विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा विश्वव्यापी व्यवसायिक सहकार्यका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ। जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशबाट आएका करिब ४ सय नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ तथा नीति निर्माता सहभागी भएका थिए ।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अन्तर्राष्ट्रिय कार्य समितिको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अष्ट्रेलियाको व्यवस्थापनमा सम्पन्न सम्मेलनमा नेपाल र अष्ट्रेलियाका सरकारी, वित्तीय तथा निजी क्षेत्रका प्रतिनिधिसहित ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले विभिन्न विषयमा आफ्नो अनुभव र धारणा राखेका थिए । सम्मेलनलाई नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।
दुईदिने सम्मेलनमा एआई, डिजिटल अर्थतन्त्र, स्टार्टअप इकोसिस्टम, नवप्रवर्तन, लगानी, वित्तीय पहुँच तथा विश्वव्यापी व्यवसाय विस्तारका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल छलफल आयोजना गरिएको थियो । छलफलमा एआईले सिर्जना गरिरहेका अवसर, नेपाली स्टार्टअपको अन्तर्राष्ट्रिय सम्भावना, प्रविधिमा आधारित उद्यम विकास, लगानी आकर्षण तथा विश्वभर रहेका नेपाली उद्यमीबीच सहकार्य विस्तारका विषयमा व्यापक बहस भएको थियो ।





