राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि लामिछानेलाई निलम्बन गर्ने पत्र पुगेको छ। यदि यसो हुँदा चितवन २ मा फेरी पनि निर्वाचन हुने पक्का छ । यदि फेरी निर्वाचन भएमा एकै निर्वाचन क्षेत्रमा यो तेश्रो पटक निर्वाचन हुनेछ । जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत पठाएको निलम्बनसम्बन्धी पत्र आइतबार अपरान्ह आइपुगेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताएका छन । ‘जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत् पठाएको पत्र आइपुगेको छ’, उनले भने, ‘हामी त्यसलाई कानुनबमोजिम प्रक्रियामा लैजान्छौँ।’
जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै सांसद पदबाट निलम्बनका लागि पत्र आइपुगेको हो ।लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पुगेसँगै सांसद पद स्वतस् निलम्बनमा पर्ने सम्भावना बढेको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा अघि बढाइसकेको छ । अब उनलाई थुनामा पठाउनेर नपठाउनेबारे अदालतले थुनछेक बहस गर्ने छ र निर्णय सुनाउने छ ।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुन्छ । यस्तोमा प्रहरीले उक्त ऐनअनुसार नै निलम्बनका लागि संसद् सचिवालयमा पत्र पठाएको हो । सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ निवारण ऐन, २०६४ संशोधनसहितको दफा २७ ले सार्वजनिक ओहोदामा रहेको व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएमा पदबाट स्वतस् निलम्बन हुने स्पष्ट लेखिएको छ । यसबमोजिम मुद्दा दर्ता हुनासाथ चितवन क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित भइसकेका लामिछानेविको सांसद पद निलम्बन पक्रिया थालिएको हो ।
‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नलागेसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा ब्याख्यासहित भनिएको छ । रास्वपाको पार्टी सभापतिको कामको जिम्मेवारी कसले लिने र रास्वपा संसदीय दलको नेताको जिम्मेवारी कसको हुने भन्ने विषयमा चासो पनि बढेको छ ।
रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की लामिछानेको सांसद पद निलम्बनमा पर्न सक्ने वा निलम्बनमा परेता पनि सांसद पद नै खारेज भएको रुपमा बुझ्न नहुने बताउँछन् । उनी भन्छन्, ‘निलम्बनमा पर्नु भनेको पद खाली हुनु होइन । यसकारण संसदीय दलको नेता के हुन्छ भन्ने प्रश्न छैन ।’
तथापि, दलको नेता नै निलम्बनमा रहँदा संसदीय दलको बैठक बस्नु पर्दा के गर्ने भन्ने कल्पना रास्वपाको विधानले गरेको छ । हाल रास्वपाको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गराएपछि रास्वपा नेताहरू पोखरा पुगेका छन् । उनीहरु रविको निमन्त्रणामा पोखरा पुगेका हुन् ।
पार्टी उपसभापति डिपी अर्याल, नेता शिशिर खनाल, विराजभक्त श्रेष्ठ लगायतका नेता पोखरा पुगेका हुन् । उपसभापति स्वर्णिम वाग्लेले भने शनिबार नै रविलाई भेटेर आज विरगञ्ज पुगेका छन् । केही नेताहरु आइतबार बिहान नै पोखरा पुगेका थिए ।