नेपाली दूतावास फ्रान्सको टोलीले बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ ।
गत अगस्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन दिएका आवेदकहरूको तयार भएको राहदानी वितरण गर्न शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ ।
शिविरमा राहदानी लिने नेपालीको भीड लागेको छ । बिहीबार पहिलो दिन एक सय ४७ वटा ई–पासपोर्ट वितरण गरिएको टोलीले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीको सहजताका लागि लिस्बनमै आएर राहदानी वितरण सुरु गरिएको राजदूत भट्टराईले बताए । छ दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट दुई हजार पाँच सय ५४ वटा ई–पासपोर्ट वितरण गरिने तयारी छ ।