नेपालमा भीषण बाढीबाट प्रभावित नागरिकका निम्ति अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)का राष्ट्रिय समन्वय परिषद् तथा नेपाली समुदायले राहत संकलन अभियानलाई तीव्र बनाएका छन् ।

अफ्रिकाका विभिन्न देशमा रहेका नेपालीले मातृभूमिमा परेको विपद्मा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको अभियानबाट हालसम्म उल्लेख्य रकम संकलन भइसकेको छ । एनआरएनए नाइजेरियाले हालसम्म १८ लाख रुपैयाँ सहयोग संकलन गरेको छ । एनआरएनए कंगोले १३ लाख रुपैयाँ संकलन गरेको छ । एनआरएनए घानाले एक लाख ५० हजार रुपैयाँ संकलन गरिसकेको जनाइएको छ ।
केन्या, सेसेल्स, तान्जानिया, दक्षिण अफ्रिका, रुवान्डालगायत देशमा रहेका एनआरएनए शाखा तथा नेपाली समुदाय पनि राहत संकलन अभियानमा सक्रिय छन् । ती देशहरूमा सहयोग संकलनको क्रम जारी रहेको जनाइएको छ ।
एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले १० हजार १०१ अमेरिकी डलर नेपालका बाढीपीडितका निम्ति सहयोग गर्ने घोषणा गरेकी छन् । अफ्रिकामा रहेका नेपाली समुदायबाट व्यक्तिगत तथा संस्थागत रूपमा समेत सहयोग जुटिरहेको जनाइएको छ ।
उक्त रकम नेपाल सरकारलाई बाढीपीडितको राहत तथा पुनर्स्थापनामा प्रयोग हुने गरी हस्तान्तरण गरिने एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाले बताए ।





