इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गरेका छन । सोमबार नेतान्याहूले ह्वाइट हाउस भ्रमण गरेको बेला नोबल पुरस्कारको सिफारिस गरि नोबेल पुरस्कार समितिलाई पठाएको पत्रको कपी ट्रम्प प्रशासनलाई हस्तान्तरण गरेका हुन । यस अघि भारत पाकिस्तान युद्ध अन्त्य गर्न भुमिका खेलेको भन्दै पाकिस्तान सरकारले नोबल पुरस्कारको लागि सिफारिस गरी सकेको छ । नेतान्याहूले उक्त पत्र ट्रम्पले इजरायल र इरानबीच युद्धविरामको लागि दबाब दिएको र सोही अनुसार भएको भन्दै सिफारिस गरेको हो । प्रधानमन्त्री नेतन्याहूले राष्ट्रपति ट्रम्पसँगको रात्रीभोजको क्रममा उक्त पत्र झिकेर उनलाई हस्तान्तरण गरेको अमेरिकी सन्चार माध्यमहरुले जनाएको छ ।

राष्ट्रपतिले पहिले नै एक ठूलो अवसरलाई साकार पार्नुभएको छ उहाँले अब्राहम सम्झौताहरू गराउनु भयो, अहिले पनि उहाँले एउटा देशपछि अर्को देश, एउटा क्षेत्रपछि अर्को क्षेत्रमा शान्ति स्थापनाको प्रयास गरिरहनु भएको छ,” नेतन्याहूले पत्र हस्तान्तरण गर्दै बताएका छन । “त्यसैले, म तपाईंलाई, श्रीमान् राष्ट्रपति, मैले नोबेल पुरस्कार समितिलाई पठाएको पत्र यहाँ प्रस्तुत गर्न चाहन्छु । यो पत्र तपाईंलाई शान्ति पुरस्कारका लागि सिफारिस गर्ने हो, जुन पुरस्कारका लागि तपाईं योग्य हुनुहुन्छ ।” “यो कुरा मलाई थाहा थिएन,” ट्रम्पले पत्र लिँदै भने “वाह धेरै धन्यवाद विशेषगरी तपाईंबाट आएको यो कुरा मेरो लागि निकै अर्थपूर्ण छ ।”
ट्रम्पका समर्थकहरूले हालै उनले विभिन्न देशहरूबीच युद्धविराम गराउने प्रयासहरूमार्फत देखाएको भूमिकालाई देखाउँदै नोबेल शान्ति पुरस्कारका लागि फेरि एकपटक उनको योग्यताको चर्चा हुनुपर्ने दाबी गरेका छन् । पछिल्लो हप्ता पाकिस्तानले भारतसँगको द्वन्द्व समाधान गर्न ट्रम्पले खेलेको मध्यस्थ भूमिकाको सराहना गर्दै उनलाई शान्ति पुरस्कारका लागि सिफारिस गर्ने घोषणा गरेको थियो । उता गत मंगलबार, जर्जियाबाट रिपब्लिकन सांसद बडी कार्टरले नोबेल समिति समक्ष ट्रम्पको पक्षमा औपचारिक पत्र लेखेका छन् । उक्त पत्रमा उनले ट्रम्पले इजरायल र इरानबीचको अस्थायी तथा प्रारम्भिक युद्धविराममा पु¥याएको योगदानलाई उल्लेख गरेका छन् ।
सोमबारको नेतन्याहूसँगको भेटघाटको एउटा मुख्य उद्देश्य इजरायल र हमासबीच युद्धविराम स्थापनाको प्रयासमा छलफल गर्नु पनि थियो—एक यस्तो सम्झौता जसलाई सन् २०२३ को अक्टोबरदेखि सुरू भएको द्वन्द्वपछि कायम गर्न सकिएको छैन । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाका नेता किम जोङ–उनसँग गरिएको शिखर बैठकपश्चात् पनि आफू शान्ति पुरस्कारको योग्य रहेको दाबी गरेका थिए ।





