राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक चन्द्र शर्मा एक लाख रुपैयाँ नगदसहित सम्मानित भएका छन् । प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्तीका अवसरमा शर्मालाई ‘संस्थाको सम्मान–२०८३’ प्रदान गरिएको हो ।
सम्मान ग्रहणपछि शर्माले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै आफ्नो जीवनको ऊर्जाशील समय संस्थाकै विकास र लोकदोहोरी क्षेत्रको उन्नतिमा खर्चिएको बताए । प्रतिष्ठानको संस्थापक सहसचिवका रूपमा जिम्मेवारी सम्हाल्दै संस्थागत यात्रामा जोडिएका शर्मा अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । उनी अहिले प्रतिष्ठानको संरक्षकका रूपमा सक्रिय छन् ।
शर्माले प्रतिष्ठान काठमाडौंमा मात्र केन्द्रित रहेको भन्ने आरोपलाई चिर्न देशका सबै भूगोल र समुदायका कलाकारलाई समेट्नुपर्नेमा जोड दिए । यसपटक मधेस प्रदेशमा महाधिवेशन आयोजना हुनु सकारात्मक प्रयास भएको उल्लेख गर्दै उनले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म संस्थाका गतिविधि विस्तार हुनुपर्ने बताए ।
पूर्वका गीत, पश्चिमका गीत, मधेस र तराईका लोकभाका सबैले समान स्थान र सम्मान पाउनुपर्ने उनको धारणा थियो । नेपाली लोकसंगीत विभिन्न भाषा, संस्कृति र समुदायको पहिचानसँग जोडिएको उल्लेख गर्दै शर्माले सबै क्षेत्रका स्रष्टा तथा कलाकारलाई संस्थागत रूपमा जोड्न सके लोकदोहोरी क्षेत्र थप समावेशी बन्ने बताए ।
गायकका रूपमा समेत परिचित शर्मा लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीतसंगीतमा सक्रिय छन् । गायनसँगै कलाकारका हकहित र संस्थागत विकासमा समेत संलग्न रहँदै आएका उनले प्रतिष्ठानलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्ने र सबै क्षेत्रका मौलिक लोकभाकाको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती महोत्तरीको बर्दिबासमा हिजोदेखी सञ्चालन भइरहेको छ । महाधिवेशन तथा रजत जयन्तीका अवसरमा विभिन्न विधाका स्रष्टा, सर्जक तथा कलाकारलाई सम्मान गरिएको छ ।
प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामआशिष यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा प्रतिष्ठानका पूर्वअध्यक्ष, संरक्षक, पदाधिकारी, विभिन्न जिल्ला तथा प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधि र कलाकारहरूको उपस्थिति थियो । कार्यक्रम सञ्चालन महासचिव शिव हमालले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले राखेका थिए ।





