फ्रेडरिक एंगेल्स (१८२०–१८९५) सर्वहारा वर्गका नेता तथा शिक्षक, कार्ल मार्क्ससँग मिलेर मार्क्सवादी विचार, वैज्ञानिक साम्यवादको सिद्धान्त, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको दर्शनको सिर्जना गरे । आफ्नाे युवावस्थादेखि नै एंगेल्सले विद्यमान सामाजिक सम्बन्धहरुलाई रुपान्तरित गर्ने संघर्षमा भाग लिने प्रयास गरे ।
एंगेल्स युवा हेगेलवादीहरुको वामपक्षमा सामेल भए र उनले शेलिंंगका प्रतिक्रियावादी–रहस्यवादी विचारहरुको तीव्र तथा गहन आलोचना गरे (’शेलिंग र इलहाम‘, १८४२, तथा अन्य कृति) । साथसाथै उनले हेगेलका रुढिवादी निष्कर्षहरु तथा उनको आदर्शवादी द्वन्द्ववादमा रहेका अन्तर्विरोधहरुको आलोचना गरे । एंगेल्सका विचारहरुमा त्यस बेला आमूल परिवर्तन भयो, जब उनी त्यस बेलाको सबभन्दा विकसित पूँजीवादी देश इंग्ल्याण्डको मजदूर वर्गको जीवनको सम्पर्कमा आए । उनले सर्वहाराहरुको असह्य आर्थिक अवस्था, उनीहरुको राजनीतिक अधिकारहीनतामाथि गहन विचार गरे, ती त्रुटिहरुको अध्ययन गरे, जुन चार्टिस्ट आन्दोलनले आफ्नो विचारधारा तथा पूँजीपतिहरुद्वारा सत्ताको स्वेच्छाले परित्यागसम्बन्धी आफ्नो काल्पनिक विचारहरुमा प्रदर्शित गरेको थियो । यो अध्ययनको परिणाम यी कृतिहरु थिए: ’राजनीतिक अर्थशास्त्रको रुपरेखॉ (१८४४), जसलाई कार्ल मार्क्सले आर्थिक प्रवर्गहरुको समीक्षामा एउटा भव्य योगदान भनेका थिए, तथा ’इंग्ल्याण्डमा मजदूर वर्गको अवस्थॉ (१८४५) । यी कृतिहरुमा एंगेल्सले सर्वहारा वर्गको ऐतिहासिक कार्यभारको सैद्धान्तिक जग राखेका थिए, यो प्रदर्शित गरेका थिए कि सर्वहारा केवल दुःख–कष्ट झेलिरहेको वर्ग मात्र होइन, बरु आफ्नो मुक्तिको लागि लडिरहेको वर्ग पनि हो ।
इंग्ल्याण्डमा एंगेल्स समाजवादी बने । शीघ्र नै उनी इंग्ल्याण्डबाट हिँडे र १८४४ मा पेरिसमा उनको भेट कार्ल माक्र्ससँग भयो । यो भेट दुई महान चिन्तकहरुको प्रगाढ मित्रताको शुरुवात थियो, जसको जगमा उनीहरुको समान विचार तथा पूँजीवादी दासताबाट सर्वहारा वर्गको मुक्तिको लागि व्यावहारिक संघर्ष थियो । १८४४–४६ मा उनीहरुले मिलेर ’पवित्र परिवार‘ तथा ’जर्मन विचारधारॉ शीर्षक कृतिहरुको रचना गरे, जसमा हेगेल, फायरबाख तथा उनका अनुयायीहरुका त्यस बेला प्रभुत्वशाली दार्शनिक विचारहरुको आलोचनात्मक ढंगले पुनव्र्याख्या गरियो र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको जग राखियो । १८४७ मा एंगेल्सले कम्युनिष्ट लीगको कार्यक्रमको मस्यौदा ’साम्यवादको सिद्धान्त‘ को रचना गरे । त्यसको आधारमा पछि गएर कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सद्वारा ’कम्युनिष्ट पार्टीको घोषणापत्र‘ (१८४८) लेखियो, जसमा माक्र्सवादको सम्पूर्ण शिक्षा, मजदूर वर्गको वैज्ञानिक विचारधाराको घोषणा गरियो । जर्मनीमा १८४८–४९ का घटनाहरुमा एंगेल्सले युद्धशिक्षा प्राप्त गरे, जब उनले क्रान्तिकारी सैनिकहरुको तर्फबाट लडे । त्यसपछिका वर्षहरुमा आप्mनो प्रवासकालमा एंगेल्सले ’जर्मनीमा किसान युद्ध‘ र ’जर्मनीमा क्रान्ति तथा प्रतिक्रान्ति‘ शीर्षक कृतिहरुमा जर्मन क्रान्तिको अनुभवको सामान्यीकरण गरे, सर्वहारा वर्गको मित्रको रुपमा किसान समुदायको भूमिका उद्घाटित गरे र बुर्जुवा वर्गको गद्दारीको भण्डाफोर गरे ।
इंग्ल्याण्ड फर्केपछि, जहाँ कार्ल माक्र्स पनि बसेका थिए, एंगेल्सले मजदूर आन्दोलनमा, प्रथम कम्युनिष्ट अन्तर्राष्ट्रियको स्थापनामा, निम्नपूँजीवादी अवसरवादी तथा अराजकतावादी विचारहरुको विरुद्ध संघर्षमा सक्रिय भाग लिए । उनले कार्ल माक्र्सलाई ’पूँजी‘ को रचनामा सबै ढंगबाट साहयता गरे र आप्mनो महान मित्रको देहावसानपछि यो कृतिका दोस्रो तथा तेस्रो खण्डहरुको उनी स्वयंले सम्पादन तथा प्रकाशन गरे । यो प्रक्रियामा उनले धेरै अनुसन्धानात्मक कार्य गरे । एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको दर्शनको व्यापक पुष्टिको काम जारी राखे । माक्र्सवादी दर्शनमा उनको योगदान विशाल छ । ’लुडविग फायरबाख र शास्त्रीय जमर्न दर्शनको अन्त‘, ’ड्यूहरिंग मत–खण्डन‘, ’परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति‘, आदि कृतिहरु माक्र्सवादी दर्शनको सार र महत्वको शास्त्रीय प्रस्तुतीकरण हुन् । एंगेल्सले द्वन्द्वात्मक भौतिकवादका विचारहरुलाई प्राकृतिक विज्ञानहरुमा लागू गरेर विशेष रुपले ठूलो काम गरे । उनका विचारहरुको गहनता कैयौं दशकहरुपछि मात्र अनुभव गरियो (उदाहरणको लागि, पदार्थ तथा गतिको अविभाज्यता तथा यससँग सम्बन्धित स्थान र समयको एकतासम्बन्धी शिक्षा, पदार्थका रुपहरुको अनन्त विविधता र परमाणुहरुको जटिल संरचना, अजैविक प्रकृतिको कुनै एउटा चरणमा पदार्थको गतिको एउटा रुपको अवस्थामा उत्पन्न जीवनसम्बन्धी विचार, आदि) । उनको सर्वतोमुखी ज्ञानले उनको लागि पदार्थको गतिका वस्तुगत रुपहरुलाई विज्ञानहरुको विभाजनको आधार बनाएर विज्ञानहरुको वर्गीकरणको सामान्जस्यपूर्ण प्रणालीको विस्तार गर्न संभव बनायो ।
एंगेल्सले विज्ञानहरुको अनुपयुक्त भूमिकालाई दर्शनमाथि थोपर्न स्पष्ट रुपले अस्वीकार गरे र अध्ययनविधि, विश्वदृष्टिकोणको रुपमा त्यसको महत्वमाथि जोड दिए । उनले दर्शनशास्त्रलाई अतीतका असंख्य धाराहरु र प्रणालीहरुको बीचमा दिशानिर्धारणको कम्पास प्रदान गरे, दर्शनको आधारभूत प्रश्न निरुपित गरे र त्यसको वर्गीय स्वरुप उद्घाटित गरे । ज्ञानको सिद्धान्तको विकासमा उनको योगदान र अज्ञेयवादको उनीद्वारा आलोचनाको असीमित महत्व छ । द्वन्द्वात्मक तर्कशास्त्रका कैयौं प्रश्नहरुको उनीद्वारा निरुपण तथा विस्तारको दीर्घकालीन महत्व छ । ऐतिहासिक भौतिकवादका आधारभूत प्रस्थापनाहरुको विकास गर्दा एंगेल्सले इतिहासको भौतिकवादी धारणाका भद्दा धारणाहरुको आलोचनातिर धेरै ध्यान दिए । उनले के सिद्ध गरे भने, मानिसहरुको जीवनका आर्थिक अवस्थाहरुको निर्णायक भूमिकाले विचारहरु, चिन्तनको भूमिका र साथसाथै इतिहासमा व्यक्तिको भूमिकालाई बिल्कुलै घटाउँदैन । उनले आर्थिक आधार र उच्च संरचनाको बीचका सम्बन्धहरु तथा पारस्परिक क्रियाको बारेमा यान्त्रिक विचारहरुको विरोध गरे । एंगेल्सले रुसको क्रान्तिकारी आन्दोलनमा गहिरो रुचि लिइरहे, उनले आसन्न रुसी क्रान्तिको भविष्यवाणी गरेका थिए र त्यसमाथि ठूलो आशा गरेका थिए । उनले आप्mनो जीवनको अन्तिम घडीसम्म यूरोपेली देशहरुको राजनीतिक जीवनमा भाग लिइरहे । उनी माक्र्ससँगै मजदूर आन्दोलनका सर्वमान्य नेता थिए ।