नेपाली राष्ट्रिय टोलीका अल राउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दिप लामिछानेले एकै टोलीबाट फ्रान्चाइज लिग क्रिकेट खेल्ने भएका छन् ।
क्यानडियन लिग ग्लोबल टि-२० को ड्राफ्टमा सन्दिप र दीपेन्द्र भ्यानकुभर नाइट्सले अनुबन्ध गरेको हो । दीपेन्द्रले यसअघि २०२३ को संस्करण मोन्ट्रियल टाइगर्स बाट खेल्दै उपाधि समेत जितेका थिए ।
उता विभिन्न फ्रान्चाइज लिग हरुको अनुभव बोकिरहेका सन्दिपले पनि मोन्ट्रियल र टोरोन्टोमा अनुबन्ध भएर यस लिग खेलिसकेका छन् ।
सन्दिप र दीपेन्द्र सँगै भ्यानकुभमा पाकिस्तानका बाबर आजम, मोहम्मद आमिर र मोहम्मद रिजवान समेत रहेका छन् । यस्तै टोलीमा पल भ्यान मिकरेन र रुबेन ट्रम्पलम्यान जस्ता अनुभवी एसोसिएट खेलाडी र दक्षिण अफ्रिकाका डवेन प्रिटोरियस समेत रहेका छन् ।
सन्दिप र दीपेन्द्र बाहेक नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल समेत टोरन्टो नेशनल्समा अनुबन्ध भएका छन् । यस संस्करणको ग्लोबल टि-२० लिग जुलाई २५ देखि सुरु हुँदै छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल पहिलो पटक फ्रान्चाइज टि-२० लिग खेल्ने भएका छन् । रोहितले क्यानडियन ग्लोबल टि-२० लिग टोली टोरोन्टो नेशनल्सबाट खेल्ने भएका हुन् ।
शनिबार बिहान सम्पन्न खेलाडी ड्राफ्टमा रोहितलाई टोरोन्टोले लिन सफल भएको हो । रोहित बाहेक टोरोन्टोमा पाकिस्तानका तीब्र गतिका बलर शाहीन शाह अफ्रिदी समेत रहेका छन् ।
न्यूजिल्यान्डका कोलिन मन्रो, वेस्ट इन्डिजका रोमारियो शेफर्ड र दक्षिण अफ्रिकाका र्यासी भ्यान डर डसन समेत टोरोन्टोमा रहेका छन् ।
यस्तै पाकिस्तानका स्पिनर मोहम्मद नवाज, बंगलादेशमा ऋषाद होसेन, अमेरिकाका आन्द्रेस गुस र क्यानडाका कप्तान साद बिन जफरलाई पनि टोरोन्टोले अनुबन्ध गरेको छ ।
रोहित बाहेक नेपालका सन्दिप लामिछाने र दीपेन्द्र सिंह ऐरी समेत आउँदो सिजनको ग्लोबल टि-२० खेल्नेछन् । यस संस्करणको लिग जुलाई २५ देखि सुरु हुँदैछ ।