संयुक्त राज्य अमेरिकाले नेपालका थप दुई महत्वपूर्ण तथा पवित्र सांस्कृतिक सम्पदा नेपाललाई औपचारिक रूपमा फिर्ता गरेको छ। नेपालको पुरातत्व विभागमा सोमबार आयोजित प्रत्यावर्तन समारोहमा १३औँ शताब्दीको सुनको जलप लगाइएको कांस्य निर्मित पद्मपाणि तथा १६औँ शताब्दीको बहुरङ्गी काठमा निर्मित नृत्यदेवीको मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।

यी मूर्तिहरूको फिर्तासँगै अमेरिकाबाट नेपाल फर्काइएका पुरातात्त्विक तथा धार्मिक महत्वका सम्पदाको संख्या १२७ पुगेको अमेरिकी दूतावासले जनाएको छ। समारोहमा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको संरक्षण तथा अवैध तस्करीविरुद्धको सहकार्य निरन्तर सुदृढ बन्दै गएको बताए।

ूहालसम्म अमेरिकाबाट १२७ नेपाली पुरातात्त्विक सम्पदा तिनका वास्तविक घरमा फर्काइएका छन्, हार्करले भने, यी दुई पवित्र मूर्तिको प्रत्यावर्तनले हाम्रो सहकार्यलाई अझ बलियो बनाएको छ। यसले आपराधिक अनुसन्धान, कूटनीतिक समन्वय र समुदायको सक्रिय पहल एकसाथ आउँदा सांस्कृतिक सम्पदाको अवैध तस्करी गर्ने अन्तर्राष्ट्रिय सञ्जाललाई प्रभावकारी रूपमा कमजोर बनाउन सकिने प्रमाणित गरेको छ।
उनका अनुसार हालै कार्यान्वयनमा आएको अमेरिका–नेपाल सांस्कृतिक सम्पदा सम्झौताले भविष्यमा दुवै देशबीचको सहकार्यलाई अझ मजबुत बनाउनेछ। उक्त सम्झौताले अनुसन्धानमा संयुक्त सहकार्य, चोरी तथा अवैध निकासी भएका पुरातात्त्विक सम्पदाको पहिचान, तस्करी नियन्त्रण तथा नेपालको ऐतिहासिक सम्पदाको दीर्घकालीन संरक्षणका लागि संस्थागत आधार तयार गरेको छ।

नेपालका सयौँ दुर्लभ मूर्ति, देवदेवीका प्रतिमा, तोरण, शिलालेख तथा अन्य पुरातात्त्विक सम्पदाहरू विगतका दशकहरूमा चोरी भएर विभिन्न अन्तर्राष्ट्रिय सङ्ग्रहालय, निजी सङ्ग्रह र कला बजारसम्म पुगेका थिए। विशेष गरी १९६० देखि १९९० को दशकसम्म काठमाडौं उपत्यकाका मन्दिर, विहार र सार्वजनिक स्थलबाट अनेकौँ धार्मिक तथा ऐतिहासिक सम्पदा हराएका थिए।
पछिल्ला वर्षहरूमा नेपाल सरकार, अमेरिकी सुरक्षा निकाय, अनुसन्धान संस्था, अन्तर्राष्ट्रिय साझेदार र सांस्कृतिक सम्पदा संरक्षणमा सक्रिय नागरिक अभियन्ताहरूबीचको सहकार्यका कारण ती सम्पदाहरूको खोजी, पहिचान र स्वदेश फिर्ता गर्ने अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ।

विशेषज्ञहरूका अनुसार सामाजिक सञ्जाल, डिजिटल अभिलेख, ऐतिहासिक तस्बिर र अनुसन्धानको प्रयोगले चोरी भएका सम्पदाको पहिचान गर्न सहज भएको छ। त्यसपछि कानुनी प्रक्रिया, कूटनीतिक पहल तथा सम्बन्धित सङ्ग्रहालय र निजी सङ्ग्राहकसँगको समन्वयमार्फत ती सम्पदाहरू नेपाल फर्काइँदै आएका छन्।
हालै लागू भएको अमेरिका–नेपाल सांस्कृतिक सम्पदा सम्झौतालाई दुई देशबीचको सांस्कृतिक सम्बन्धमा नयाँ अध्यायका रूपमा हेरिएको छ। यस सम्झौताअन्तर्गत नेपालबाट अवैध रूपमा बाहिरिएका पुरातात्त्विक सामग्रीको आयात नियन्त्रण, अनुसन्धानमा सहयोग, सूचना आदानप्रदान तथा तस्करी रोक्न संयुक्त प्रयासलाई कानुनी तथा संस्थागत आधार प्राप्त भएको छ। यसले भविष्यमा नेपालका धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका वस्तुहरूको अवैध अन्तर्राष्ट्रिय कारोबार नियन्त्रण गर्न थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
संयुक्त राज्य अमेरिकाले यस महत्वपूर्ण उपलब्धिका लागि नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै सांस्कृतिक सम्पदाको संरक्षण, कानुनी शासनको प्रवर्द्धन तथा नेपालको समृद्ध इतिहासलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने साझा प्रयासमा नेपालसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
पुरातत्वविद्हरूका अनुसार स्वदेश फर्किएका पद्मपाणि र नृत्यदेवीका मूर्तिहरू केवल कलात्मक वा ऐतिहासिक वस्तु मात्र होइनन्, ती नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सभ्यताको जीवित प्रतीक हुन्। यस्ता सम्पदाको प्रत्यावर्तनले हराएको इतिहास पुनःस्थापित गर्नुका साथै सांस्कृतिक न्याय स्थापित गर्ने दिशामा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
नेपालले पछिल्ला केही वर्षयता अमेरिका, बेलायत, अष्ट्रेलिया तथा अन्य मुलुकबाट चोरी भएका दर्जनौँ सांस्कृतिक सम्पदाहरू स्वदेश फर्काउन सफलता हासिल गरेको छ। यसलाई नेपालको सांस्कृतिक सम्पदा संरक्षण अभियानको अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धिमध्ये एक मानिएको छ।





