सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि ‘बार र बेन्च’ बीचको निरन्तर संवाद आवश्यक रहेको बताएकी छिन् ।

शुक्रबार भक्तपुरमा आयोजित कानुन व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी चैत १८ गतेदेखि बार र बेन्चबीचको संवादलाई निरन्तरता दिने घोषणा गरिन् । साथै, उनले यसले न्याय सम्पादनमा रहेका अवरोधहरू हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । अदालत अहिले जटिल परिस्थिति र संकट व्यवस्थापनको योजनाबाट गुज्रिरहेको स्वीकार गर्दै उनले जनता केन्द्रित न्याय प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिइन् ।
‘अहिले अलिकति विषम परिस्थितिमा के पनि छ भन्दाखेरि स्वार्थ समूहहरू पनि सल्बलाएको छ, न्यायपालिकाप्रति जनआस्था गिराउने र न्यायपालिकालाई कमजोर बनाउने । कसैको सक्षमता निष्ठामा प्रश्न उठाएर उठाउँदा ठीक हुन्छ । तर न्याय न्यायिक आस्था र यो न्यायपालिकालाई कमजोर गर्ने कुरामा कसैले पनि सहँदैन र यहाँ निर सम्पूर्ण बार महिला कानुन व्यवसायी र अदालत सँगसँगै हिँड्न सक्नुपर्छ,’ उनले भनिन् ।
अनि जति पनि अहिले अवरोधका कुराहरू आए, निश्चय पनि न्यायपालिकाले जिम्मा लिनुपर्छ, नेतृत्वले जिम्मा लिनुपर्छ। तर हामी पनि प्रतिबद्धता गर्न चाहन्छौँ कि जनता केन्द्रित न्याय प्रणाली स्थापना गरौँ, संस्थागत सुधार गरौँ।
कति जटिल परिस्थितिबाट चलेको छिन्नभिन्न अदालतबाट सङ्कट व्यवस्थापन योजना बनाएर आज हामी यहाँ उठेका छौँ, सँगसँगै उठ्यौँ नि। तर यो यात्रा सहज छैन । अझ पनि धेरै कुराहरू हाम्रो छिन्नभिन्नको अवस्थामा छ। त्यसैले यहाँ सुधारको कुरा गर्दाखेरि संस्थागत संरचनाको निर्माण नै पहिलो आवश्यकता छ।
त्यसका साथै मुद्दा व्यवस्थापन, कर्मचारी व्यवस्थापन लगायत थुप्रै संरचनागत सुधारका कुराहरू पनि हाम्रो आवश्यकता हो।
दक्ष बेन्चहरू कसरी बनाउने, विशेष अदालतहरूमा पनि दक्षतासहित विशेष अदालतहरू कसरी निर्माण गर्ने पनि हाम्रो सुधारको प्राथमिकतामा पर्नुपर्छ।
सुशासनका लागि न्याय परिषद्लाई प्रभावकारी बनाउने र सुक्ष्म निगरानीलाई निरन्तरता दिने योजना रहेको उनले सुनाइन् । न्यायाधीश मल्लले न्याय क्षेत्रमा महिलाहरूको बढ्दो सहभागिताका बावजुद उनीहरूको क्षमतामाथि बारम्बार प्रश्न उठाइने गरेकोमा असन्तुष्टि व्यक्त पनि गरिन् । प्रधानन्यायधिषमा सिफरिस भएकी वरिष्ठ न्यायधिष मल्लको नेतृत्वमा न्यायलय सुधारका लागि आशा गरिएको छ । कानुन व्यवसायी भएदेखि नै भुई मान्छेको दुखी पीडितको आवाज बोल्दै आएको कारण उहाँबाट आम मानिसले निकै आशा गरेका हुन ।





