Newyork Time 09:28 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

सानिमा समूहले निर्माण गरेको सबैभन्दा ठूलो मध्य–तमोरबाट विद्युत् परीक्षण उत्पादन

२०८१ बैशाख ४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

385

काठमाडाैँ । जलविद्युत् विकासको क्षेत्रमा आफ्नो अलग्गै प्रतिष्ठा स्थापित गरेको सानिमा समूह अन्तर्गत निर्माण भएको ७३ मेगावाटको मध्य–तमोर जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । उत्पादित विद्युत् २२० केभी कोसी कोरिडोर प्रसारण लाइनमा प्रवाह भएको छ ।

विद्युत् उत्पादन भएको औपचारिक जानकारी दिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबार आयोजनास्थल पुगेका थिए । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाबाट विद्युत् उत्पादन सुरु भए पनि उसले १५ दिन प्राधिकरणलाई निशुल्क बिजुली दिनुपर्छ । त्यसपछि मात्रै उसले व्यावसायिक उत्पादन गर्ने अनुमति पाउँछ ।

चार वटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोसी करिडोरमा जोडिएको आयोजनाले जानकारी दिएको छ । मध्य–तमोर प्रणालीमा जोडिएसँगै देशको कुल विद्युत् जडित क्षमता ३ हजार ३ सय मेगावाट पुगेको घिसिङले जानकारी दिएका थिए ।

कम्पनीका अनुसार नदीको प्रवाहमा आधारित (आरओआर) आयोजना भएको हुँदा सुक्खायाममा  २५ देखि ३० मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । फुङलिङ नगरपालिकास्थित फुरुम्बूको मित्लुङ नजिक ५० मिटर लामो र ११ मिटर अग्लो बाँध निर्माण गरी ३४०० मिटर लामो सुरुङबाट खोक्लिङको थुम्बाबेँसीमा निर्मित विद्युत्गृहमा जल प्रवाह गरी बिजुली निकालिएको छ ।

सानिमा समूहले यसअघि सिन्धुपाल्चोकमा २.६ मेगावाटको सुनकोसी साना जलविद्युत्, इलाममा २२ मेगावाटको सानिमा माई, ७ मेगावाटको सानिमा माई क्यासकेड, रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङ र रामेछापमा २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यस्तै, दोलखामा ५६ मेगावाटको जुम खोला निर्माण गरिरहेको छ ।

from urjakhabar