प्रवासमा नेपालीहरुको संख्या बढी रहँदा आफ्नो कला, सस्कृति, परम्परा जोगाउन नेपाली भाषा सस्कृति सिकाउने गरी तयार पारिएको लिपीमाला नामको एप तयार पारिएको छ । प्रवासमा रहेका दोस्रो पुस्ताका नेपालीलाई नेपाली भाषा सिकाउने उद्देश्यले अष्ट्रेलियाको सिड्नी निवासी आईटि ईन्जिनियर किरण अधिकारीले तयार पारेका हुन । नेपाली भाषा सिक्न र सिकाउन ’लिपिमाला’को प्रारम्भ गरिएको उनले एक कार्यक्रममा सो जानकारी दिइएको हो । लिपिमालाको स्थानीय नयाँ पुस्ता र न्यू साउथ वेल्सका वाणिज्यदूत सञ्जीव शर्माले संयुक्तरूपमा उद्घाटन गरेका हुन । शर्माले मुलुकसँग जोड्ने सवालमा भाषा सबैभन्दा महत्वपूर्ण पाटो भएकाले नयाँ पुस्ताका लागि एप महत्वपूर्ण माध्यम बन्न सक्ने बताए ।

“भाषा नरहे नयाँ पुस्तामा कला–संस्कृति जोडिन सक्दैन अनि हाम्रो पहिचान पनि यसैमा अडिएको छ । यसै कारण पनि लिपिमालाले अस्ट्रेलियामात्र होइन, संसारभर छरिएर रहेका नेपाली र नयाँ पुस्तालाई नेपालसँग जोड्ने काम गर्न सक्छ,“ शर्माले बताए । आईटी इन्जिनियर अधिकारीले डिजिटल माध्यम र सहजरूपमा घरमै बसेर नानी–बाबुलाई नेपाली भाषा सिकाउने उद्देश्यले एप तयार पारिएको बताएका हुन ।
कार्यक्रममा अस्ट्रेलियन नेपाली समुदायका अगुवा इन्द्र वन, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, साहित्यकार निष्प्रभ सजी, आईसीसी सदस्य दिल्ली ढकालसहितले एपको प्रशंसा गर्दै सफलताको शुभकामना पनि दिए । नेपाली भाषाका शोधकर्ता विज्ञ बलदेव अधिकारीले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेका थिए । यो एप्स डाउनलोड गरेर विश्वभरी जहाँ पनि प्रयोग गर्न सकिने बताइएको छ । जुन एप्सबाट विदेशमा रहेका दोश्रो पुस्ताका नेपालीले सजिलै तरिकाले सिक्न सकिने एप्स निर्माण गरेका अधिकारीले बताएका छन ।





