गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावमा दुई जना नेपालीले निःशुल्क एमबिबिएस पढ्न पाउने भएको छ।
थाइल्याण्डमा जारी गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज सम्मेलनमा एसियन इन्टरनेसनल युर्निभर्सिटीमा एमबिबिएस अध्ययनका लागि दुई जना नेपालीलाई अवसर पाउने समझदारी पत्रमा हस्ताक्षर भएको हो।
संघका तर्फबाट अध्यक्ष डा. बद्री केसीले र युर्निभसिर्टीका तर्फबाट रेक्टर एसएस देखकानोयले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
यस सम्बन्धि सम्पूर्ण प्रक्रियामा एनसिसी किर्गिस्तानका अध्यक्ष किसान भण्डारीले विशेष भूमिका निर्वाह गरेका थिए। उनकै पहलमा एनआरएनए र युर्निभसिटीबीच सम्झौता भएको हो। त्यस्तै, पाल्पाकी ओजस्वी आचार्यलाई एनआरएनए ब्रान्ड एम्बसेडर घोषणा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले विदेशमा बस्ने हरेकले नेपालको वास्तविक राजदूतको भूमिका निर्वाह गरिरहेको बताए। नेपालले एकता र सहमतिको वातावरण निर्माण गर्न अपरिहार्य रहेको उनले बताए।
‘बिपी कोइरालाज्यूको विचारलाई साभार गर्छु, उहाँ भन्नुहुन्थ्यो विदेशमा रहेका हरेक नेपाली अनौपचारिक राजदूत हुन्, वास्तवमै हो महामहिमज्यूहरू त औपचारिक मात्रै हुनुहुन्छ जुन क्षणिक हो। तर तपाईं एनआरएनहरू वास्तविक र स्थायी राजदूत भएर काम गरिरहनुभएको छ,’ उनले भने, ‘लोकतन्त्रलाई अगाडि बढाउने गतिमा देश बाहिर भित्र जे भए पनि त्यो प्रतिस्पर्धाभित्र एकता, सहमति, परिवर्तन र सुधार र अग्रगमनको यात्राको गतिमा कमी आउन दिनुहुन्न। यही भावना तपाईं एनआरएनभित्र पनि हुनु जरुरी छ। अहिले जे जस्तो अवस्था छ, त्यसबाट छुट्कारा पाउन पनि प्रतिस्पर्धालाई होइन एकता र सहमतिलाई प्राथमितामा राख्नु जरुरी छ।’