January 19, 2025, Sunday
२०८१ माघ ६

अमेरिकामा रन्जित गजमेर उत्सव हुने

२०८० चैत्र २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.3K

बलिउडका ‘मादव उस्ताद’ वरिष्ठ संगीतज्ञ रन्जित गजमेरको सम्मानमा अमेरिकी भुटानी नागरिकहरुले रन्जित गजमेर उत्सव आयोजना गर्दैछन् ।नेपाली संगीत जगतका लिजेन्ड्री गजमेरको सम्मानमा ‘जिन्दगी दर्पण छायाँ’ नामक उत्सव असार ८ मा आयोजना गर्न लागिएको हो । मेनुका मेमोरियल फाउन्डेशन, नक्षत्र फाउण्न्डेसन र भुटनिज नेपाली कलाकारहरुको संयुक्त आयोजनामा अमेरिकास्थित कोलम्बस ओहियोमा उत्सव आयोजना गर्न लागिएको मेनुका फाउन्डेसनमा आबद्ध गायक/कलाकार किशोर शिवाकोटीले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाएका छन् ।

सन् १९८१ मा ‘बाँसुरी’ नामक नेपाली चलचित्रबाट संगीतकारको रुपमा उदाएका गजमेरले ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘बासुदेव’, ‘साइनो’, ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आासु’, ‘कोसेली’, ‘दर्पण छाया’ जस्ता लोकप्रिय चलचित्रमा संगीत भरेका छन् ।

भारतको दार्जिलिङबाट सन् १९६७ मा पहिलो पटक काठमाडौं आएका गजमेरले रेडियो नेपालमा पहिलो पटक एउटा गीतमा संगीत भरेका थिए । संगीत क्षेत्रमा संघर्ष गर्न काठमाडौंबाट सोझै बम्बई हानिएका उनले राहुल देव (आरडी) बर्मनसँग सहकार्य गरेका थिए । गजमेरले भरेको मादलको धुन धेरै बलिउड सिनेमामा सुन्न पाइन्छ ।

उत्सवमा गजमेरले संगीत भरेका गीतलाई अमेरिकी भुटनिज सर्जकहरु किशोर शिवाकोटी, रविन शर्मा, किरण गजमेरलगायतले प्रस्तुति दिने छन् । सोही उत्सवमा उनलाई पुनर्वास भई अमेरिका पुगेका नेपालीभाषी भुटानी समुदायबाट सामूहिक अभिनन्दनसमेत गरिने जनाइएको छ ।