क्यानाडाको क्यालगरी महानगरपालिकाको प्रांगणमा ‘नेपाल दिवस’ मनाइएको छ। अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजकत्व र स्थानीय सामुदायिक संस्थाहरू एनसीएससी, सीएनसीए एवं गैरआवासीय नेपाली संघ क्यानडासमेत मुख्य आयोजक र क्यालगरीस्थित अन्य स्थानीय संस्थाहरूले कार्यक्रमको संयुक्त आयोजना गरेका हुन्।
च्याम्बरका अध्यक्ष समीर पाण्डेले च्याम्बरले सबैसँग समन्वय गरेर यो कार्यक्रम आयोजना गरेको बताए। एनसीएससीका अध्यक्ष प्रकाश बस्याल र सीएनसीएका तर्फबाट विनोद केसीले नेपाल दिवसको शुभकामना दिए। गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष माधव दुलालले मन्तव्य राखेका थिए। कार्यक्रममा अल्बर्टा प्रान्तका इमिग्रेसन तथा मल्टिकल्चरल मन्त्री मोहम्मद यासिन, वडा नं ५ काउन्सिलर राज धालिवाल तथा अल्बर्टा सरकार प्रमुखका प्रतिनिधि ह्याप्पी मानले नेपाल दिवसको शुभकामना दिएका थिए।