Newyork Time 10:19 pm
May 8, 2024, Wednesday
२०८१ बैशाख २७

हतियार लिएर किन छिर्दै थिए प्रसाईका अंगरक्षक ?

२०८० चैत्र ६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

280

 

काठमाडौँ — अन्टसन्ट बोल्दै चर्चामा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी अंगरक्षकलाई प्रहरीले सर्वोच्च अदालतमा हतियारसहित पक्राउ गरेको विषयमा शुक्रबारदेखि सुरु भएको आफ्नो मुद्दाको सुनुवाइ शुरु भएको छ । आइतबार सर्वोच्च पुगेका प्रसाईंका अंगरक्षकबाट जर्मनीमा बनेको जीएसजी फाइभ लेखिएको अर्ध स्वचालित बन्दुक, एक सय राउन्ड गोली र चार थान म्यागजिन फेला परेको सर्वोच्चको सुरक्षा युनिट प्रमुख एसपी विनोद सिलवालले बताए ।
खासगरी अर्ध स्वचालित बन्दुकसहित सर्वोच्च अदालत किन छिर्दै थिए प्रसाईंका अंगरक्षक भन्ने चासो उत्पन्न भएको छ ।

‘नियमित जाँचका क्रममा झोलामा हतियार फेला परेको थियो’ सिलवालले भने, ‘हामीले तत्कालै हतियारसहित त्यसका वाहकलाई थप अनुसन्धानका लागि सिंहदरबार वृत्तमा पठाएका छौं ।’ उनका अनुसार प्रसाईंको नाममा झापा जिल्ला प्रशासन कार्यालयबाट हतियारको अनुमतिपत्र र त्यसको नवीकरणको कागजसमेत फेला परेको छ । प्रहरीले अंगरक्षकहरू दीपक खड्का र रामकुमार धिमाललाई सिंहदरबार वृत्तमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रसाईंको नाममा लिइएको अनुमतिपत्रमा वाहकको नाम दीपक खड्का लेखिएको छ । खड्का पूर्वसैनिक भएको खुलेको छ । अदालत परिसरमा छिर्न खोज्दा हतियार फेला परेपछि सर्वोच्चमा सुरक्षा सतर्कता बढाइएको छ । ‘यसअघि यस्तो घटना भएको थिएन जस्तो लाग्छ’ सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले भने, ‘यो संवेदनशील कुरा भयो, प्रहरीले ढोकैबाट पक्राउ गरेर राम्रो काम गरेका छन् ।