मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि उनलाई नयाँ दरबन्दी सिर्जना गरेर योजना आयोगमा सरुवा गरी प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो। बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवकै नियुक्ति दिएको हो।
नेपालको निजामती सेवाको इतिहासमा मुख्यसचिव बन्ने उनी पहिलो महिला हुन्। ५८ वर्षे उमेरहदले गड्तौला १५ भदौमा सेवानिवृत्त हुनेछिन्।
नेपालको निजामती प्रशासनमा २६ जना मुख्यसचिव बनिसके, तर एक जना पनि महिलाले यो अवसर पाएका थिएनन् । २६ पुस २०५२ मा शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेकी गड्तौला ३ कात्तिक २०६३ मा उपसचिव बनेकी थिइन् ।
उनले न्याय सेवामा कानुन अधिकृतमा एक नम्बरमै नाम निकालेकी थिइन् । उपसचिवमा प्रतिस्पर्धा गर्न पाइनन्, फाइल बढुवाबाट उपसचिव बनिन् । सहसचिवको प्रतिस्पर्धामा भने उनले एक पटक फेल भएपनि दोस्रोपटक नाम निकाल्न सफल भइन् । ‘त्यतिबेला फेल भए पनि आज त्यसैकारण उपहार पाएँ’, मुख्यसचिव गड्तौलाले बिहीबार एक सार्वजनिक कार्यक्रममा भनिन् ।