संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै सिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट ४११ जना लाभान्वित भएका छन् ।
अमेरिकास्थित राजदूतावासले नेपाली संलग्न स्थानीय सङ्घसंस्थासँगको समन्वयमा सञ्चालन गरेको तीनदिने शिविरमा राहदानी सेवा प्रवाह गरिएको थियो । सरकारको निर्देशनअनुसार समयसमयमा दूतावासले विभिन्न राज्यमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ ।
यसबाट धेरै नेपालीलाई घण्टौँको हवाई यात्रा गरेर वासिङ्टन पुग्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताउँदै स्थानीयले नेपाल दुतावासप्रति कृतज्ञता व्यक्त गरेका छन ।