May 15, 2025, Thursday
२०८२ जेष्ठ २

नेपालकै प्रतिष्ठत बूढानीलकण्ठ स्कुलमा ११९ जनालाई छात्रवृत्तिमा आवेदन खुल्यो, मासिक ५० हजारभन्दा बढी आम्दानी हुने अयोग्य !

२०८१ फाल्गुन ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

525

 

नेपालको सबैभन्दा प्रतिष्ठित स्कुल बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रम अन्तर्गको विद्यालयहरूमा आवासीय सुविधासहित छात्रवृत्तिमा अध्ययन गर्न आवेदन खुलेको छ। बूढानीलकण्ठ स्कुलमा ४२ जना अरू साझेदारी स्कुलहरूमा ७७ जनालाई कक्षा पाँचदेखि छात्रवृत्तिमा पढाउनका लागि आवेदन खुला गरिएको हो। बुढानीलकण्ठमा ४२ जनामध्ये पचास प्रतिशत छात्रा रहनेछन्। त्यस्तै लोपोन्मुख जातजातिबाट ४ जना, मुस्लिमबाट १ जना, मधेसीबाट ४ जना, जनजातिबाट ५ जना र पिछडिएको क्षेत्रबाट २ जना छानिनेछन्। कार्यन्वयन कुति हुन्छ त्यो त खोज्दै जाँदा थाहा होला तर मासिक ५० हजार वा सोभन्दा बढी आय हुने अभिभावक वा नेपाल सरकारको उपसचिव वा सोसरह र सोभन्दा माथिको पदमा कार्यरत कर्मचारीका छोराछोरी छात्रवृत्ति छनोट परीक्षामा सहभागी हुन नसक्ने पनि सूचनामा उल्लेख छ।

खुला र आरक्षण गरी एक जिल्लाबाट एक जनाभन्दा बढी नहुनेगरी ४० जना विद्यार्थी परीक्षाबाट छनोट हुने सूचनामा उल्लेख छ। दुई जना भने विद्यालय रहेको बूढानीलकण्ठ नगरपालिकाकाबाट छनोट गरिनेछ। दुई जनामा एक छात्र र एक छात्रा छनोट हुनेछन्। त्यस्तै साझेदारी कार्यक्रम अन्तर्गतका साझेदारी स्कुलमा ७७ जनालाई छात्रवृत्ति दिइनेछ।
धनकुटाको शीतलादेवी माध्यमिक विद्यालय, सर्लाहीको नवजीवन माध्यमिक विद्यालय, काठमाडौंको कुलेश्वर आवास माध्यमिक विद्यालय, कास्कीको जनता माध्यमिक विद्यालय र कैलालीको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय साझेदारी कार्यक्रमा सहभागी छन्। ती विद्यालयहरूमा छात्रवृत्तिमा पढ्नका लागि २६ जना छात्रा, दलिततर्फ ५ जना, मुस्लिमतर्फ ६ जना, जनजातितर्फ ९ जना, सहिद तथा द्वन्द्वपीडित परिवारका सन्तति र वैदेशिक रोजगारका क्रममा मृत्यु भएका परिवारबाट १ जना छनोट हुनेछन्। परीक्षामा सहभागी हुनका लागि चैत २७ गतेसम्म फाराम बुझाउनुपर्नेछ। फारामको दस्तुर एक सय रूपैयाँ तोकिएको छ। छात्रवृत्ति छनोट परीक्षाका लागि विभिन्न जिल्लाका २६ विद्यालय तोकिएको छ।

बुढानीलकण्ठ स्कुलमा पारदर्शी र निस्पक्षको जति सुकै कुरा गरे पनि पछिल्ला दिनहरुमा पावर भएकाहरुले मात्रै पढ्न पाउँछन भन्ने मान बन्दै गएको आरोप लगाउनेहरु पनि प्रशस्त भेटिन्छन ।