Newyork Time 12:45 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

नेपाल र बेलायतसम्बन्धको सय वर्षः बेलायती प्रधानमन्त्रि सुनकद्धारा नेपालीको प्रशंसा

२०८१ जेष्ठ ९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

350

बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाल र बेलायतबीचको सम्बन्ध व्यापार, लगानी र जलवायु परिवर्तन सम्बन्धी सहकार्यमा परिणत  हुने बताएका छन् । नेपाल र बेलायतबीचको मैत्री सन्धिमा हस्ताक्षरको एक शताब्दी पुगेको अवसरमा बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा सोमबार आयोजित विशेष समारोहमा नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले बेलायतमा रहेका नेपालीहरूको उपलब्धिको प्रशंसा गरे । त्यस अवसरमा नेपाल र बेलायतका बीचमा सय वर्षअघि सन् १९२३ मा सिंहदरबारमा हस्ताक्षर गरिएको मैत्री सन्धिको प्रति पनि प्रदर्शनीमा राखिएको थियो।

सम्बोधनको क्रममा सुनकले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन बेलायती गोर्खाको योगदानको प्रशंसा गर्दै नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धका विविध आयामबारे बोलेका थिए । उनले बेलायती राजा चार्ल्सले गरेको नेपाल भ्रमणको स्मरण गराएका थिए । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालको विकासमा बेलायतले गरेको सहयोगको स्मरण गरे । उनले सन् १९२३ को मैत्री सन्धिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थितिलाई बलियो बनाउनुका साथै अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गरेको बताए ।

समारोहमा उपस्थित बेलायती विदेश राज्यमन्त्री एनी-मारी ट्रेभल्यानले नेपालको विकास प्रयासमा सहयोग गर्ने र नेपाललाई मध्यम आय भएको देश बन्ने लक्ष्य हासिल गर्न आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने बेलायती प्रतिवद्धता दोहोर्‍याइन् । कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने, कलाकार मनिषा कोइराला, गैर आवासीय नेपाली डा. हेमराज शर्मा, रामशरण सिम्खडा, प्राध्यापक सूर्य सुवेदी, डा. पदम सिम्खडा, पर्वतारोही हरि बुढा लगायत सहभागी थिए । समारोहमा बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल क्रिकेट संघ (क्यान) ले बनाएको आईसीसी टी–२० विश्वकपको जर्सी प्रदान गरिएको थियो ।