२०६७ फागुन २० गते देह त्यागेका नेता भट्टराईले सादगी र निष्ठावान नेताको छाप छाडेका छन् । तिनै सादगी नेताको मृत्युपछि भने विराटनगरमा भवन बन्दैछ। सन्तनेताको सम्झनामा विराटनरगको कञ्चनबारीमा ६ तल्ले भव्य महल निर्माण भइरहेको हो।
विराटनगर महानगरपालिका -४ कञ्चनबारी चोकबाट पश्चिम बस्ताखोला किनारमा सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले भवन निर्माण गरिरहेको हो । फाउन्डेशनका अध्यक्ष कांग्रेस नेता रमेशजंग रायमाझी हुन्।
रायमाझीका अनुसार नयाँ पुस्तालाई कृष्णप्रसाद भट्टराईको योगदान पढाउने उद्देश्यले भवन निर्माण गरिएको हो । भवनमा हल, म्युजियम र गेष्टहाउस रहनेछन् ।
‘हिजो योगदान गरेकाहरुको नाममा इतिहास लेखिएका छन्, प्रतिष्ठान बनेका छन्, हामीले सन्तनेताको योगदानलाई जीवित राख्नका लागि काम गरिरहेका छौं,’उनले भने,‘ यहाँ सन्तनेताले प्रयोग गर्नु भएको सामग्री म्युजिएम बनाएर राख्छौं ।
उनका अनुसार सन्तनेताका बारेमा तयार पारिएको डकुमेन्ट्री पनि भवनमा देखाइनेछ । यो भवन २०८२ को फागुनमा उद्घाटन गर्ने योजना रहेको रायमाझीले बताए । करिब १ बिघा क्षेत्रफलमा निर्माण भइरहेको प्रतिष्ठानको सम्पूर्ण काम सकिंदा १५ करोड हाराहारी खर्च हुने उनले बताए ।
‘अहिले लगभग ७ करोडजति खर्च भइसकेको होला, ६ तलाको छत ढलाइ भइसक्यो, फिनिसिङ हुँदैछ,’ उनले भने,‘सरकारी लगत अनुसार हो भने ३५ करोड हाराहारी लाग्ला, तर हामी १५ करोडभित्र निर्माण सक्छौं।’
यो संरचना निर्माणका लागि प्रदेश र संघीय सरकारले वार्षिक रुपमा बजेट विनियोजन गरिरहेका छन् । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले १ करोड र संघीय सरकारले करिब ३ करोड विनियोजन गरेको उनले बताए ।
सन्तनेता भट्टराईको आज १०१औं जन्मजयन्ती हो। विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट बाहिरिंदा एउटा ट्याङ्का, सुराही र छाता लिएर डेरामा फर्किएका थिए ।