Newyork Time 05:40 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

अमेरिकी सिनेटबाट युक्रेनलाई ६० अर्ब डलर सैन्य सहायता दिने विधेयक पास

२०८१ बैशाख १३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

410

अमेरिकाको सिनेटले युक्रेनलाई ६० अर्ब डलरभन्दा बढी सहायता दिने विधेयक मंगलबार अत्यधिक बहुमतले पास गरेको छ।

रिपब्लिकन पार्टीको बहुमत रहेको प्रतिनिधि सभाले यो विधेयक शनिबार पास गर्दा सो दलका आधाभन्दा बढी सांसदले यसको विपक्षमा मतदान गरेका थिए। तर डेमोक्रयाटिक पार्टीको बहुमत रहेको सिनेटबाट ७९-१८ को बहुमतले पास हुँदा भने बहुमत ३१ रिपब्लिकन सांसदले पक्षमा भोट हाले।

सिनेटबाट पास भएपछि यो विधेयक राष्ट्रपति जो बाइडेनकहाँ पठाइएको छ। उनले हस्ताक्षर गरेपछि रूससँगको युद्धमा हतियारको अभाव खेपिरहेको युक्रेनले अमेरिकी हतियार र अन्य सहायता पाउने छ।

यो विधेयकले इसराइलका लागि सहायता र गाजा लगायत क्षेत्रमा द्वन्द्वको चपेटामा परेका गैरसैनिकका लागि मानवीय सहायता समेत गरेर २६.४ अर्ब डलर छुट्टयाएको छ। त्यस्तै, ताइवान लगायत इण्डो-प्यासिफिक क्षेत्रका लागि ८.१ अर्ब डलर प्रदान गर्नेछ।

अमेरिकामा बजेट दिने अधिकार सदनलाई मात्रै हुन्छ र दुवै सदनले पास नगरिकन राष्ट्रपतिले चाहेर पनि बजेट छुट्टयाउन पाउँदैनन्।

युक्रेन, इसराइल र ताइवानलाई सहायता दिन यो संयुक्त विधेयकको पक्षमा दुवै सदनको स्पष्ट बहुमत भए पनि लामो समयदेखि प्रतिनिधि सभामा अड्किएको थियो।

गाजामा प्यालेसटिनीलाई दिइने मानवीय सहायता हमासकोमा जाने भनेर केही रिपब्लिकन सांसदले चिन्ता व्यक्त गरेका थिए। तर मुख्यतः रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पको समर्थनमा प्रतिनिधि सभाका सभामुख बनेका माइक जोनसनले युक्रेनलाई दिइने सहायताका कारण यसलाई रोकिरहेका थिए।

शनिबार भने अन्ततः जोनसनले आफ्नो पद नै दाउमा राखेर सो विधेयक सदनमा निर्णयार्थ प्रस्तुत गरे। बहुमत रिपब्लिकन सांसदले विपक्षमा भोट हाले पनि डेमोक्रयाट्सको समर्थनमा सो विधेयक पास भयो।

डेमोक्रयाटिक पार्टीको बहुमत रहेको सिनेटबाट बहुमत रिपब्लिकन सांसदको पनि समर्थनसहित यो विधेयक पास भए पछि युक्रेनले रूससँग लड्नका लागि अमेरिकी हतियार पाउने छ।

द गार्डियनका अनुसार अमेरिकाले दिने ६०.७ अर्ब डलरमध्ये २३ अर्ब डलरबाट अमेरिकाले युक्रेनलाई हतियार दिएपछि कम भएको आफ्नो भण्डारमा फेरि हतियार थप्नेछ। त्यस्तै १४ अर्ब डलर बराबरको अत्याधुनिक हतियार अमेरिकी रक्षा मन्त्रालयले आफैं किनेर युक्रेनलाई दिनेछ।

११ अर्ब डलर जति युरोपमा अमेरिकी सेना र गुप्तचर परिचालन गर्न खर्च हुनेछ। लगभग ८ अर्ब डलर चाहिँ गैरसैनिक सहायतामा खर्च हुनेछ।

अमेरिकाले युक्रेनलाई दिने यो सहायता धेरै महत्वपूर्ण छ।