अमेरिकाका ३० भन्दा बढी राज्यका ६ करोडभन्दा बढी मानिसहरूलाई प्रत्यक्ष असर पार्ने गरी १० बर्ष यताकै सबैभन्दा ठूलो हिउँ आँधी आउने भएपछि सजकता अपनाउन स्थानीय सरकारहरुले सचेत गराएको छ । त्यसबाट बच्न सबैलाई सरकारद्धारा जारी सुचना अनुसार यात्रा गर्न वा काममा जान भनिएको छ ।
आर्कटिकबाट आएको पोलर भर्टेक्सले मध्य अमेरिकामा कठ्यांग्रिने चिसो मौसम ल्याएको छ । यससँगै चरम मौसमीय अवस्था देखा परेको छ । उडान र सडक प्रभावितः हजारौँ उडानहरू ढिलो भएका वा रद्द गरिएका छन् । धेरै सडक बन्द भएका छन् र सयौ विद्यालयहरू पनि बन्द गरिएका छन् । कान्सास र मिसौरीमा हिउँको आँधीले “ह्वाइटआउट कन्डिसन“ (पुरै हिउँले ढाकिने अवस्था) ल्याउने अनुमान गरिएको छ । यी राज्यहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, अर्कन्सास, र न्यु जर्सीका केही भागहरूमा पनि आपतकालीन स्थिति घोषणा गरिएको छ ।
मौसम सोमवारदेखि सुधार हुन थाल्ने अपेक्षा गरिएको छ । अमेरिकाको पूर्वी तटले हिउँदे आँधीका लागि तयारी गरिरहेको छ । आईतबार वाशिंगटन डीसीमा हिउँ पर्न थालेको छैन तर स्थिति रातभर “धेरै, धेरै खराब“ हुने अपेक्षा गरिएको छ । वाशिंगटन डीसीसँगै बाल्टिमोरजस्ता पूर्वी तटीय मुख्य शहरहरूमा पनि आगामी २४ देखि ४८ घण्टाभित्र आँधीको गम्भीर प्रभाव पर्ने सम्भावना छ । आँधीको सबैभन्दा खराब असर कान्सासजस्ता राज्यहरूमा पर्नेछ । मध्यपश्चिममा “ह्वाइटआउट“ को चेतावनी दिइएको छ, जहाँ भीषण हिउँ र तीव्र हावाको संयोजनले ब्लिजार्डको अवस्था सिर्जना गर्नेछ । भोलि वाशिंगटन डीसीमा राष्ट्रपति चुनाव परिणाम प्रमाणीकरणको कार्यक्रम छ । अधिकारीहरूले पूर्वानुमान गरिएको खराब मौसमका बाबजुद यो कार्यक्रम कुनै हालतमा हुने प्रतिबद्धता जनाएका छन् ।