Newyork Time 01:37 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

अमेरिका, बेलायत र भारतसहित ११ देशका नेपाली राजदूत फिर्ता बोलायो

२०८१ जेष्ठ २४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

540

सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् । २४ चैत २०७८ मा देउवा नेतृत्वको सरकारले उनीहरुसहित ११ राजदूत सिफारिस गरेको थियो ।

त्यसबेला सिफारिस भएर नियुक्ति पाएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रसियाका लागि मिलन तुलाधरलाई भने फिर्ता बोलाइएको छैन । कतारका लागि नेपाली राजदूतमा डा. नरेशविक्रम ढकाल थिए । २६ जेठ २०७९ मा नियुक्त भएका उनलाई पनि फिर्ता बोलाइएको छ । सरकारले पोर्चुगलका लागि नेपाली राजदूत सनिल नेपाललाई पनि फिर्ता बोलाएको छ । कांग्रेसको जोडबलमा प्रचण्ड सरकारले २३ कात्तिक २०८० मा पोर्चुगलमा राजदूताबास राख्ने निर्णय गरेर राजदूतमा नेपालको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइको प्रक्रिया पुरा गरेर उनले २४ माघ २०८० मा मात्र नियुक्ति पाएका थिए ।

एमाले अध्यक्ष केपी ओली र रास्वपा अध्यक्ष रवि लामीछानेले लामो समयदेखि दवाव दिंदै आएको र राजदुतमा आफ्नो मान्छे पठाउनुपर्ने दवाव दिदै आएकाले सरकारले यस्तो निर्णय गरेको परराष्ट्र श्रोतले जनाएको छ । बेलायत, भारत वा अमेरिकामा तीन पाटीले आआफ्नो समर्थकलाई पठाउने तयारी समेत भैसकेको बताइएको छ ।यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने भएका छन्।  ‘उक्त समारोहमा जानका लागि आवश्यक टोली निर्माण हुनेछ,’ उनले भनिन्।