पनि अमूर्त रुपमा अन्तिम भन्ने चिज केही पनि छैन भनेकै थियो । तर, क्वाण्टम सिद्धान्तको आगमनपछि त्यो कुरालाई मूर्त रुपमा भन्न सकियो । सिद्धान्तहरु पनि अन्तिम होइनन् । अनिश्चितताको सिद्धान्तअनसार कुनै चिज निश्चित छैन, सम्भाव्यता मात्र छ । हामीलाई युक्लिडको ज्यामिति इक्ज्याक्ट हो भन्ने लाग्छ । त्रिभुजका तीनवटा कोणको योग १८० डिग्रीको हुन्छ । त्यो निश्चित छ । हामीले पढ्दै आएको कुरा त्यही हो । तर १९०० पछि अयुक्लिडिय ज्यामिति आयो, त्यसले त्रिभुजको तीनवटा कोणको योग १८० डिग्री वा त्योभन्दा कम या बढी पनि हुनसक्छ । नेगेटिभ कर्भ भयो भने १८० डिग्री भन्दा कम हुन्छ । पोजेटिभ कर्भ भयो भने १८० डिग्रीभन्दा बढी हुन्छ । समतल भयो भने १८० डिग्री हुन्छ । त्यसकारण त्रिभुतको तीन कोणको योगफल कति हुन्छ भन्ने कुरा स्थानको स्वरुपले निर्धारण गर्दछ । यो तथ्यले क्युल्डिको ज्यामितीय सिद्धान्त निरपेक्ष छैन भन्ने प्रमाणित गर्छ । युक्लिडको ज्यामितिको सिद्धान्तले दुई हजार वर्ष शासन गरेको थियो । इ.पू. ३०० यसमा सुरु भएको यो ज्यामितिले १९ औं शताब्दीसम्म निरपेक्ष रुपमा मान्यता पायो । तर १९ औं शताब्दीपछि नयाँ ज्यामिति आउँछ र त्यसको निपेक्ष सत्ता समाप्त हुन्छ । गणितमा ज्यामितिको सिद्धान्तलाई निश्चित मानिन्छ तर अब त्यसको पनि अनेक भेराइटी आएका छन् । त्यसकारण अब सम्पूर्ण सिद्धान्तहरु लगभगमात्र हुन् । एकजना विज्ञानका दार्शनिक कार्ल पोपरले भनेका छन्– ‘विज्ञानको एउटा विशेषता गलत सावित हुनसक्नु हो ।’ यदि विज्ञान गलत सावित हुन तयार हुँदैन भने त्यो विज्ञान होइन, धर्मशास्त्र हो । त्यो अधिभूतवादी दर्शन हो । विज्ञान हुनका लागि गलभग (aproximate) हुनुपर्छ । त्यसकारण त्यो गलत सावित हुनसक्छ । धर्म र अधिभूतवादी दर्शनसँग गलत सावित हुनसक्ने क्षमता छैन । त्यसकारण तिनीहरु जहाँको त्यही छन् तर विज्ञान बदलिएर कहाँ पुगिसक्यो ।
हामीले अहिलेसम्म विज्ञान र दर्शनमध्ये विज्ञानलाई सत्य मान्दै आएका छौं । त्यसकारण विज्ञानले ल्याएका धारणलाई मान्न किन तयार नहुने ? कि आइन्स्टाइनले भनेजस्तो ईश्वरले जुवा खेल्दैनन् भनेर बस्ने ? वास्तविकतामा यो संसार नै जुवाजस्तो छ । हामी जुवाडे हौं । जुवाको खालमा बस्नेले कि हार्छ कि जित्छ । च्याँखे थाप्नेले जित्दैनन् पनि हार्दैनन् पनि । यहाँ च्याँखे थाप्ने मानिसहरु पनि छन् र जुुवाको दाउमा वस्ने मानिसहरु पनि छन् । जित र हार दुवै स्वीकार गर्ने साहस बोकेर दाउमा बस्नेले जित्छ पनि हार्छ पनि । जित मात्रै स्वीकार गर्न सक्नेले जम्मा च्याँखे थाप्ने हो । च्याँखे थाप्नु भन्नुको अर्थ कुनै पनि सिद्धान्तलाई निरपेक्ष मान्नु हो । तर, क्वाण्टम सिद्धान्तलाई स्वीकार गर्ने हो भने जुवाको खालमा बस्नुपर्छ, च्याँखे थापेर हुँदैन । यदि योभन्दा प्रगति नचाहने हो भनेच्याँखे थापेर पनि काम चलाउन सकिन्छ । स्यालको जिन्दगी जिउन सकिन्छ । स्यालले जहिले पनि अरुले गरेको सिकार खान्छ तर आफै सिकार गर्न सक्दैन । तर बाघले अरुले गरेको सिकार खादैन । त्यसैले बाघ र स्यालमा फरक छ । स्यालले चाही च्याँखे थाप्छ र बाघले जुवा खेल्छ । त्यसकारण हामीले पनि क्वाण्टक सिद्धान्तको आधारमा धारणा बनाउन तयार हुनुपर्छ । किनभने वास्तविक जगत जहिले पनि संभावना मै चल्छ । हामीले संभाव्यतालाई स्वीकार गर्नुपर्छ । त्यसरी मात्रै हामीले यथास्थितिवादी चिन्तनलाई परित्याग गर्न सक्दछौं ।