Newyork Time 01:55 pm
May 2, 2024, Thursday
२०८१ बैशाख २१

कूटनीतिक सम्बन्धको ५० वर्ष प्रधानमन्त्रि कोरिया भ्रमण गर्ने

२०८० चैत्र २६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

195

काठमाडौँ — द्विदेशीय कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरिया भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र दक्षिण कोरियाका तर्फबाट काठमाडौंस्थित दूतावासले भ्रमणको गृहकार्य गरिरहेको परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले शनिबार जुगल हिमालको आरोहण गर्न लागेको नेपाल–दक्षिण कोरिया संयुक्त टोलीलाई नेपालको झन्डा हस्तान्तरण कार्यक्रममा दक्षिण कोरिया भ्रमणबारे जानकारी दिए । दाहाललाई संयुक्त राष्ट्रसंघको अधिवेशन ७८ औं महासभाका दौरान न्युयोर्कमा दक्षिण कोरियाका राष्ट्रपति योन सुक योलले भ्रमणको निम्तो दिएका थिए ।

नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालबाट रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा एक लाखभन्दा बढी नेपालीहरू गइसकेका छन् । ५० वर्षको दौत्य सम्बन्धका अवसरमा दक्षिण कोरियाली दूतावासले नेपालमा कार्यक्रमको सुरुआतसमेत गरिसकेको छ ।

गत माघ १६ मा दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालसँग मिलेर ५० वर्षको उपलक्ष्यमा कोरिया र नेपाल दुवै देशका झन्डाको रङ र तत्त्वहरू समावेश गरिएको लोगो सार्वजनिक गरेका थिए ।