घर, समाज, पाटी पौवा, चोक, चौतारा वा पानी पधेरो सबैतिर राजनीतिक, आर्थिक होस वा सामाजिक हिसावले नागरिक चरम निराशामा गुज्रिरहेको बेला क्रिकेट खेलका कारण आशा जगाएको छ । सबै पक्ष एकै मैदानमा संगै नेपाल र नेपालीको एकता प्रर्दशन गर्यो । नेपाल क्रिकेट संघ (क्यान)को आफ्नै आयोजनामा नेपाल प्रिमियर लिग (एनपीएल) सानदार सुरु भएर आशापुर्ण भविश्य कोर्दै सकिएको छ । क्रिकेटका हिसाबले मात्रै नभई नेपाली खेलकुद जगतका लागि यो शुरुवात निकै आशापुर्ण देखियो । जसले राजनीति र अन्य कारण निराशा र चरम राजनीतिमा विभक्त नेपालीलाई एकै मैदानमा उभ्यायो र भाईचाराको विकास गरायो । एक हिसावले यो ऐतिहासिक मान्नु पर्दछ ।
नेपाली क्रिकेट खेलाडीको मात्रै नभई यसले देशको एउटा सपनालाई आकार दिएको छ । विदेशी ४० खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई हौस्याएको मात्र छैन नेपालमा विदेशीले समेत खेलको भविश्य देखेर जानेछन । यसपालि नेपालीले विदेशी प्रसिद्ध र उत्कृष्ट खेलाडीहरूसँग खेल्न त पाएका छन्, सँगसँगै अन्तर्राष्ट्रिय लिगहरूको दैलो उघ्रने सम्भावना एनपीएलले दिएको छ । नेपाली क्रिकेटलाई आर्थिक रूपमा बलियो त यो प्रतियोगिताले बनायो नै संगै अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्धि कमाउने मौका पनि मिल्यो । झन् क्यानले स्टार स्पोर्टमार्फत यो प्रतियोगिता विश्वभरका क्रिकेटमाझ पु¥याएर नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियकरण गरेको छ ।
भारतमा आईपीएलकै कारण त्यहाँको क्रिकेटको उचाइ अग्लिएको हो । एनपीएलमार्फत नेपाली क्रिकेटले यो शुरुवात हेर्दा निकै फड्को मार्ने विश्वास गर्न सकिन्छ । खेलकुद जगतको ऐतिहासिक महोत्सव अर्थात् महाकुम्भले क्रिकेटमा नयाँ युगको सुरुआत गर्ने विश्वास गर्न सकिन्छ । राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरुकना लागि कहिल्यै प्राथमिकतामा नपरेको खेलकुद जगत अब प्राथमिकतामा राख्नुपर्ने पर्ने बाध्यता आईपर्न सक्दछ । जसरी नेपाली क्रिकेट खेलाडीले आफूलाई निखार्दै विश्व मञ्चसम्म पनि पु¥याएका छन्, अब त्यहाँ अझै अब्बल प्रदर्शन गर्ने प्रेरणा एनपीएलको आयोजनाले दिएको छ । त्यसबाट नेपाली खेलकुद जगत् त विश्वमाझ परिचित भयो नै सँगसँगै नेपाली पर्यटन क्षेत्रलाई पनि यो प्रतियोगिताले प्रत्यक्ष, अप्रत्यक्ष धेरै सकारात्मक प्रभाव पारेको छ ।
सरकारले वर्ष दिनभित्र कीर्तिपुर क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरिसकेको छ । एनपीएलको आयोजनाले सरकारलाई क्रिकेटका थप पूर्वाधार विकासमा अझै दबाब परेको छ । त्यसैअनुसार सरकारले खेलकुदमा लगानी बढाउने हो भने क्रिकेटबाट नेपालले अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्न सक्छ । खेलकुद मनोरञ्जन होइन, यसले नेपाली युवालाई जोड्छ । अझ समग्र नेपालीलाई जोड्छ भन्ने मर्म राजनीतिक नेतृत्वले बुझ्न जरुरी छ । सबैतिर निराशामात्रै छ भन्ने भाश्य निमाण गर्ने कुप्रचारकहरुलाई यो खेल महोत्सवले नेपाली माझ उत्साह थपिदिएको छ । यसका लागि नेपाली क्रिकेट एसोसियसन क्यान धन्यवादको पात्र भएको छ ।