January 15, 2025, Wednesday
२०८१ माघ ३

अमेरिका किन संधै सुपरपावर भइरह्यो ?

२०८१ पुष १५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

135

अच्यूत कोईराला
सन् २०२४ मा औषत अमेरिकी श्रमिकले लगभग एक लाख ७१ हजार डलर बराबरको आर्थिक उपार्जन गरे। त्यस्तै युरोपका श्रमिकले भने एक लाख २० हजार मात्र आर्थिक उपार्जन गरे। बेलायती र जापानीले क्रमशः एक लाख १८ हजार र ९६ हजार डलर आर्थिक उपार्जन गरे।

कहाँको अमेरिकाको एक लाख ७१ हजार डलर, कहाँको अन्य मुलुक ! आर्थिक उपार्जनका दृष्टिले यो एउटा ठूलो खाडल हो। पछिल्ला दशकहरूमा त यो झन् फराकिलो हुँदै जान थालेको छ। सन् १९९० यता अमेरिकी श्रम उत्पादकत्व ७० प्रतिशतले वृद्धि भएको छ। बेलायत ४६ प्रतिशत, युरोपेली संघ २९ प्रतिशत र जापान २५ प्रतिशतको उत्पादकत्वभन्दा माथि जान सकेका छैनन्।

अमेरिकी उत्पादकत्व र अन्य मुलुकको उत्पादकत्वमा यति धेरै फरक किन छ ? अहिले विश्लेषणयोग्य विषय बन्न पुगेको छ। रोचक त के छ भने अमेरिकी श्रमिकहरू अन्य विकसित मुलुकको तुलनामा बढी नै बिदा बस्छन्। बढी मिहिनेत, बढी समय दिँदा पनि अमेरिकी श्रमिकको तुलनामा अन्य देशका श्रमिकले आफ्नो उत्पादकत्व बढाउन किन सकिरहेका छैनन् भन्ने चिन्तन युरोपेली मुलुकहरूले गर्न थालेका छन्।

कतिसम्म भने सन् २००८–२००९ को विश्वव्यापी आर्थिक संकटपछि त अमेरिकी उत्पादकत्व बेलायत र युरोपेली संघको तुलनामा ३० प्रतिशतले बढ्न पुगेको छ। सरदर अमेरिकी श्रमिकले सन् २०२४ मा प्रतिघण्टा औषत उत्पादन लगभग ९४ डलर गरे।

यस्तैगरी तुलना गर्ने हो भने बेलायत र युरोपेली संघमा ७९ डलर हुन पुग्छ। उता जापानीहरूले ५८ डलर मात्र उत्पादन गरे। यसो हेर्दा यो उत्पादकत्वको खाडल उति धेरै वा ठूलो हो जस्तो लाग्दैन तर लगातार यही गतिमा कुनै देशको श्रमिकले रकम कमाउन थाल्यो वा उत्पादकत्व बढाउन थाल्यो भने पछिल्ला दशकमा पर्याप्त उच्च आर्थिक वृद्धि गर्न सक्छ।

खासगरी सन् १९९० को दशकमा सुरु भएको सूचना तथा सञ्चार क्रान्तिले अमेरिकालाई अन्य मुलुकको तुलनामा बढी सशक्त बनाएको छ र त्यही रफ्तारमा उत्पादकत्व बढाएको छ। यसका बाबजुद पनि इलन मस्कजस्ता व्यवसायीहरू अमेरिकी श्रमिकबाट उति खुसी छैनन् किनभने कामदारले पर्याप्त मिहिनेत नगरेको आरोप उनले लगाइरहेका हुन्छन्।

अमेरिकाले यति धेरै उत्पादकत्व बढाउनुको अर्थ जिडिपी बढाएको हो ? पक्कै पनि होइन। किनभने अमेरिकाले आफ्नो जिडिपी जनसंख्याका कारण बढाउन सक्तैन। चीन र भारतको बढ्दो जनसंख्याका कारण अमेरिकाले जिडिपी बढाउन लगभग असम्भव देखिएको छ। यसैगरी खरिदशक्तिको समानतालाई आधार बनाउने हो भने सन् १९९० मा विश्व अर्थतन्त्रको हिस्सामा अमेरिकाको भाग २५ प्रतिशत थियो भने तीन दशकमा घटेर १६ प्रतिशतमा घटेको छ।

यसैगरी जी सेभेनका राष्ट्रहरूको जिडिपीमा सारा मुलुक एकातिर अमेरिका अर्कोतिर हुँदा ५० प्रतिशत डिजिपी अमेरिकाको थियो। अहिले घटेर २५ प्रतिशतमा झरेको छ। यसका बाबजुद पनि उसले आफ्नो अर्थतन्त्रलाई पश्चिमा अन्य मुलुकको तुलनामा निरन्तर सुधार गरिरहेको छ। अर्कोतर्फ अमेरिकाले सन् २०२० को सुरुबाट जी सेभेनका देशहरूभन्दा तीन गुणा बढी आर्थिक वृद्धि गरेको दाबी विश्लेषक सिमोन विल्सनको छ।

उसो भए के कारणले यो आर्थिक वृद्धि सम्भव भयो त? विश्लेषकहरू भन्छन्, यसका पछाडि अमेरिकाको सस्तो ऊर्जा र पुँजी लगानी नै हो। अमेरिकाले बाहिरबाट ठूलो लगानी आकर्षित गरिरहेको छ। लगातार ३० वर्षदेखि बाहिरी देशको लगानी अमेरिकाले भित्र्याउनु आकर्षक कुरा हो। यो जिडिपीको १७ प्रतिशत हो र युरोपको तुलनामा निकै बढी हो।

अर्को कुरा, नयाँ कुराको अनुसन्धानमा संसारमा सबैभन्दा बढी इजरायल र दक्षिण कोरियाले लगानी गर्छन्। इजरायलले आफ्नो जिडिपीको ५.७३ प्रतिशत र दक्षिण कोरियाले ५.२२ प्रतिशत खर्चने गर्छ। अमेरिका यस मामिलामा तेस्रो छ। उसले आफ्नो जिडीपीको ३.५ प्रतिशत आरएन्डडी (अनुसन्धान तथा विकास) मा खर्चने गरेको छ। यस्तो खर्चका कारण अमेरिकाको व्यापार गतिशीलता पनि बढी छ।

अमेरिकामा कुनै नयाँ कम्पनी सुरु भए भने २० प्रतिशत सफल हुने सम्भावना हुन्छ। यसको अर्थ त्यहाँ स्टार्टअप सुरु गरेका ८० प्रतिशत कम्पनीहरू असफल हुन्छन्। सफल भएका बाँकी २० स्टार्टअपमध्ये आधा विभिन्न कारणले बन्द हुन्छन्। बाँकी रहेका १० प्रतिशत कम्पनीले उनीहरूलाई संसारकै अग्रपंक्तिमा उभ्याइदिन्छन्।

उता युरोपमा हरेक वर्ष सुरु भएका कम्पनीहरूमध्ये जसोतसो चलिरहेका कम्पनीको प्रतिशत १५ मात्र छ। यस हिसाबले पाँच प्रतिशतले अमेरिका अगाडि छ। अनि अमेरिकामा स्टार्टअपले पर्याप्त लगानीकर्ता फेला पार्छन् जबकि राम्रो सम्भावना भएका अन्य देशका कम्पनीले लगानी पाउने सम्भावना निकै कम हुन्छ। त्यसैले हरकोही अमेरिकामा स्टार्टअप सुरु गर्न चाहन्छन्। यही लोभले धेरैजसो युरोपेली कम्पनीहरू पनि अमेरिका बसाइँ सर्ने वा उताको लगानी आकर्षित गर्न उद्यत हुने गरेका छन्।

एउटा अध्ययनअनुसार २००५ मा युरोपका पाँच ठूलो पेटेन्ट जारी गर्ने कम्पनीहरूमध्ये चार (बोश, एरिक्सन, फिलिप्स र बिएएसएफ २०२४ मा पनि शीर्ष पाँचमा थिए। अमेरिकामा भने माइक्रोसफ्ट, एप्पल, गुगल र आइबिएम सबैभन्दा बढी पेटेन्ट जारी गर्ने विशेष समूहमा सामेल भएका छन्। यसको अर्थ हो, प्राविधिक क्षेत्रमा अमेरिकी प्रभुत्व बढी छ। अन्य उद्यमको तुलनामा अमेरिकाले प्रविधिगत उद्यमबाट राम्रो आम्दानी गरिरहेको बुझ्न सकिन्छ।

यसैगरी श्रम बजारको कथा फेरि बेग्लै छ। तीन महिनामा लगभग पाँच प्रतिशत अमेरिकी श्रमिकले जागिर परिवर्तन गर्छन्, जबकि इटालीमा यस्तै स्तरको चरण एक वर्षको हुन्छ। जति बढी जागिर छोडुवा हुन्छन्, त्यस्तो अस्थिरतामा अझ बढी उत्पादक हुन सक्छ। जागिर परिवर्तन गरिरहने श्रमिकले स्थायीको तुलनामा उच्च तलब पाउने गर्छन्।

कसैले जागिर छाडेर अन्य ठाउँमा सहजै काम पाइरहेका छन् भने उनीहरूको प्रतिभाको राम्रो उपयोग भइरहेको भन्ने पनि बुझिन्छ। यस्तो लचिलोपन र श्रमको मथाइले श्रमिक, उद्यमी र लगानीकर्तालाई थप उत्पादक क्षेत्रतर्फ अघि बढाउँछ तर जब कारखानाजन्य उत्पादकत्वको कुरा आउँछ, अमेरिकामा त्यो विकास लगभग ठप्प छ।

कोरोना भाइरसले ल्याएको महामारीले श्रमिकहरूलाई एउटा विशाल पुनः संरचना गर्‍यो। यो पुनः संरचनाले श्रमिकहरूलाई नयाँ अवसर दिलायो। उनीहरूले बढी कमाउने र बढी योगदान गर्ने अवसर प्रदान गर्‍यो। बढी लचिलो श्रम बजारले यस प्रक्रियालाई अमेरिकामा अन्य प्रमुख अर्थतन्त्रहरू भन्दा सजिलो बनायो।

अमेरिकी सरकारले पनि कोभिडका बेला लिएको आर्थिक नीति र सिधा श्रमिकलाई सहयोग गर्ने नीतिले पनि उत्तिकै भूमिका निर्वाह गर्‍यो। यसले कामहरूलाई भन्दा पनि कामदारलाई समर्थन गर्‍यो। बेरोजगारी दर त्यो बेला उच्च त भयो तर आक्रामक आय पनि भयो। यो नीतिले छोटो अवधिमा अर्थतन्त्र र श्रम उत्पादकत्वलाई संरक्षण गर्‍यो।

त्यसो भए के अमेरिकी नीति युरोप र संसारका अन्य ठाउँमा पनि लागु गर्न सकिन्छ ? यसमा भने मन्थन नगरी यसै हो भन्न सकिँदैन। किनभने कुनै पनि मुलुकको विकासमा त्यो देशको सामाजिक मोडेल, लागु गरिएको दीर्घकालीन समृद्धिका नीतिनियममा भर पर्छ। असल नीति र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्दा त्यसले उत्पादकत्व खाडललाई कम गर्न सघाउँछ।

प्रविधिमा अमेरिकी शक्तिले उसलाई अन्यको तुलनामा निकै फरक रूपमा उभ्याउँछ। त्यसो त अमेरिकी विकास मोडललाई अर्को कोणबाट हेर्ने हो भने प्रविधिका क्षेत्रबाहेक अन्य उद्यममा गएका २० वर्षमा युरोपेली संघको उत्पादकत्व अमेरिकी स्तर बराबर नै हुन्छ। युरोपको एउटै मात्र फस्टाएको क्षेत्रले युरोपका सबै समस्या समाधान गर्न कठिन हुन्छ।

युरोपको आर्थिक वृद्धि रोकिनुमा रुसको युक्रेनमाथिको आक्रमण रहेको केहीको विश्लेषण छ। सो युद्धमा युरोपले ऊर्जाक्षेत्रमा ठूलो झट्का महसुस गर्नुपर्‍यो। एकातिर ‘क्यापिटल इकोनमिक्स’को असर र अर्कोतिर युरोपको संरचनात्मक कारकहरूले पनि युरोपको वृद्धि रोकिरहेको विश्लेषण विज्ञहरूले गरिरहेका छन्।

मूलतः युरोपको जनसांख्यिकीय प्रवृत्तिहरूले त्यहाँ वित्तीय कमजोरी र राजनीतिक अस्थिरता उत्पन्न गर्दैछन्। युरोपको नियन्त्रणात्मक नियामकहरूका कारण लगानीको वातावरण अनुकूल बनाउन नसकेको अमेरिकी विश्लेषकहरू बताउँछन्।

त्यस्तो प्रतिकूलताले नयाँ व्यवसाय सिर्जना गर्नेदेखि उत्पादकत्व वृद्धि गर्ने प्रविधि अपनाउने अनुकूल नीतिनियमहरूको अभाव छ। यसपछि सबैभन्दा ठूलो समस्या चाहिँ युरोपको उत्पादकत्व बढाउने वास्तविक वित्तीय संस्थाहरूको अभाव पनि छ। यहाँको बैंकिङ र पुँजी बजारले लामो समयदेखि भोगिरहेको सुस्तताको समाधान हुन सके मात्र युरोपले अमेरिकाको बराबरी आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना रहन्छ।

(एजेन्सीहरूको सहयोगमा) from Nagariknews.com