Newyork Time 09:21 am
July 18, 2024, Thursday
२०८१ श्रावण ३

रविको पार्टीबाट यसरी बनाऔँ राष्ट्रिय स्वतन्त्र पार्टी

२०८१ असार २२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

165

डा मुकुल ढकाल

आदरणीय केन्द्रीय समिति सदस्यहरू,

प्रिय सभापति ज्यू

पार्टी सचिवालयको निर्णयपश्चात, देशको ३८ वटा जिल्लाको माटो छोई, समीक्षा यात्रा गरी पार्टी महामन्त्रीको रूपमा मैले तयार पारेको समीक्षा प्रतिवेदन तपाईँहरूमाझ पेस भइसकेको छ। यो प्रतिवेदनमा मैले के देखेँ र मलाई जनताले के भने भन्ने कुरा नै छन्। यहाँ जनताका कुरा जस्ताको तस्तै समेटने प्रयास गरेको छु र यसलाई जनताको आवाजभन्दा अन्यथा व्याख्या गर्न पुगिए पार्टीगतरूपमा त्यो सबैभन्दा ठूलो भूल हुनेछ, जनताको मतप्रति, सत्य वचनप्रति अन्याय हुनेछ।

साथीहरु, प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मैले सञ्चार माध्यममा प्रतिवेदनका बारेमा र प्रतिवेदनको थोरै अंश सञ्चार माध्यमबाट पनि प्रेषित गरेँ। केन्द्रीय अनुशासन आयोगले सोही विषयमा केन्द्रित रही मलाई २०८१/०३/१४ मा स्पष्टीकरणसमेत सोधेको छ। यस विषयमा मैले केन्द्रीय समितिमा आफ्ना केही धारणाहरू राख्न चाहेँ।

१) पार्टीको विधानको धारा २४ उपधारा ३ (३) ले पार्टी महामन्त्रीको अधिकार तोकेको छ। विधानअनुसार पार्टी महामन्त्रीलाई पार्टीका आयोगहरूलाई निर्देशन दिने अधिकार छ। निर्देशन दिने निकायलाई स्पष्टीकरण सोध्न मिल्दैन भन्ने मेरो सामान्य बुझाइ हो।

२) पार्टीको केन्द्रीय समितिले पारित गरेको “केन्द्रीय अनुशासन आयोगको नियमावली २०८०” को नियम ६.२.३ मा केन्द्रीय अनुशासन आयोगको अधिकार क्षेत्र किटान गरिएको छ, जसमा भनिएको छ, “महामन्त्रीउपर कारबाहीमा प्रस्तावित रायसहितको सिफारिस सभापतिमार्फत केन्द्रीय समितिमा पेस गर्ने।” मेरो बुझाइमा र आयोगका अधिवक्ताहरूले पनि नियमावली निर्माणको क्रममा, यति लेखेपछि “सभापतिको अनुमतिबिना कुनै कारवाहि सुरू गर्न सक्दैन”

भन्नुभएको थियो। पत्रको बोधार्थमा सभापति समेतलाई राखिएकाले सभापतिको अनुमतिमा भएको हो कि भन्ने शङ्का लाग्यो तर सभापतिले फोन सम्पर्कमा त्यसरी स्पष्टीकरण नसोधिएको बताउनुभयो।

३) सोही नियमावलीको नियम ३.३ ले अनुशासन आयोगका पदाधिकारीहरूले पालना गर्नुपर्ने आचरण सम्बन्धमा व्यवस्था गरेको छ, जसअनुसार आयोगले अनुशासनात्मक कारवाही प्रक्रियासम्बन्धमा सार्वजनिक बहस वा टिप्पणी गर्न नहुने उल्लेख छ। प्रतिवेदनलाई आन्तरिकरूपमा छलफल नगरी मिडियाबाजी गरेको भनी मलाई आयोगले स्पष्टीकरण सोध्यो। तर मलाई सोधिएको स्पष्टीकरणका बारेमा आयोग आफैले मिडियाबाजी गर्यो, जुन द्वेध चरित्र मात्र देखिएन, नियमावलीविपरीत पनि छ।

४) नियमावलीको ३.२ बमोजिम आयोगका प्रमुखले महामन्त्रीमार्फत राजीनामा पेस गर्नुपर्ने लेखिएको छ र आयोगका अन्य पदाधिकारीले प्रमुखसमक्ष राजीनामा पेस गर्नुपर्नेछ। तर मैले विविध मिडिया र पार्टीका संयन्त्र एवं केही केन्द्रीय सदस्यबाट आयोगका पदाधिकारी एवं सदस्यहरूले सभापतिसमक्ष राजीनामा पेस गरेका छन् भनेर सुनेँ। नियमावलीविपरीत पेस गरिएको राजीनामाको अर्थ भयो वा भएन, बहसको विषय होला, तर राजीनामा स्वीकृत नभएकाले आयोगले सक्रियता देखाएको हुन सक्छ। महामन्त्रीलाई राजीनामा नबुझाएकाले मैले यसमा थप टिप्पणी गर्न मिलेन तर सबैको जानकारीका लागि पेस गरेँ।

५) केन्द्रीय अनुशासन आयोगलाई २०८१ वैशाख २७ गते अभिव्यक्ति स्वतन्त्रताका बारेमा राय उपलब्ध गराइदिन पत्र (पसं ०८०/८१ चनं १३२) लेखेको थिएँ। अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी दुविधा देखिन थालेकाले पार्टीले अवलम्बन गर्नुपर्ने नीतिका लागि आयोगसँग राय मागेका थिए। पत्रमार्फत मात्र हुँदैन भनी सोचेर आयोगका कावा प्रमुखसँग फोन सम्पर्क गरी अब बाहिर के बोल्न पाउने, के नपाउने निर्धारण गरेर कडाइका साथ जानुपर्छ भनेको थिएँ। पार्टीको विधानले यसअनुरूप सम्पर्क गर्नु महामन्त्रीको कर्तव्य र अधिकारका रूपमा व्याख्या गरेको छ।

६) पार्टीको जलेश्वर बैठकले हामो पार्टीलाई बहुलवादी लोकतान्त्रिक पार्टी भनेकाले पार्टीले आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता दिएको छ भन्ने मेरो सामान्य बुझाइ छ।

७) पार्टीमा कुन कुरा बाहिर राख्न मिल्छ र कुन मिल्दैन भन्ने कुरा निर्धारण गर्न मैले आयोगलाई पत्र लेखेँ, जवाफ आएन। मैले मभन्दा माथिका नेतालाई हेरेँ, उनीहरूले बोलेकै देखें। मैले पार्टीका अन्य साथीहरूलाई हेरेँ, उनीहरूले बोलेकै देखेँ। अनि मैले सोचेँ, बोल्न पाइन्छ र त्यहीअनुसार बोलेको हुँ।

८) बाहिर बोल्नु हुँदैनथ्यो भन्ने कुरामा म अझै अलमलमा छु। साथीहरूले “महामन्त्रीले मिडियामा बोल्नु गलत हो” भनेर मिडियामा नै भनिदिए। अर्को दलका नेतालाई पनि ०.०१% सदस्यको मात्र साथ छ भनेर भनिएको मिडियाबाट पढेँ। बोल्न नपाउने नियम महामन्त्रीलाई मात्र हो कि अरूलाई पनि? साथीहरूले, कसैले एक केन्द्रीय सदस्य भएर, कसैले एक नेता भएर टिप्पणीहरू दिनु नै भयो। सायद मैले पनि, त्यसरी नै दिनुपर्थ्यो, डाइरेक्ट मैले दिएको भनेर नभन्नुपर्थ्यो कि?

साथीहरू, मिडियाबाट मेरो व्यक्तिगत चरित्रमाथि पनि प्रहार भए। जनताले साथ दिनुभयो तर व्यक्तिगत तवरमै आक्रमण हुँदा पनि कसैले साथ दिनुभएको सुनिनँ। ठीकै छ। समानुपातिक सासंदलाई लिएर प्रश्न उठाइएको रहेछ। म स्मरण गराउन चाहन्छु, यहाँहरू सम्पूर्णमा असोज ३ गते नै निर्वाचन आयोगलाई हामीले बन्दसूची बुझाएका थियौँ र चुनाव मंसिर ४ मा भएको थियो। समानुपातिक सासंद छनोट पनि मंसिरताका नै भएको थियो। जसले आरोप लगाउनुभयो, उहाँको असोजमा नै बुझाइएको बन्दसूची क्रम संख्या १५ थियो र अन्य जसलाई आरोप लगाउनुभयो, उहाँहरू २ र १२ मा। समानुपातिक सासंद सिफारिस गर्दा केन्द्रीय समिति सदस्य महेश्वर घिमिरेले दिएको प्रतिवेदनमा आधारित रहेर गरिएको थियो वा थिएन? २ र १२ जान्छ कि १५?  एकपटक फेरि विचार गरौं।

उहाँले आरोप लगाउनुभयो :

१) गुरुआमालाई लिएर आयो। पार्टीमा परिवारवाद निषेध हो, अब महामन्त्रीको लागि परिवारवाद भनेको गुरुआमा, गुरुबा, साथीहरू, चिनेजानेको सबै पर्छन् भनिदिनुपर्‍यो। २ नं मा सिफारिस हुँदा किन नभनेको? अनि आउँदा पनि को आएको छ? विचार त गरौँ। ४ दशक लामो स्वास्थ्य क्षेत्रमा कार्यरत, प्राध्याक, डाक्टर, गन्ती नै गर्ने हो भने देशका उत्कष्ट १००० महिलामा पर्ने व्यक्तित्व हुनुहुन्छ। जान्नेलाई छान्ने पार्टीमा यति जान्ने मान्छे ल्यायौँ, उहाँलाई अघि बढाउँ भन्नुपर्छ कि १५ मा बसेर पनि २ को साटो आफू जान पाउनपर्थ्यो भन्दै बस्ने? किन यति सारो रडाको? त्यो पनि समानुपातिक तर्फको निर्वाचन, त्यो पनि खस आर्य समुदायमा? प्रत्यक्षका लागि लडौँ।

२) गर्ल्फ्रेन्डको कुरा। मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ। तर निर्णय गरिदेओस्। जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस्। देश निर्माण र देश निर्माणका लागि पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागि जीवन नै समर्पण गरेको छु। गर्लफ्रेन्डको कुरा गरेर, मलाई त केही हैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो। “म जान पाइनँ, एक जना नारी जाने मेरो साटो?” भनेर रडाको मच्चाउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा?

मेरो जीवनको विवाह बाहेकका पनि बाँकी सबै कुरा पार्टीले निर्धारण गरिदेओस्। पार्टीका केही नेता भन्नुहुन्छ, सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढ्नुपर्छ। जसले नियम बनाउँछ, नेताको छोराछोरीले पर्छ कि पर्दैन? मैले बिहा गरेँ र मेरो छोराखोरी जन्मिए भने मैले आफ्नो इच्छाअनुसार गर्ने हो वा पार्टीको नीतिअनुसार। पार्टीको नीति अरूका लागि मात्र बन्ने हो कि आफ्ना लागि पनि? नेताहरू सरकारी अस्पतालमा उपचार गराउनुपर्ने हो कि होइन?

आफ्नो इच्छाअनुसार गर्ने हो वा नीतिअनुसार गर्ने हो? नीति बनाएपछि पालना गर्न तयार छौँ? नेताको आचरण निर्धारण गरी पालना गर्न सबैजना तयार हुन्छन् भने खुसी हुन्छु। नत्र पनि मेरा लागि मात्र भए पनि नीति बनाइयोस्। देश छोडेर जा, देशको हित हुन्छ भन्नुहुन्छ भने पनि गइदिन्छु। राजनीति छोड् देशको हित हुन्छ भने पनि छोडिदिन्छु। देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईँहरू भनिदिनुहोस्।

म सार्वजनिक प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। २०८९ को चुनावमा त्यतिबेलाको आवश्यकता अनुसार निर्णय गरौँला, तर त्यतिबेलासम्म सांसद, मन्त्री वा कुनै पनि प्रकारको सरकारी लाभको पदमा बस्दिनँ, वा नियुक्ति लिन्नँ। पार्टी सरकारमा जाँदा पनि व्यवहारजन्य आमजनताका सरूवाका सिफारिसबाहेक कुनै पनि प्रकारले व्यक्ति किटान गरेर सरूवा वा बढुवाका लागि सिफारिस गर्दिनँ। र पूर्णतः पार्टी निर्माणमा लाग्छु। म विश्वास गर्छु, देश निर्माण गर्नका लागि पार्टी निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो।

प्रिय सभापति,

रवि सर,

आज केन्द्रीय समिति सदस्यहरू र आम जनतालाई साक्षी राखेर केही भन्न चाहन्छु। बढी बोलेँ भने, भाइ सम्झेर माफ गरिदिनुहुन अनुरोध गर्दछु तर आज बोल्नैपर्ने स्थिति आयो। यहाँ दाजु र भाइका कुराभन्दा पनि पार्टीको कुरा आयो, देशको कुरा आयो, सत्यको कुरा आयो।

हाम्रो सनातन सभ्यता पौराणिक कथाहरूले धनी छन्। गणेश र कार्तिकेय देवताहरू शिव र पार्वतीका छोराहरू थिए। एकपटक गणेश र कार्तिकेयमा दौड प्रतियोगिता भएछ र नियम रहेछ, सारा संसार दौडेर आउने विजेता। सारा संसार डुल्नका लागि कार्तिकेय तीनै लोक दोडनुभएको थियो र गणेशले चैँ आफ्ना मातापिता शिव पार्वतीलाई बीचमा राखेर घुम्नुभएको थियो।

शिव र पार्वतीले गणेश पहिलो भएको, पूजनीय भएको भनेर विजेता घोषणा गरिदिनुभयो। म देश घुम्न चाहन्छु सभापतिज्यू, म जनतासँग बस्न चाहन्छु। म कार्तिकेय बन्छु तर गणेश बन्दिनँ। तपाईँको इच्छा, गणेशलाई पहिलो मान्नुहुन्छ वा कार्तिकेयलाई?

सभापतिज्यू, तपाईँले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिनुपर्‍यो। राजनीतिमा आएपछि बोलेका सबै कुराहरू। यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलीहरूको अभिलेखीकरणका लागि। अरूले बोलेका कुराहरू मलाई मतलब छैन, मलाई तपाईँले बोलेका कुराहरू मतलब छन्। हिजो किन बोल्नुभयो? बोलेका कुराहरू कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो। रिजल्ट चाहियो। र अनुरोध छ, अबका दिनमा काम गरेपछि मात्र बोल्नुहोला।

मेरो पक्षमा आज कति जना हुन्छन्, त्यो गौण छ। यो अंकको कुरो होइन। लोकतान्त्रिक मूल्य र मान्यताका कुरा हुन्। सत्य र असत्यको कुरा हो। देउवा, ओली र प्रचण्डको पक्षमा पनि शतप्रतिशत मत होला। उनीहरूका गल्ती देखाउनेको पक्षमा ती पार्टीभित्र कोही छैनन् होला तर के ती सही छन् त सभापतिज्यू? प्रश्न आउला, हाम्रा सभापतिलाई देउवा, ओली र प्रचण्डसँग कम्पेयर गर्ने? कम्पेयर गरेर राम्रा हाम्रै सभापति भनौँला तर सभापतिको ती नेतासँग फोटाहरू निरन्तर आइरखेका छन्, त्यो पनि सँगै। सभापतिलाई देउवा, ओली र प्रचण्डसँग दाँजेर को कति ठीक, को कता ठीक भन्ने बेला भइसक्यो। मेरो चाहना त दाँज्ने तहको नहोस् भनेको, धेरैमाथि हुनुपर्छ सभापतिज्यू, दाँजिने तहमा होइन। राजनेता बन्नुपर्यो सभापतिज्यू, नेता मात्र बनेर पुगेन। तपाईँको गाडीको सिसा कालो भइसक्यो सभापतिज्यू, समीक्षा गर्नुहोस्।

सभापतिज्यू, झिँगासँग उडियो भने ‘गू’मा पुगिन्छ। मौरीसँग उड्यो भने ‘मह’मा पुगिन्छ। मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन। हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ। मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ।

मेरा कुराहरू सुनेर सभापतिज्यू, केन्द्रीय सदस्य ज्यूहरू कोही पनि नरिसाउनुहोला। सच्चिऔँ। मैले म चैँ नसच्चिने, तपाईँहरू मात्र सच्चिने भनेकै छैन। मैले खाली सच्चिनुअघि केही गल्तीहरू गरेँ होला। म पनि सच्चिने, तपाईँ पनि सच्चिने र सभापति पनि सच्चिने। किनकि प्रश्न आइसक्यो। सच्चिने कि…? भो अर्को शब्द नबोलौं होला। फेरि साथीहरूलाई लाग्न सक्छ, सभापति सक्किने भन्ने तँ को हो? पार्टी सक्किन्छ भन्ने तँ को हो? मलाई चुप लगाउन सक्नुहोला, तर जनतालाई? यी प्रश्न मेरा हुन् कि जनताका, आफू मूल्यांकन गर्नुहोस्।

आदरणीय साथीहरु,

समीक्षा प्रतिवेदनमा नै समस्यासँगै समाधानका केही उपाय पनि सुझाइएकै छन्। तर पनि यस प्रतिवेदनका आधारमा रही, यस केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्रीको रूपमा “अबको १०० दिन” का लागि कार्ययोजना प्रस्ताव पेस गर्न सभापतिज्यूबाट अनुमति चाहन्छु।

साथीहरु, रूदानेले भन्थे, “जो जति शक्तिमा छ, यो देश सप्रे बिग्रेकोमा त्यति नै जिम्मेवार छ।” त्यस्तै, यो पार्टीमा पनि जो जति शक्तिमा छ, यो पार्टी सप्रे बिग्रेको त्यति नै जिम्मेवार छ। म मेरो भागको जिम्मेवारी लिन तयार छु।

प्रस्ताव: अबको १०० दिन

अबको १०० दिन के गर्ने?

अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई “रविको पार्टी” बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी” बनाऔँ।

रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्न के गर्ने?

१. अबको २ हप्ता तयारी गरौँ।

२. त्यसपछि सभापति र उपसभापति बाहेकका केन्द्रीय समिति सदस्यहरू २ हप्ता गुप्तवास जाऔं।

३. गुप्तवासका क्रममा म महामन्त्रीको राय राख्छु, मत राख्दिनँ। तपाईँहरू निर्णय गर्नुहोस्।

  • पार्टीको विधान कस्तो बनाउने?
  • पार्टीको विधानको पालना कसले गराउने?
  • पार्टीको विधान पालना नभए के गर्ने?
  • पार्टीको संगठान्तमक ढाँचा कस्तो हुने?
  • पार्टीको तर्फबाट हुने निर्वाचनका लागि उम्मेदवार छनोट कसरी गर्ने?
  • पार्टीको अबको कार्यदिशा कसरी निर्धारण गर्ने? के हो?
  • महाधिवेशनको बाटो तय गरौँ।
  • पार्टीको नेताको आचरण कस्तो हुने? के बाध्यकारी, के गरे राम्रो?
  • पार्टीका नेताले मिडियामा के बोल्न पाइन्छ, के पाइँदैन?
  • पार्टीका नेताको कार्यसम्पादन मूल्यांकन कसरी गर्ने?
  • पार्टीमा अनुशासन कसरी कायम गर्ने?
  • पार्टीको आर्थिक व्यवस्थापन कसरी निर्धारण गर्ने?
  • पार्टीका मित्र को हुन्?
  • पार्टीका शत्रु को हुन्?
  • हामी को हौँ?
  • हामी किन आएका?
  • पार्टी र सरकारको सम्बन्ध कस्तो हुने?
  • केन्द्रीय समिति र संसदीय दलको सम्बन्ध कस्तो हुने?
  • संसदीय दल र सरकारको सम्बन्ध कस्तो हुने?
  • पार्टीको निर्णय प्रक्रिया के हो? कुन तहको निर्णय कसले गर्ने? कुन तहले गर्ने?

यीलगायत समीक्षा प्रतिवेदनमा उठाइएका थुप्रै विषय छन्। त्यसका अलवा तपाईँहरूलाई पनि लागेको होला, पार्टीले यो प्रश्नको उत्तर दिनुपर्छ भन्ने लागेका तपाईँहरूका पनि सबै प्रश्नहरू।

गुप्तवासमा लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गरौँ। त्यही गुप्तवाबाट लोकतान्त्रिक प्रक्रिया के हो, निर्धारण गरौँ। कतै अलमल भए सभापतिको मतअनुसार चलौँ। गुप्तवासले नै निर्धारण गरोस्, २ हप्ताले मात्र पुग्दैन? अर्कोपटक पनि बस्नुपर्छ कि? फेरि बस्दा, अरू कोको थप्नुपर्ने हो?

केके निर्णय गर्नुपर्ने हो, त्यो गुप्तवासले गरौँ। सकेसम्म सबै उपस्थित होऔँ। त्यो गुप्तवासले नै निर्धारण गरोस् अबको कार्यदिशा।

४. अपेक्षा गरिन्छ, गुप्तवासको पहिलो समीक्षाले त्यसपछिका बाँकी ७० दिनको कार्यदिशा पनि निर्धारण गर्नेछ।

गुप्तवास नबस्ने, अब सबै प्रक्रिया लाइभ गरौँ भन्नुहुन्छ भने पनि म तयार छु। तर त्यस वासले निर्धारण गरोस्, अब के लाइभ गर्ने, के नगर्ने? यसको विधि के? गुप्तवास बस्ने भए पनि बसौँ, खुलावास बस्ने भए पनि बसौँ। पार्टीका लागि एकपटक घोत्लिएर सँगै बसौँ।

सार्वजनिक रूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गरौँ। बौद्धिक नागरिक समाजको सहयोग खुलेर नै लिऔँ। अब नयाँ पार्टी बनाऔँ, राष्ट्रिय स्वतन्त्र पार्टी। आजका दिनसम्म पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति नै भएकाले, यही केन्द्रीय समितिले निर्णय गरिदेओस्, आगामी कार्यदिशा निर्माणका लागि हामी घोटिऔँ।। आशाको दियोलाई फेरि बालौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ। रविको पार्टी होइन। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔँ। तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ।

धन्यवाद
विसं २०८१ असार १९, बुधबार

(रास्वपा महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा पेस गर्न तयार गरेको लिखित वक्तव्य यहाँ प्रकाशित गरिएको छ। जुन पार्टी सभापतिले नमान्दा उनले पेस गर्न पाएनन्)