Newyork Time 05:27 pm
May 19, 2024, Sunday
२०८१ जेष्ठ ७

भरतपुर महानगरपालिका प्रमुख दाहाललाई लन्डनमा अन्तर्राष्ट्रिय अवार्ड

२०८० चैत्र ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

205

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले लन्डनमा एक अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छन् । दाहालले हाउस् अफ कमन्सको टेरेस पेभिलियनमा बिहीबार आयोजित समारोहबीच इपिजी नामक संस्थाले प्रदान गरेको ’पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्ड्स २०२४’ अन्तर्गत ’इन्टरनेसनल मेयर अवार्ड’ प्राप्त गरेकी हुन् । भरतपुर महानगरपालिका प्रमुख दाहाललाई लन्डनमा अन्तर्राष्ट्रिय अवार्ड लन्डन मेयर सादिक खानले दाहाललाई अवार्ड हस्तान्तरण गरेका थिए । ’दोस्रो कार्यकाल मेयर निर्वाचित भएर भरतपुरवासी जनताका लागि काम गर्दा अन्तर्राष्ट्रियस्तरबाट जुन खालको मूल्यांकन भयो, यसले ज्यादै खुशी भएको छु,’ अवार्ड लिएपछि उनले भनिन् ’यस अवार्डले अझ ऊर्जा, हौसला र जनताको पक्षमा काम गर्नका लागि बल पुग्ने विश्वास छ ।’

आयोजकले अवार्ड दिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी र बाबुको राजनीतिक उत्तराधिकारी भन्दै उनको परिचय दिएका थिए । एउटै स्टेजमा लन्डन मेयर सादिक खानले ’लोकल गभरमेन्ट अवार्ड’ प्राप्त गर्दा मरिससकी पहिलो मुस्लिम महिला राष्ट्रपति (२०१५ देखि २०१८) अमिना गुरिव फकिमले ’इन्टरनेशनल वुमन अफ द इयर अवार्ड’ पाइन् । उता, भारतीय राजनीतिज्ञ तथा ऋषिहुड युनिभर्सिटीका चान्सलर सुरेश प्रभाकर प्रभुले ’लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन् । बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेनले ’पार्लियामेन्टरियन अफ द इयर’ (गभरमेन्ट), राज्यमन्त्री रोबर्ट हाल्फोनले ’मिनिष्टर अफ द इयर’, सांसद ग्यारेथ थोमसले ’स्याडो मिनिष्टर अफ द इयर अवार्ड’ ग्रहण गरे । त्यसैगरि, सनराइज रेडियोले ’मिडिया अफ द इयर अवार्ड’ पायो भने इन्टरकन्टिनेन्टल लन्डन ओटुले ’होटल अफ द इयर अवार्ड’ पाएको छ । प्रोफेसर जसपाल कोनरले ’डक्टर अफ द इयर अवार्ड’ प्राप्त गरे ।

निर्णायकहरूको छनोटमा कुल २४ विद्यामा प्रदान गरिएको उक्त १६ औं वार्षिक अवार्डस् वितरण समारोहको होष्ट सांसद भ्यालिरी भाज थिइन् । इपिजी बेलायत, भारत र युगान्डामा कार्यालय भएको एउटा आर्थिक तथा रणनीति परामर्श फर्म हो, जसले रणनीतिक सञ्चार, व्यापार र लगानी प्रवर्धन, आर्थिक विश्लेषण एवं विश्वभरका व्यवसाय र सरकारहरुका कर्पोरेट इभेन्ट आयोजना गर्ने गर्दछ ।