युवा अभियन्ता दिवाकर अर्याल यस वर्षको राष्ट्रिय नागरिक पुरस्कारबाट सम्मानित भएका छन् । नागरिक समूहले काठमाडौंमा सोमबार गरेको राष्ट्रिय युवा तथा सुशासन सम्मेलनका अवसरमा अर्याललाई पुरस्कृत गरिएको हो । एक दशकभन्दा लामो समयदेखि युवा अभियानमार्फत विश्वभरका युवालाई जोड्न क्रियाशील रहेकाले अर्याललाई सम्मान गरिएको नागरिक समूहले जनाएको छ
एम्नेष्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर अधिकारी, नागरिक समूहका अध्यक्ष निगम हुमागाईं र रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व एसिष्टेन्ट गभर्नर सुलोचना सिग्देलको निर्णायक समितिले अर्याललाई पुरस्कारका लागि चयन गरेको हो ।
निर्णायक समितिका तर्फबाट बोल्दै अधिकारीले ग्लोबल युथ पार्लियामेन्टमार्फत विश्वमा नेपाल चिनाइरहेका युवा अभियन्ता अर्याललाई छनोट गर्न पाउँदा आफूहरूलाई गर्व लागेको बताए । नागरिक समूहका अध्यक्ष निगम हुमागाईंका अनुसार यसअघि उक्त सम्मानबाट पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नेपाली सेनाका उपरथी रमीन्द्र क्षत्री, वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रूइतलाई सम्मानित गरिसकिएको छ ।
सम्मान ग्रहणपछि अभियन्ता अर्यालले लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील नागरिक समूहले प्रदान गरेको सम्मानले युवा अभियानलाई अझ सशक्त बनाउने दायित्व थपिएको बताए ।