Newyork Time 02:51 pm
November 11, 2024, Monday
२०८१ कार्तिक २७

चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै एमाले अध्यक्ष ओली

२०८१ असार ३१
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

420

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्। शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहितका नेताले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दाबी पेश गरेका थिए।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै काग्रेस–एमालेले १६६ जना सांसदको समर्थनसहितको दाबी प्रस्तुत गरेका थिए।

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन्। त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए। योसँगै सानो आकारको मन्त्री परिषद् गठन हुने एमालेले बताएको छ।

सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीका साथ कांग्रेस र एमाले मन्त्रालय भागबन्डा र मन्त्रीहरूको छनोटमा जोडतोडले लागेका छन् ।

साथै, मधेशकेन्द्रित पाँच दल जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी (नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई पनि सोमबार नै सरकारमा सहभागी गराउने गरी कांग्रेस र एमालेबीच समझदारी भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डामा करिव–करिब समझदारी बनिसकेको बताए । कुल २१ मन्त्रालयमध्ये सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले ९ मन्त्रालय लिने मोटामोटी समझदारी बनेको हो । बाँकी चार मन्त्रालय मधेशकेन्द्रित दललाई छुट्याइएको छ । जनमतलाई संघीय सरकारमा समेत सामेल गराइने भएमा उसलाई एमालेको भागको एक मन्त्रालय दिने समझदारी बनेको बताइएको छ । एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल करिब निश्चित भएको एक पदाधिकारीले बताए ।