नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो ।
रावलले पछिल्लो पटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाएका थिए । यसपछि गत ४ कात्तिकमा एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा।बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाए पनि रावलले कुनै जवाफ दिएका थिएनन् । तर सचिवालय बैठकले स्पष्टीकरण पत्र लेख्ने पाण्डे र तिमल्सेनालाई पनि ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
‘स्पष्टीकरण उहाँहरुले दिनु त भयो, तर उहाँहरुले यसरी पार्टीको विधि भन्दा बाहिर गएर सार्वजनिक रुपमा बोल्नु उचित भएन भन्ने कुराको रियलाइजेसन देखिएन भन्दै कारबाही गरिएको जनाएको छ ।