अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका लाखौं नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले आवश्यक पूर्वतयारी सुरु गरिसकेको बताएका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले संकटको समयमा आकस्मिक कार्य गर्न मन्त्रालयको अगुवाइमा ‘सिचुएसन सेन्टर’ स्थापना गरिएको जानकारी दिए।

यो सेन्टरले विदेशमा रहेका नेपालीहरूको अवस्था, उनीहरूको अवस्थिति र आवश्यक तथ्यांक संकलन गरी उद्धारको आधार तयार पार्नेछ। मन्त्री शर्माका अनुसार हाल वैधानिक र अनौपचारिक माध्यमबाट गरी करिब २५ देखि ३० लाख नेपाली नागरिक विदेशमा छन्। यति ठूलो संख्यामा रहेका नागरिकलाई आवश्यक परेका बेला उद्धार गर्नु चुनौतीपूर्ण रहेकाले राष्ट्रिय स्तरमै पूर्वाधार र योजना आवश्यक पर्ने उनले स्पष्ट पारे।
युद्धको समयमा श्रमिकहरूको मनोविज्ञान र बाध्यता फरक हुने उल्लेख गर्दै उनले भने, “हाम्रा नागरिक रोजगारीका लागि विदेशिएका हुन्, त्यसैले युद्ध सुरु हुनेबित्तिकै उनीहरू फर्किहाल्ने मानसिकतामा हुँदैनन्।” यद्यपि, राज्यले आफ्ना नागरिकलाई अलपत्र नछाड्ने र आवश्यक परेमा जस्तोसुकै अवस्थामा पनि उद्धार गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
मध्यपूर्वको वर्तमान युद्धस्थितिबारे मन्त्रालयको आन्तरिक मूल्यांकन प्रस्तुत गर्दै मन्त्री शर्माले इजरायल र इरानबीचको युद्ध अब ओरालो लाग्न थालेको बताए। अमेरिका र इजरायलको मुख्य उद्देश्य इरानको नेतृत्व र आणविक शक्ति केन्द्रलाई कमजोर पार्ने रहेको र ती उद्देश्यहरू लगभग पूरा भइसकेको मन्त्रालयको बुझाइ छ। युद्धको सबैभन्दा कठिन मोड पार भइसकेकाले अब यसको तीव्रता विस्तारै घट्दै जाने उनको विश्लेषण छ।
मन्त्री शर्माले नेपाली नागरिकहरू प्रत्यक्ष निसानामा नरहेकाले धेरै आत्तिनुपर्ने अवस्था नरहेको प्रष्ट पारे। ट्रान्जिटमा फसेका थोरै संख्याका नेपाली यात्रुहरूको समस्या पनि छिट्टै समाधान हुने उहाँले जानकारी दिनुभयो। पश्चिमा राष्ट्रहरूले युद्ध छिट्टै सकिने अनुमान गरे पनि अस्तित्वको लडाइँका कारण केही लम्बिएको तर अब परिस्थिति बिस्तारै सामान्यतर्फ उन्मुख हुने मन्त्री शर्माले बताए।





