क्यानडा सरकारले विश्वभरीबाट विशिष्ट व्यक्तिहरुलाई छिटो छरितो स्थायी बसोबासको सुविधा दिएर दक्ष जनशक्ति भित्र्याउने तयारी शुरु गरेको छ । एकातिर बढ्दो शरणार्थी आगमनलाई रोक्ने र दक्ष जनशक्तिलाई छिटो छरितो बाटोबाट पिआर दिएर भित्र्याउने प्रक्रियाका लागि तयारी गरेको बताएको छ । अमेरिकामा आप्रवासनप्रति भई रहेको कडाईको फाईदा उठाएर क्यानडा सरकारले विश्वभरीबाट वरिष्ठ प्रबन्धकहरू, वैज्ञानिक तथा अनुसन्धानकर्ता, विभिन्न पेशका उपल्लो स्तरमा नेतृत्वकर्ता र सैनिक कर्मचारीहरूका लागि नयाँ एक्सप्रेस ईन्ट्रि छिटो स्थायी बसोबास दिने श्रेणीहरू सिर्जना गर्ने बारेमा राय लिन थालेको छ । जसले गर्दा यी पेशामा रहेका विदेशी नागरिकहरूले क्यानाडाको स्थायी आवास पाउन सजिलो हुनेछ । ईमिग्रसन, असाईलम र सिटिजनसिप क्यानडा (आईआरसिसि)ले आफ्नो वेबसाइटमा प्रकाशित सार्वजनिक परामर्श अनुरोधमा यी तीन श्रेणीहरूको उल्लेख गरेको छ । अमेरिकामा ट्रम्प प्रशासनले आप्रवासनमा गरेको कडाईका कारण विश्वभरीबाट अमेरिकामा जाने जनशक्तिहरु अलमलमा परेको समय पारेर क्यानडा सरकारले त्यस्ता जनशक्ति देशमा भित्र्याउने लक्ष्य लिएको सरकारी अधिकारीहरुले जनाएका छन ।

यी सम्भावित नयाँ श्रेणीहरू समावेस गरिने कार्य सन् २०२६ मा सुरू हुने गरी तयारी गरिहेको क्यानडा सरकारले जनाएको छ । एक्सप्रेस ईन्ट्री संघीय सरकारको आवेदन व्यवस्थापन प्रणाली हो, जसले विदेशी नागरिकहरूलाई स्थायी आवासको लागि आवेदन गर्न अवसर दिने र त्यस्ता दक्ष जनशक्तिलाई छिटो क्यानडा भित्र्याउने निर्णय गर्ने जनाइएको छ । सरकारले यी प्रस्तावित श्रेणीहरूबारे निर्णय कहिले सार्वजनिक गर्ने भन्नेबारे अझै कुनै जानकारी दिएको छैन, तर सार्वजनिक परामर्शको म्याद सेप्टेम्बर ३, २०२५ सम्म खुला रहने गरी परामर्श शुरु गरेको छ ।

आईआरसिसिले वरिष्ठ विशिष्ठ श्रेणीका विश्वभरीमा व्यक्तिहरुलाई क्यानडामा आकर्षित गर्न लक्षित नयाँ श्रेणी सुरू गर्ने प्रस्ताव गरेपछि अब अमेरिका जाने गरेका एक्ट्रअडिनरी क्याटोगोरीका त्यस्ता व्यक्तिहरु क्यानडा आकर्षित गर्ने लक्ष्य रहेको बताइएको छ । अमेरिकामा भईरहेको आप्रवासनप्रतिको धरपकडले विश्वभरीबाट अमेरिका जाने त्यस्ता जनशक्तिहरुमा निराशा उत्पन्न भईरहेको बेला त्यहि मौकामा नयाँ आकर्षण दिने तयारी क्यानडाले गरेको बताइएको छ । यहि बेला क्यानडाले पढ्न आउने विधार्थीलाई पढाई छोडेर शरण नदिने, र अमेरिकाबाट क्यानडा आउने मानिसलाई पनि शरण दिने विषयमा कडाई गर्ने तयारी शुरु गरेको छ ।
सरकारले सार्वजनिक परामर्शमा वरिष्ठ व्यक्तित्वलाई “त्यस्ता उच्च दक्षता प्राप्त श्रमिक जसले कम्पनी वा संस्थाको सञ्चालनको निरीक्षण गर्छन् र कर्मचारीहरूको टोलीलाई नेतृत्व गर्छन” भनेर परिभाषित गरेको छ । आईआरसिसिका अनुसार, यस्तो श्रेणी ल्याउँदा नयाँ दृष्टिकोणहरू आउन सक्ने, डिजिटल रूपान्तरण द्रुत रूपमा हुन सक्ने, उत्पादकत्व बढ्न सक्ने, र संस्थागत लक्ष्यहरूमा सहयोग पुग्ने विश्वास गरिएको छ । यसले क्यानडाको प्रतिस्पर्धात्मकता बढाउने र आर्थिक वृद्धि तथा समृद्धिमा योगदान पु¥याउने उल्लेख गरिएको छ । त्यस्तै अनुसन्धान तथा नवप्रवर्तनमा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको चयनमा प्राथमिकता दिने प्रस्ताव पनि गरिरहेको छ । विभागको भनाइअनुसार, वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनले उत्पादकत्व तथा कार्यक्षमता बढाउने, र आर्थिक वृद्धि “प्रेरित गर्ने” क्षमता राख्दछ । तर, परामर्श दस्तावेजमा कुन प्रकारका वैज्ञानिक वा अनुसन्धानकर्ताहरूलाई प्राथमिकता दिने भन्ने स्पष्ट गरिएको छैन । आईआरसिसिले राष्ट्रिय सुरक्षा तथा रक्षा गर्न मित्र राष्ट्रहरूबाट अत्यन्त दक्ष सैन्य भर्तीहरूलाई प्राथमिकता दिँदै क्यानाडाली सशस्त्र बललाई सहयोग गर्ने विचार पनि गरिरहेको भनिएको छ ।

आईआरसिसिद्वारा जारी परामर्श वक्तव्यअनुसार, २०२६ मा हुने श्रेणी–आधारित छनोटमा केही २०२५ का श्रेणीहरूलाई पनि निरन्तरता दिइन सक्ने जनाइएको छ । क्यानडाले हालै प्रस्तुत गरेको (बिल) ले सीमा सुरक्षा, आप्रवासन कार्यान्वयन, र शरणार्थी नीतिमा व्यापक परिवर्तन प्रस्ताव गरेको पनि गरेको छ । जसले राष्ट्रिय सुरक्षामा जोड दिएको छ, तर मानवअधिकार र कानुनी पक्षमा गहिरो बहससमेत जन्माएको छ ।
बिल –२, जुन २०२५ जुन ३ मा हाउस अफ कमन्समा पेस गरिएको थियो, सीमा सुरक्षालाई मजबुत बनाउने अधिकारहरू प्रदान गर्ने प्रस्ताव गरिएको छ । शरणको माग गरेका व्यक्तिहरू, जो क्यानडामा एक वर्षभन्दा बढी समयदेखि बसोबास गरिरहेका छन्, तिनीहरूलाई शरणार्थी सुनुवाइबाट वञ्चित गरिनेछ । यो जुन २०२० पछि आएका व्यक्तिहरूलाई पूर्वप्रभावीरूपमा लागू गरिने प्रस्ताव छ । साथै, अमेरिकाबाट आधिकारिक नाकाबाहिरबाट क्यानडा प्रवेश गर्नेले १४ दिनभित्र शरणको माग दर्ता नगरेमा उनीहरूलाई योग्यता नपुगेको मानिनेछ ।
सरकारले सार्वजनिक हितको नाममा कुनै पनि आप्रवासन कागजात वा आवेदन रद्द, निलम्बन वा परिवर्तन गर्न सक्ने अधिकार पाउनेछ । निगरानी, सूचना साझेदारी, कानून कार्यान्वयन, र हुलाक निरीक्षण सम्बन्धी अधिकारहरू थप विस्तारित गरिनेछन् । यस्तो प्रस्तावप्रति आप्रवासन तथा नागरिक अधिकारका संस्थाहरूले चेतावनी दिएका छन् कि बिल–२ ले क्यानडाको मानवअधिकार प्रतिबद्धता र अन्तराष्र्टि्रय मानवीय कानुनको उल्लंघन गर्न सक्छ । आलोचकहरूको भनाइमा, यस कानुनले न्यायिक प्रक्रियालाई कमजोर बनाउँछ र सुरक्षाको खोजीमा रहेका संवेदनशील व्यक्तिहरूको जीवन जोखिममा पार्दछ । “बिल–२ ले शरण खोज्ने बाटाहरूमा लगाइएको सीमाले क्यानडाको मानवतावादी नेतृत्व कमजोर पार्न सक्ने भन्दै केहि विरोध पनि भएका छन । कानुनी हिसाबले, पूर्वप्रभावी नियम र अधिकारहरूमाथि उठ्ने प्रश्नहरू निकै गम्भीर भएको मानव अधिकारकर्मीहरुले बताई रहेका छन । अमेरिकामा आप्रवासनमाथी कडाई र धरपकड गरेपछि क्यानडामा मानिसहरुको आईरो लागेको भन्दै सरकारले कडाई गरी रहको छ ।





