February 8, 2025, Saturday
२०८१ माघ २६

नाटक ‘हिटलर आउँदै छ’ अगष्ट २३ मा अमेरिकामा मन्चन हुने

२०८१ श्रावण २१
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

875

निर्देशक विमल सुवेदीको नाटक ‘हिटलर आउँदै छ’ अमेरिकामा मञ्चन हुने भएको छ। निर्देशक सुवेदीको निर्देशन र जोयश पाण्डेको लेखन रहेको ‘हिटलर आउँदैछ’ नाटक आगामी अगस्टको २३ तारिखमा अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा मञ्चन हुन लागेको जानकारी नाटक युनिटले दिएको हो।

‘हिटलर आउँदैछ’ नाटकबाट अभिनेत्री वर्षा राउतले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन्। सो नाटकमा निर्देशक सुवेदीसहित अभिनेत्री राउत र लेखक पाण्डेको पनि मुख्य भूमिका रहनेछ। यसैगरी भुटनिज कम्युनिटी एसोसिएसनका अध्यक्ष मनोरथ खनालले विमल सुवेदी र जोयश पाण्डेको कला क्षेत्रप्रतिको समर्पण देखेर यो कामका लागि आग्रह गरेको बताए।

कार्यक्रममा विमल सुवेदीले अमेरिकामा नाटक गर्न पाउनु आफ्ना लागि ऐतिहासिक क्षण भएको बताए। उनले भुटानबाट राजनीतिक रूपमा बलपूर्वक निष्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरूको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको बताए । नाटक ‘हिटलर आउँदैछ’ले मा नेपालीभाषी भुटानी, नेपाली डायस्पोराको मात्र नभएर युवा पुस्ता तथा तिनका समस्यालाई पनि समेटिएको निर्देशक विमल सुवेदीले बताए।

‘म हाम्रो कला साहित्यलाई विश्व बजारमा फैलाउनुपर्छ भन्ने सिद्धान्तको हिमायती हुँ,’ उनले भने, ‘यही सिद्धान्तबाट प्रेरित भएर हामीले विश्वका धेरै देशमा नेपाली नाटक मञ्चन गरिसकेका छौं। यही क्रमको निरन्तरताको रूपमा अमेरिकामा नाटक गर्न पाउनुलाई हामीले अवसरको रूपमा लिएका छौँ। यसलाई कोसेढुंगा बनाउन कुनै कसर छाड्ने छैनौं ।’ उनले आफूसँग २० भन्दा बढी देशमा नाटक मञ्चनको अनुभव रहेको बताए।

नाटकमा नेपाल, भुटान तथा अमेरिकालागयत विभिन्न देशको कलाकार तथा टेक्निकल विशेषज्ञहरू जोडिएका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ। हाल रिहर्सल चलिरहेको सो नाटकमा अभिनय गर्नलाई आफू उत्सुक रहेको अभिनेत्री राउतले भनिन्।