अमेरिकामा आगामी नोभेम्बर ३, २०२६ मा मध्यावधि निर्वाचन हुँदैछ। यस निर्वाचनमा संघीय संसदअन्तर्गत सिनेटका ३५ सिट र हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४ सय ३५ सिटका लागि मतदान हुनेछ। अमेरिकी मध्यावधि निर्वाचन राष्ट्रपतीय निर्वाचनको दुई वर्षपछि हुने निर्वाचन हो। यसपटकको निर्वाचनले अमेरिकी कांग्रेसमा आगामी दुई वर्षका लागि शक्ति सन्तुलन निर्धारण गर्नेछ।

अमेरिकी सिनेटमा कुल १०० सिट छन्। तीमध्ये यसपटक ३५ सिटका लागि निर्वाचन हुँदैछ। हाल रिपब्लिकन पार्टीसँग सिनेटमा ५३ सिट छन् भने डेमोक्रेटसँग ४५ र दुई स्वतन्त्र सिनेटर छन्। ती दुवै स्वतन्त्र सिनेटर डेमोक्रेटिक पार्टीसँग नजिक छन । यसकारण सिनेटको बहुमत कायम राख्न वा बहुमत परिवर्तन गर्न यसपटकका प्रतिस्पर्धाहरू महत्वपूर्ण मानिएका छन्।
नर्थ क्यारोलिनाको सिनेट निर्वाचन पनि ती ३५ प्रतिस्पर्धामध्ये एक हो। सिनेटर थम टिलिसले पुनःनिर्वाचन नलड्ने भएपछि यो सीट खुला भएको हो। डेमोक्रेटिक पार्टीबाट पूर्व गभर्नर रोय कुपर र रिपब्लिकन पार्टीबाट पूर्व रिपब्लिकन नेसनल कमिटी अध्यक्ष माइकल ह्वाट्ली प्रतिस्पर्धामा छन्।
यसपटक हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४ सय ३५ सिटमा पनि निर्वाचन हुनेछ। हाउसका सदस्यहरू दुई वर्षका लागि निर्वाचित हुने भएकाले प्रत्येक दुई वर्षमा सम्पूर्ण ४ सय ३५ सिट निर्वाचनमा जान्छन्। हाउसमा कुन पार्टीले बहुमत कायम गर्छ भन्ने विषय पनि नोभेम्बरको निर्वाचनको महत्वपूर्ण पक्ष हुनेछ। विभिन्न राज्य तथा निर्वाचन क्षेत्रमा रिपब्लिकन र डेमोक्रेटिक उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।
३६ राज्यमा गभर्नरको चुनाव
संघीय कांग्रेसबाहेक यसपटक ३६ राज्यमा गभर्नरको निर्वाचन पनि हुँदैछ। यसले राज्य तहमा पनि राजनीतिक नेतृत्व र शक्ति सन्तुलनमा परिवर्तन ल्याउनछ ।
अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति प्रत्यक्ष रूपमा निर्वाचित हुँदैनन्। तर कांग्रेसका सदस्य र विभिन्न राज्यका पदाधिकारीको निर्वाचन हुने भएकाले यसलाई राष्ट्रपतिको कार्यकालको मध्यमा जनमत परीक्षणका रूपमा पनि हेरिन्छ। नोभेम्बर ३ को निर्वाचनपछि अमेरिकी कांग्रेसमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीमध्ये कुन दलले सिनेट र हाउसमा बहुमत कायम गर्छ भन्ने टुंगो लाग्नेछ।





