Newyork Time 11:41 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

क्यापिटल हिलको यात्रामा निस्किएका नेपाली मुलका एड्रियन पोखरेल

२०८१ जेष्ठ ९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

775

 

विश्व सर्वशक्तिमान केन्द्र संयुक्त राज्य अमेरिकाअवसरको भुमि हो । यो भुमिमा संसारकै मानिसहरु आफ्नो स्वतन्त्रता र सपनाको पसिना बगाईरहेका छन । अमेरिका यस्तो देश जहाँ संसार भरकै आप्रवासीलाई स्वागत गरिन्छ । त्यहि बहुसांस्कृतिक पहिचान बोकेको अमेरिकामा नेपालीले पाइला टेकेको धेरै भएको छैन । औपचारिक रुपमा अमेरिकामा नेपाली पाईला टेकेको आठ दशक पुरा भएको छ । तर त्यसयता पहिलो पुस्ताका नेपालीहरु केहि प्रगति पथमा छन भने केहि दोश्रो पुस्तालाई फलाउन फलाउन प्रयासरत छन । त्यसैको फलस्वरुप एक जना नेपाली यतिखेर अमेरिकी राजनीतिमा होमिएका छन । त्यो पनि संसार चियाउने अमेरिकी संसद्को सर्वोच्च केन्द्र क्यापिटल हिलतिर ।
यसो बर्ष नोभेम्बर ५ का दिन अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुदैछ । हरेक चार वर्षमा हुने यो निर्वाचनकै वर्ष अमेरिकी संघीय संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको सदस्यका लागि पनि निर्वाचन हुन्छ । यो वर्षको नोभेम्बर महिनाको पहिलो मंगलबार नोभेम्बर ५ मा परेको छ । यही दिन अमेरिकामा आम निर्वाचन हुँदै छ । यस निर्वाचनमा दुईजना नेपालीभाषी अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सको सदस्यका लागि प्राइमरी प्रतिस्पर्धामा होमिएकोमा ह््यारी भण्डारी पराजित भईसकेका छन भने एड्रियन पोखरेल निर्वाचनको नजिक छन । भर्जिनिया राज्यको निर्वाचन क्षेत्र १० का एड्रियन पोखरेल पनि संघीय सांसदका लागि डेमोक्रेटिक प्राइमरी प्रतिस्पर्धामा छन् । पोखरेल निर्वाचनकै लागि सरकारी ‘अफिसर’को जागिर छाडेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन ।

अमेरिका( सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) यतिखेर भर्जिनिया १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् । निर्वाचनको नियमअनुसार एक हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । कुनै पनि उम्मेदवारलाई यती संख्यामा हस्ताक्षर पुर्याउन ठूलो चुनौती हुन्छ । उनले उक्त चुनौति छोटो समयमै पार गरेर अहिले चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएका छन् ।
१४ वर्ष अमेरिकी सेनामा काम गरेका अमेरिकी सेनाका पुर्व कप्तान पोख्रेलले विश्वकै शक्तिशाली गुप्तचर संस्था केन्द्रीय खुफिया एजेन्सी सीआईएमा ६ वर्ष काम गरिसकेका छन् । कुनै पनि नेपाली मुलका व्यक्तिले सिआइएमा काम गरेको यो पहिलो अवसर हो । उनको उम्मेदवारीलाई नेपालीहरुले मात्र होइन, भर्जिनिया १० मा रहेका धेरै अमेरिकीहरुले पनि सकारात्मक रुपमा हेरेका छन् ।
उनको उम्मेदवारीबाट नेपालीहरुलाई हेर्ने अमेरिकी दृष्टिकोण बदल्न सक्ने सम्भावना भएकोले त्यहाँका नेपालीहरुले सकारात्मक रुपमा लिएका छन् । साथै उनले लिएका एजेण्डाहरुका कारण उनलाई अमेरिकीहरुले पनि मन पराएका छन् । उनले आफूले अमेरिकीहरुबिच एकता र समानता ल्याउनका लागि चुनावमा होमिएको बताएका छन् । एड्रियनले मानसिक स्वास्थ्य सेवा सुधार गर्ने, स्वास्थ्य सेवाको लागत घटाउने, र महिलाको प्रजनन अधिकार, रोजगारी सिर्जना, श्रमिक संघहरूको अधिकार र लोकतन्त्रको सुरक्षालाई प्राथमिकता दिएका छन् ।
पोख्रेल सैन्य खुफिया, व्यवस्थापन, नेतृत्व, साइबर, नैतिक ह्याकर, नेटवर्क प्रशासक, सुरक्षा विशेषज्ञ, राष्ट्रिय सुरक्षा जस्ता विषयका ज्ञाता छन् । धरानको शिक्षा सदनबाट शिक्षा सुरु गरेका उनले अमेरिकामा बिजनेस एड्मिनिस्ट्रेसन, फाइनान्स, इन्टेलिजेन्स स्टडी र रणनीतिक सुरक्षा विषयमा अध्ययन गरेका थिए ।
आउँदो जुन १८ मा हुने प्राथमिक निर्वाचनमा पोख्रेलसहित ११ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

को हुन एड्रिन (आशिष) पोखरेल ?

बासुदेव पोख्रेल र धरानी पोख्रेलको कोखबाट धरान १४ विजयपुरमा पोखरेलको जन्म भएको थियो । उनको बाल्यकाल सुनसरीमै बित्यो । उनले धरानकै शिक्षा सदन माविबाट स्कुले शिक्षा लिए भने उच्च शिक्षा काठमाडौको शंकर देव क्याम्पसबाट पाए ।
त्यसपछि उनले अमेरिकाको टेक्सासस्थित सान ज्याकिन्टो कम्युनिटी कलेमा बिजनेस एड्मिनिस्ट्रेसन र ह्युस्टन विश्वविद्यालयबाट फाइनान्स विषयमा स्नातक उत्तीर्ण गरे ।
उनको अध्ययन त्यतीमै रोकिएन । अमेरिकी सैन्य विश्वविद्यालयबाट इन्टेलिजेन्स स्टडीमा मास्टर्स अनि राष्ट्रिय अमेरिकी विश्वविद्यालयबाट रणनीतिक सुरक्षामा पीएचडी–सी गरे । अमेरिकामा सुरुवाती दिनमा ह्युस्टन क्षेत्र वरपर ग्यास स्टेशनमा काम गरेका उनले त्यसपछि कन्टिनेन्टल एयरलाइन्समा विभिन्न पदमा ११ वर्ष काम गरे । त्यसपछि ह्युस्टन प्रहरी विभाग, यातायात सुरक्षा प्रशासन, रेलमार्ग, राष्ट्रिय सुरक्षा एजेन्सी हुँदै उनले केन्द्रीय खुफिया एजेन्सी ९सीआईए० मा ६ वर्ष काम गरे । उनले अमेरिकी सेनामा भर्ती भएर सैनिक हुँदै अधिकारीसम्म भए । सेनाको अधिकारी भएर १२ वर्ष काम गरे । उनले जहाँबाट उनले कप्तान भएर अवकाश पाएका थिए ।