Newyork Time 05:03 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

आन्तरिक अर्थतन्त्रको सिथिलता कायमै

२०८० चैत्र ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

475

 

मुलुकको आान्तरिक अर्थतन्त्रमा देखिएको शिथिलता अझै कायमै रहेको छ । सरकारको राजस्वमा केही सुधार देखिएको छ । तर, पूँजीगत खर्चको वृद्धिदर उत्साहजनक छैन । आयात बढ्न सकेको छैन भने निजी क्षेत्रका प्रवाह हुने कर्जा पनि खासै विस्तार भएको छैन । गत आर्थिक वर्ष २०७९÷८० को माघमा १३.०३ प्रतिशतको उच्च विन्दुमा पुगेको कर्जाको भारित औसत ब्याजदर करिब २ प्रतिशत विन्दुले घटेर ११.०८ प्रतिशतमा आइसकेको छ । कर्जाको ब्याजदर उल्लेख्य रुपमा घटेको, राष्ट्र बैंकले ल्याएको कसिलो मौद्रिक नीतिलाई क्रमशः लचिलो बनाउँदै लगेको छ ।

यद्यपि, आन्तरिक आर्थिक गतिविधि, विशेष गरेर वास्तविक क्षेत्रमा देखिएको समस्या सुधार नहुँदा सरकारी वित्तमा दबाब छ भने बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीसमेत प्रभावित बन्दै गएको छ । राष्ट्र बैंकले गत साउनमा मौद्रिक नीति सार्वजनिक गर्दै गर्दा चालु आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको थियो । यस्तै कम्तीमा ७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने पुग्ने विदेशी विनिमय सञ्चिति कायम राख्नु मौद्रिक नीतिको लक्ष्य हुने मौद्रिक नीतिमा उल्लेख थियो ।

यस्तै विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार हुने प्रक्षेपणसहित मौद्रिक नीति तर्जुमा गरेको थियो । तर, आर्थिक वर्षको ७ महिना सकिँदा ४ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ । यसले कर्जा विस्तारको लक्ष्य प्राप्त हुने सम्भावना देखिन्न । विस्तृत मुद्राप्रदाय, मुद्रास्फीति र विदेशी विनियम सञ्चितिको अवस्था भने मौद्रिक नीतिको लक्ष्यअनुरुप नै रहेका छन् । विस्तृत मुद्राप्रदाय ७ प्रतिशतले विस्तार भएको छ भने बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य स्रोत रहेको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य राखेकोमा माघ महिनाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको माघ महिनामा यो ७.८८ प्रतिशत थियो । माघमा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.८५ प्रतिशत छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको राष्ट्र बैैंकले जनाएको छ ।