January 15, 2025, Wednesday
२०८१ माघ ३

हमासद्धारा अपहरित विपिन जोशी जीवित रहेको खुलासा !

२०८१ मंसिर २१
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

560

 

इजरायलका लागि नेपालका नवनियुक्त राजदूत श्मुलिक एरी बासले हमास लडाकुहरूले अपहरणगरिएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन्। राजधानीमा पत्रकारहरूसँगको छलफलमा राजदूत बासले अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको जानकारी दिएको बताएका हुन । ‘अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको बताएका छन् तर, उहाँलाई कहाँ राखिएको छ र अहिले उहाँ कुन अवस्थामामा हुनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन,’ उनले दावी गरे । ‘हामी उहाँ चाँडै नेपाल फर्कनुहुने आशा गर्छौं। उहाँ अपहरणमा परेका कैयौँ व्यक्तिहरूमध्ये रिहा हुनेमध्ये एक हुनुहुनेछ भन्ने विश्वास छ।’

राजदूतावासका अनुसार हमास लडाकुहरूको कब्जामा १०० भन्दा बढी इजरायली र विदेशी नागरिक अझै पनि बन्धक छन्। ‘म जोशीको परिवार र अन्य व्यक्तिहरूले उहाँको बारेमा कस्तो महसुस गरिरहनुभएको छ भनेर बुझ्न सक्छु। विपिन जोशी धेरै महत्त्वपूर्ण हुनुहुन्छ। तर, हामीले बुझ्नुपर्छ, विपिनजस्ता अरू पनि धेरै छन्,’ उनले भने । सन् २०२३ अक्टोबर ७ मा नोभा म्युजिक फेस्टिभलमा सहभागी सबैलाई र वरपरका क्षेत्रमा बस्नेहरूमाथि हमास लडाकुहरूले आक्रमण गर्दा इजरायलमा ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत रहेका १० नेपाली विद्यार्थीको क्रुर हत्या भएको थियो। ११औं विद्यार्थी विपिन जोशीलाई हमासले अपहरण गरेका थिए।

राजदूतावासका अनुसार इजरायली सरकारले मारिएका ती नेपाली विद्यार्थीका परिवारलाई इजरायली नागरिकका परिवारले जस्तै आर्थिक सहयोग उपलब्ध गराइरहेको छ। साथै, उनले नेपालका विद्यार्थीहरू फेरि इजरायलको ‘अर्न एन्ड लर्न’ कार्यक्रममा सहभागी हुने आशा पनि व्यक्त गरे। नेपालले हालको युद्ध अवस्थालाई ध्यानमा राख्दै कृषि विद्यार्थीलाई उक्त कार्यक्रमअन्तर्गत इजरायल पठाउन रोकेको छ। तर, मलावी, कङ्गो र थाइल्यान्डका विद्यार्थीहरूले उक्त कार्यक्रमअन्तर्गत इजरायल फर्कन सुरु गरिसकेको जानकारी दिँदै राजदूतले भने, ‘इजरायली कृषिकर्ताहरू नेपाली विद्यार्थीहरूलाई फिर्ता ल्याउन चाहन्छन्, जहाँ उनीहरूले सिक्न र कमाउन सकुन्। यो कार्यक्रम चाँडै शररु गरी नेपालीले लाभ लिन सक्ने बताए ।