लामो समयदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा रहेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपालीको पहिचान खुल्ने परिचयपत्र दिने गृहकार्य सरकारले थालेको छ । गैरआवासीय नेपालीको परिभाषाभित्र नअटाएका नेपाली मूलका विदेशी नागरिकका लागि बेग्लै परिचयपत्र दिन खोजिएको हो । त्यसका लागि गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ लाई संशोधन गर्नेबारे कानुन मन्त्रालयले छलफल अघि बढाएको छ ।
गैरआवासीय नेपालीका लागि भने सीमित अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ दिने कानुन छ । कानुनमन्त्री अजयकुमार चौरसियाका अनुसार पुस्तौंदेखि विभिन्न मुलुकमा बस्दै आएका नेपाली मूलका विदेशीलाई परिचयपत्र दिने गृहकार्य थालिएको हो । थाइल्यान्ड, मलेसिया, म्यानमार फिजीलगायतका मुलुकमा पुस्तौंपुस्ता बसोबास गर्दै आएका नेपालीभाषीले यस्तो परिचयपत्रको माग गर्दै आएका छन् ।
कानुनमन्त्री अजयकुमार चौरसिया भन्छन्, ‘पुस्तौंदेखि सार्कबाहेकका मुलुकमा बस्दै आएका नेपाली, जसले ती मुलुकमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै आएका छन्, उनीहरूले राख्दै आएको मागबारे सकारात्मक छलफल अघि बढेको छ । उहाँहरूले नेपाली मूलको हुँ भन्ने परिचय माग्दै आउनुभएको छ, त्यस्तो परिचयपत्र दिन आवश्यक पर्ने कानुनी प्रावधानबारे काम भइरहेको छ ।’
गैरआवासीय नेपालीसम्बन्धी ऐनले कम्तीमा तीन पुस्ताअघि नेपाली नागरिक रही विदेशिएका सार्क मुलुकबाहेकमा परिवारलाई मात्र नेपाली मूलको विदेशी नागरिक मानेको छ । उनीहरूका लागि सरकारले परिचयपत्र दिन सक्ने प्रावधान छ । त्यस्तै, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी उनीहरूले गैरआवासीय नेपाली नागरिकता पाउने व्यवस्था नागरिकता ऐनमा छ ।