शक्तिशाली समुद्री आँधी बेरिल अमेरिकाको टेक्सस राज्यको मेटागोर्डा नजिकैको तटमा पुगेको छ । आधी बेरिलले ल्याएको हावाहुरी र भारी वर्षाका कारण अमेरिकाको टेक्सस राज्यको ह्युस्टन क्षेत्रका १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । समुद्री आँधी बेरिलका कारण ह्युष्टनको जर्जबुस इन्टरकन्टिनेन्टल विमानस्थलबाट हुने ८० प्रतिशतभन्दा बढी उडान रद्द भएका छन् ।
यस्तै विलियम पीहबी विमानस्थल र कोर्पस क्रिस्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान पनि रद्द भएका छन् । टेक्ससका उपराज्यपालले स्थानीय बासिन्दालाई आँधीलाई कम नआँक्न र सर्तकता अपनाउन चेतावनी दिएका छन् । एटलान्टिक महासागरमा उत्पन्न समुद्री आँधी बेरिल गत साता क्यारेबियन टापुहरुमा ठोक्किएको थियो भने यसले अहिलेसम्म नौ जनाको ज्यान लिइसकेको छ । सुरुमा क्याटगोरी ५ को यो समुद्री आँधीको बल भने तुलनात्मक रुपमा कमजोर भइसकेको र क्याटगोरी १ को श्रेणीमा झरिसकेको जनाइएको छ । टेक्सासमा धेरै नेपाली बसोबास गर्ने राज्य हो तर पनि हालसम्म नेपालीको अवस्था सामान्य रहेको छ ।